नेपाल बारको चुनाव : दुवै खेमामा धोकाधडीको आशंका

860
  •  
  •  
  •  

sherbahadur-kc-and-bijayakanta mainaliकाठमाडौँ, १९ चैत(ओएनएस) : नेपाल बार एसोसिएसनको शनिबार हुने चुनावमा प्रमुख दुई प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ ।

अध्यक्षमा चार र महासचिवमा छ जना उम्मेदवार भए पनि वामपन्थी र प्रजातान्त्रिक खेमाबीच मुख्यतः प्रतिस्पर्धा हुने देखिएको छ । विजयकान्त मैनाली वामपन्थी प्रगतिशील राष्ट्रवादी समावेशी समूहको नेतृत्व गरिरहेका छन् भने शेरबहादुर केसी प्राजातान्त्रिक एवम् समावेशी समूहको ।

तर, यी दुवै प्यानलमा आन्तरिक धोकाधडीको आशंका नै प्रमुख चिन्ताको विषय बनेको छ । पार्टीनिकटका संगठनमा देखिएका आन्तरिक गुट उपगुटका कारण उनीहरुमा यस्तो आशंका व्याप्त भएको हो । कतिपय संगठनभित्रै आफ्नै खेमाका उम्मेदवारका विरुद्ध असन्तुष्ट समूहले लबिङ गरिरहेका छन् ।

प्रगतिशील प्यानलमा विजयकान्त मैनाली, रमेश बडाल, कृष्णकुमार आङदम्बे र विष्णुमाया भुसाललगायतको भोट काट्ने हल्ला व्यापक छ । कानुन मन्त्री अग्नि खरेलनिकट मानिने यी उम्मेदवारहरुका विरुद्धमा खेरलसँग असन्तुष्ट कानुन व्यवसायी छन् । पछिल्लोपल्ट न्यायाधीश नियुक्तिमा एकलौटी गरेको, एउटै व्यक्तिलाई बारम्बार अवसर दिएको र त्यही कारण नेपाल बारमा प्रगतिशीलको नेतृत्व भए पनि बारको भूमिका इतिहासमै कमजोर भएको भन्दै असन्तुष्ट समूहको तारो बनेका छन्, खरेल र उनीपक्षका मानिने उम्मेदवारहरु । अहिले सबैभन्दा बढी आलोचनाको विषय पनि बार नेतृत्वमा छँदै हरिकृष्ण कार्कीले देखाएको पदलोलुपता र खरेलले देखाएको एकपक्षीयता बनेको छ ।

बिहीबार प्रगतिशील समूहको बानेश्वर ब्यांक्वेटमा आयोजित चुनावी सभामा रमेश बडाल, विष्णुमाया भुसाललगायतको भोट काट्नुहुँदैन भनेर वक्ताहरुले बोलेका थिए । ‘यसको अर्थ भोट काट्ने निश्चित भएपछि नै त्यसरी बोले होलान् भन्ने बुझिन्छ,’ प्रगतिशील खेमाका एक वरिष्ठ कानुन व्यवसायी भन्छन् । त्यसो त यसअघि यही खेमाबाट उठेका महासचिव उम्मेदवार दीनमणि पोखरेललाई भोट नहाल्दाको घाउ पनि पुरिएको छैन । त्यसको प्रतिफल अहिले मैनाली भोग्ने हुन् कि भन्ने आशंका पनि जीवितै छ । एमालेले न्यायाधीश नियुक्तिमा एकलौटी गरी एमाओवादीलाई भाग नदिएको विषय पनि ठूलै असन्तोषको विषय छ ।

प्रजातान्त्रिक समूहमा भने कांग्रेसको हालै सम्पन्न महाधिवेशनमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीचको तिक्तताको प्रभाव देखिने सम्भावना छ । त्यसमाथि यही बीचमा देउवाले न्यायाधीश नियुक्तिको पक्षमा बोलेकाले उपेन्द्रकेशरी न्यौपाने लगायतको समूह असन्तुष्ट छ । अध्यक्षका उम्मेदवार शेरबहादुर केसीप्रति असन्तुष्ट यदुनाथ खनाल र माधव बाँस्कोटा खुलेर असहयोग गर्न लागिपरेको बुझाइ केसीनिकटको छ । तर, उनीहरु क्रस भोट गर्छन् कि मतपत्र खाली छाड्छन् भन्ने एकिन भइसकेको छैन ।

प्रजातान्त्रिक समूहको भेलामा खनाल पक्षका नेताहरुले समुद्र मन्थनबाट अमृत जति एउटा समूहले कुम्ल्याएको, आफूहरु कालकुट विष पिउन बाध्य भएको भन्दै तीतो पोखेका थिए । यस खेमाका महासचिव खम्मबहादुर खाती आफ्नो चुनावी प्रचारमा खटिनुपर्ने बेलामा पार्टीको महाधिवेशनमा निर्वाचन समितिमै रहेर शेरबहादुर देउवालाई जिताउन लागिपरेको आरोप रामचन्द्र पौडेलनिकट कानुन व्यवसायीहरूको छ ।


  •  
  •  
  •