नेपालले अमेरिकालाई ५ विकेटले हरायो

70
  •  
  •  
  •  


काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको छ । नेपालका लागि कुशल भुर्तेल र रोहित पौडेलले कीर्तिमानी ब्याटिङ गरेका थिए ।

अमेरिकाले दिएको २३१ रनको लक्ष्य नेपालले ४९.३ ओभरमा भेट्टाएको छ। नेपालका लागि कुशल भुर्तेल र रोहित पौडेलले अर्धशतक पूरा गरे। कुशलले ८४ र रोहितले नटआउट ६२ रन बनाए।

कुशल भुर्तेल एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा ओपनिङमा आएर सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्। उनले ९३ बल खेल्दा तीन चौका र तीन छक्का प्रहार गरे।

त्यस्तै रोहित पौडेल ओडीआईमा नेपालका तर्फबाट तीन वटा अर्धशतक बनाउने पहिलो ब्याट्स्म्यान बने। अहिलेसम्म नेपालका नौ जना ब्याट्स्म्यानले अर्धशतक बनाएका छन्। उनीबाहेक कप्तान ज्ञानेन्द्र मल्ल मात्र एकभन्दा बढी अर्धशतक बनाउने खेलाडी हुन्। आज रोहितले ८७ बलमा ३ छक्का र २ चौका प्रहार गरे।

नेपालका लागि कुशल र रोहितबाहेक विनोद भण्डारीले ३७, आसिफ सेखले २३ र ज्ञानेन्द्र मल्लले १७ रन बनाए। त्यसैगरी कुशल मल्ल १ रनमा बाहिरिए भने करण केसीले नटआउट १ रन बनाए। नेपालका ब्याट्स्म्यानले आठ छक्का र १० चौका हानेका थिए।

सात राष्ट्र समावेश आईसीसी क्रिकेट विश्वकप लिग २ मा आजको जितपछि नेपाल पाँच खेलबाट ६ अंकसहित छैटौँ स्थानमा यथावत् छ।  नेपालले आज अंक तालिकाको शीर्ष स्थानमा रहेको ओमानसँग प्रतिश्पर्धा गर्नेछ।


  •  
  •  
  •