न्यायपरिषद नियुक्तिमा ‘बाबु’हरूको हालीमुहाली

201
  •  
  •  
  •  

nepal bar associationकाठमाडौं १९ चैत (ओएनएस) : “सर्वोच्च अदालतको प्रांगणमा साथीहरुले कुरा गरेको सुनियो, नेपाल बार एसोसिएसनका केन्द्रीय कार्यसमितिका १७ सदस्यले आ–आफ्ना १७ जना नै बाबुलाई न्यायपरिषद सदस्य सिफारिस गनुपर्ने अडान लिइरहेका छन् । सुरुमा त पत्यार लागेन । १७ जनाकै बाबु त के होलान् भनेँ । धेरैतिर बुझेपछि थाहा भयो, साँच्चै रहेछ । बाबु पनि तीन खालका देखिए । कसैका जैविक बाबु छन् । कसैका परमपिता परमेश्वर रहेछन् भने केहीले भने जरुरत परे गधालाई पनि बाबु बनाउनुपर्दो रहेछ भन्दै बोकी हिँडेका छन् ।”

अर्को रोचक पक्ष के छ भने कांग्रेस महासमिति सदस्य बेनीबहादुर कार्कीलाई साथ दिएका छन्, एमाले कोटाबाट बार अध्यक्ष बनेका हरिकृष्ण कार्कीले ।

नेपाल बार एसोसिएसनले आफ्नो कोटाको न्यायपरिषद सदस्य सिफारिस किन गर्न सकिरहेको छैन भन्नेबारे वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले यो टिप्पणी गरेपछि देशभरिबाट जम्मा भएका कानुन व्यवसायीले गडगडाहट ताली बजाए । अन्य वरिष्ठ कानुनविद् एवम् बारकै पूर्वपदाधिकारीहरुले समर्थनमा मुन्टो मात्र हल्लाएनन्, आश्चर्यले जिब्रोसमेत टोके ।

बारका पदाधिकारीहरुले निहुरीमुन्टो लगाए । त्यसअघिसम्म अनौपचारिक चिया गफ र कानेखुसीमा सीमित हल्ला त्यसपछि औपचारिक थलोमै खुलेआम चर्चाको विषय बन्यो । न्यायपरिषद सदस्य सिफारिसको गाँठो कहाँनिर अड्किएको छ भन्नेबारे स्पष्ट भए । जुन प्रसंग थियो, हालै चितवनमा सम्पन्न अखिल नेपाल राष्ट्रिय कानुन व्यवसायी सम्मेलनको ।

अध्यक्ष कार्की आफै सर्वोच्च अदालतमा न्यायाधीश बन्न लालायित व्यक्ति हुन् । खिलराज रेग्मी प्रधानन्यायाधीश छँदा बारबाट न्यायाधीश बन्न सक्ने उम्मेदवारको सूची माग गर्दा हरिकृष्ण कार्कीको नाम पनि परेको थियो ।

बारले न्याय परिषदका सम्भावित २७ जना उम्मेदवारको नाम सूची तयार गरेको छ । तीमध्ये दुईजनाका सन्तान बारको केन्द्रीय कार्यसमिति सदस्य छन् । ती दुई सदस्यले आ–आफ्ना बुवा हुनैपर्ने अडान कसेका छन् । केन्द्रीय सदस्य प्रशन्नकृष्ण दास आफ्नै बुवा पूर्वन्यायाधीश कमलनारायण दासलाई न्यायपरिषद सदस्य सिफारिस गर्न जोड गरिरहेका छन् भने अर्की सदस्य बिनिता कार्की आफ्ना बुवा बेनीबहादुर कार्कीको पक्षमा वकालत गरिरहेकी छन् ।

अर्को रोचक पक्ष के छ भने कांग्रेस महासमिति सदस्य बेनीबहादुर कार्कीलाई साथ दिएका छन्, एमाले कोटाबाट बार अध्यक्ष बनेका हरिकृष्ण कार्कीले । यसलाई राजनीतिक रङ दिन कार्कीले सके बाम पक्षकै व्यक्तिलाई अघि बढाउने, नत्र प्रजातान्त्रिक खेमाकै नरम र आफूअनुकूल व्यक्तिलाई छान्नुपर्ने भन्दै आफ्नो खेमाका वकिलहरुलाई बनाउन खोजिरहेका छन् ।

अध्यक्ष कार्की आफै सर्वोच्च अदालतमा न्यायाधीश बन्न लालायित व्यक्ति हुन् । खिलराज रेग्मी प्रधानन्यायाधीश छँदा बारबाट न्यायाधीश बन्न सक्ने उम्मेदवारको सूची माग गर्दा हरिकृष्ण कार्कीको नाम पनि परेको थियो । तर, न्यायपरिषद सदस्य उपेन्द्रकेशरी न्यौपानेले राजीनामा दिएपछि अध्यक्ष कार्की आफूअनुकूल न्यायपरिषद सदस्य नियुक्त गर्ने र तिनै सदस्यको सिफारिसमा सर्वोच्च जाने तयारीमा लागेको भन्दै बार पदाधिकारी बैठकमा आलोचना भएको छ ।

एमालेनिकट वकिलहरुले कांग्रेसका महासमिति सदस्य रहेको, अदालतमा खासै नदेखिने बरु कांग्रेसका भेला र बैठकहरुमा मात्र देखिने, वरिष्ठ अधिवक्ताको उपाधि पनि नपाएका बेनीबहादुर कार्कीको पक्षमा हरिकृष्ण कार्कीले मरिहत्ते गरेको भन्दै आलोचना गरिरहेका छन् ।

वरिष्ठ अधिवक्ता खरेलले कानुन व्यवसायी सम्मेलनमा अध्यक्ष कार्कीतर्फ लक्षित गर्दै चेतावनीका साथ भनेका थिए, “तपार्इँ न्यायाधीश बनेर त जानुहोला तर जानुभयो भने हामी पनि त्यसै छाड्नै छैनौँ ।”

तर, अध्यक्ष कार्कीले भने आफुले कुनै अमुक व्यक्तिका पक्षमा लविङ नगरेको दावी गरे । ओएनएससँग उनले २७ नामबाट नामबाट छलफल भइरहेको र आफुले योजनागत हिसावले कसैको नाम नलिएको बताए । गएको माघ ५ गते बसेको बारको सल्लाहकार समिति बैठकले पूर्वन्यायाधीशलाई सिफारिस गर्न नहुने, पेसामा निरन्तर रहेको हुनुपर्ने र वरिष्ठतामा पनि अगाडि रहेको व्यक्तिलाई न्यायपपरिषदमा पठाउनुपर्ने सुझाव दिएको थियो ।

उपेन्द्रकेशरी न्यौपानेले न्यायपरिषदमा गएपछि सर्वोच्चको न्यायाधीश ताकेकोमा चर्को आलोचना भएकाले अब त्यस्तो व्यक्ति कदापि पठाउन नहुने बारका पूर्वपदाधिकारीहरुको सुझाव थियो । तर, अध्यक्ष कार्कीले आफूलाई सर्वोच्चमा पठाउने व्यक्ति नपाएसम्म सिफारिसमा ढिलाइ गर्दा न्यायपरिषद अपूर्ण मात्र भएको छैन, सर्वोच्च अदालत समेत न्यायाधीश अभाव झेलिरहेका छन् । त्यसको मार भने न्यायको खोजीमा वर्षौँदेखि अदालत धाइरहेका सर्वसाधारणमा परेको छ ।


  •  
  •  
  •