जहाज दोहा नउड्दा….

214
  •  
  •  
  •  

काठमाडौं १८ बैशाख ।
नेपाल वायुसेवा निगमको जहाज चढेर दोहा उड्न विहीबार साझ ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका यात्रुहरुले ६ घन्टाको पर्खाईपछि अर्को दिनको विहान २ बजे फर्केर राजधानीकै होटल बास बस्नुपर्ला भनेर सायदै कल्पना गरेका थिएनन् । तर, निगमको इन्जिनियरिङ्ग व्यवस्थापकीय लापरबाहीका कारण उक्त उडानमा रहेका १ सय ९० यात्रुले यस्तै सास्ती भोग्नुपर्‍यो । जो शुक्रबार साझसम्म पनि काठमाडौंमै थिए ।

निगमको दोहा उड्न तयार रहेको 9N-ACB रजिस्ट्रेसन भएको जाहाजको मौसम रडार प्रणालीमा देखिएको सामान्य खराबी बेलैमा मर्मत नहुदा नेपालीसहितका यात्रुहरुले रातभर दु:ख झेल्नुपर्‍यो । गण्डकी नाम दिइएको उक्त विमानको दोहा उड्ने तालिका ११ बजेर २० मिनेटमा थियो । तर, २ बजेसम्म पनि उड्न नसकेपछि यात्रुहरुलाई होटलमा राखियो । राति केहीलाई न्यूरोड त केहीलाई गौशालाका मध्यमस्तरीय होटलमा सुताइयो ।

‘राति १२ बजे वन्द हुने विमानस्थललाई लिखित अनुरोध गरेर २ बजेसम्म खुलाइए पनि कामै लागेन,’ निगम स्रोतले कान्तिपुरलाई भन्यो । स्रोतका अनुसार, दोहाका लागि उड्ने उक्त विमानमा जब क्याप्टेन आरजेबी राणाको टिम ककपिटमा पुग्यो । उनीहरुले राडारमा समस्या रहेको थाहा पाए । आफूअघि उक्त जहाजलाई भारतको बैंलोर पुर्‍याएर ल्याएका क्याप्टेनले रडारमा खराबी देखीएको रिपोर्ट लगबुकमा लेखेको देखेर क्याप्टेन राणाको टिमले जहाज मर्मत गर्न निगमको इन्जिनियरिङ्गलाई भनेको थियो ।

‘रातिको मौसम देखाउने भनेकै जहाजभित्रको वेदर–रडार हो तर त्यस्ले कामै नगर्ने भएपछि जहाज उडाउनै सकिँदैन,’ एक पाइलटले भने । ती पाइलटका अनुसार, उक्त जहाजलाई दोहाका लागि उडाउनुअघि क्याप्टेन सुधीर राईले भारतको बैंलोर पुर्‍याइए ल्याएका थिए । फर्किदा रडारमा समस्या देखीएपछि क्याप्टेन राईले लगबुकमा लेखि छाडेका थिए ।

बेलुकीमात्रै रडार मर्मतमा लागेको इन्जिनियरीङ्ग विभागले विमानलाई ११ बजेभित्र मर्मत गरी उडानका लागि रिलिज गर्ने जानकारी आफ्नो फलाइट अपरेशन विभागलाई गराइसकेका थिए । त्यसै अनुसार, दोहा उड्ने यात्रुलाई चेकजाँच गराइ तयार अवस्थामा राखिएको थियो । तर, इन्जिनियरहरुले ११ बजे होइन शुक्रबार विहानसम्म पनि उक्त विमानलाई उडानका लागि योग्य बनाउन सकेका थिएनन् ।

क्याप्टेन आरजेबी राणा उक्त विमान लगेर दोहा जाँदै थिए भने सोही विमानलाई शुक्रबार बिहानै अर्का क्याप्टेन रविन्द्र शेरचनले दोहाबाट काठमाडौं ल्याउदै थिए । काठमाडौंबाट दोहा उड्न नसकेपछि उक्त विमान चढेर दोहाबाट काठमाडौं आउने यात्रु पनि उतै रोकिन बाध्य भएका थिए । निगमसगँ अर्को विमान खाली भएको भए विहीबार रातीको उडान प्रभावित हुने थिएन । तर, निगमको अर्को बोइङ्ग नाइनएन–एसीए पनि तीन दिनदेखी ग्राउन्डेड रहेकाले दुबैतीरका यात्रुहरुले सास्ती भोग्नु पर्‍यो ।

इन्जिनियरिङ्ग विभागका एक इन्जिनियरका अनुसार, कर्णाली नाम दिइएको उक्त वमानको इन्जिनमा समस्या देखीएपछि निगरानीमा राखिएको छ । उक्त विमान कहिले बन्नेबारे एकिन नहुँदा निगमका नियमित अन्तर्राष्ट्रिय उडान सेक्टरको तालिका प्रभावित हुन थालेको छ । निगमका यी दुबै विमानमध्ये कर्णाली नामको बोइङ्ग साढे २८ वर्षदेखि र गण्डकी नाम दिइएको अर्को बोइङ्ग साढे २७ वर्षदेखी उडान भरिरहेका छन् । बोइङ्गबाहेक हालै थपिएका दुईटा एयरबस पनि वरिष्ठ पाइलटको अभावले दैनिक कम्तीमा १० घन्टा पनि उड्न सकिरहेका छैनन् । जहाज अभावकै कारण शुक्रबार निगमले मलेसिया र मुम्बईको उडान स्थगित गर्नुपर्‍यो ।

निगमसँग हाल दुईटा एयरबस उडाउन ७ जना चालक छन भने दुइटा बोइङ्गका लागि ६० जना हाराहारी पाइलट छन् । कान्तिपुरबाट


  •  
  •  
  •