
काठमाडौं । आयरल्यान्ड वल्भ्ससँग नेपाल ए २१ रनले पराजित भएको छ । एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ कमजोर ब्याटिङका कारण पराजित भएको हो ।
वल्भ्सले प्रस्तुत गरेको १ सय ५८ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा नेपाल १ सय ३६ रनमा अलआउट भयो।
नेपालको मध्यक्रमका ब्याटरले सम्हालिन नसक्दा नेपाल ‘ए’ले हारको सामना गर्न पुगेको हो। सुरुवात राम्रै गरे पनि मध्यक्रमका कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गरेनन् ।
नेपालले छैटौं ओभरमा ओपनर देव खनाललाई २६ रनमा गुमाउँदा स्कोर ३५–१ को स्थितिमा थियो। उनले २२ बलमा ४ चौकासहित २६ रन जोडे। तर त्यसपछि लगातार विकेट पतन हुँदा नेपाल ‘ए’ ५६–६ को खराव स्थितिमा पुगेको थियो।
अर्जुन कुमालले ९ रन जोड्दा भीम सार्की गोल्डेन डक आउट भए। आरिफ शेख शून्य, अर्जुन साउद ४ र विनोद भण्डारी ९ रनमा आउट भए। कमल सिंह ऐरी ६ रन जोड्दै आउट हुँदा नेपाल ७८–७ को स्थितिमा पुगेको थियो।
बसिर अहमद २१ बलमा २० रन जोडेर पेभेलियन फर्किए। साहब आलमले त्यसपछि रन गतिलाई अघि बढाउँदै आशा देखाएका थिए।
तर उनी २५ औं ओभरमा लामो सर्ट खेल्ने धुनमा क्याच आउट भए। ३४ बलमा ४ चौका र १ छक्का प्रहार गरेका उनी ३७ रन जोड्दै आउट भए।