कांग्रेसले सप्तरीका १६ स्थानीय तहको उम्मेदवार टुंग्यायो, कसले–कहाँ पाए टिकट ?

171
  •  
  •  
  •  

congress

राजविराज, २० भदौ (ओएनएस) : नेपाली काँग्रेसले सप्तरीका १६ स्थानीय तहका उम्मेदवारको टुंगो लगाएको छ ।

प्रदेश नम्बर २ मा अगामी असोज २ गते हुने तेस्रो चरणको निर्वाचन अन्तर्गत कांग्रेसले सप्तरीमा १८ वटा स्थानीय तहमध्ये १६ वटामा उम्मेदवारको नाम टुंगो लगाएको हो।

नेपाली काँग्रेसले राजविराज नगरपालिकाको प्रमुखमा ध्रुवकुमार देव र उपप्रमुखमा सुशीलाकुमारी यादवको नाम उम्मेदवारमा छनोट गरेको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका प्रमुखमा सरोज बिराजी, उपप्रमुखमा राजेश्वरीदेवी यादव, सप्तकोशी नगरपालिकाको प्रमुखमा कृष्णप्रसाद ढकाल र उपप्रमुखमा रीताकुमारी चौधरी, डाँक्नेश्वरी नगरपालिकाको प्रमुखमा नारायण यादवको छ भने उपप्रमुखमा अझै नाम टुंगो लगाउन बाँकी छ ।

त्यस्तै, सुरुङ्गा नगरपालिकामा प्रमुखको नाम टुंगो नलागे पनि उपप्रमुखमा सुष्मा चौधरीको उम्मेदवारीको टुंगो लागेको छ । बोदेबर्साइन नगरपालिकाको प्रमुखमा कर्मैत यादव र उपप्रमुखमा उर्मिलादेवी साह, कञ्चनरुप नगरपालिकामा प्रमुखबाहेक उपप्रमुखमा निरु पोखरेललाई अघि सारेको छ । खड्ग नगरपालिका र शम्भुनाथ नगरपालिका दुईवटा स्थानीय तहमा हालसम्म कुनै उम्मेदवारको नाम टुंगो लागेको छैन ।

यसैगरी, अग्निमाई कृष्णसवरण गाउँपालिकाको प्रमुखमा परशुराम चौधरी, उपप्रमुखमा मीना चौधरी, महदेवा गाउँपालिकाको प्रमुखमा गजेन्द्र मण्डल, उपप्रमुखमा संगीताकुमारी यादव, तिरहुत गाउँपालिकाको प्रमुखमा देवनारायण गोइत, उपप्रमुखमा गीतादेवी यादव, विष्णुपुर गाउँपालिकाको प्रमुखमा निलाम्बर यादव, उपप्रमुखमा जनजिराकुमारी यादव, बेल्ही चपेना गाउँपालिकाको प्रमुखमा परमानन्द यादव, उपप्रमुखमा पुष्पमालाकुमारी मण्डललाई चयन गरेको छ ।

यसैगरी, छिन्नमस्ता गाउँपालिकाको प्रमुखमा कुलानन्द यादव, उपप्रमुखमा सहिदा खातुन, रुपनी गाउँपालिकाको प्रमुखमा रामनारायण इसर, उपप्रमुखमा भोलेश्वरी चौधरी, तिलाठी कोइलाडी गाउँपालिकाको प्रमुखमा अरुणकुमार मण्डल, उपप्रमुखमा अरहुलदेवी मण्डल, बलान बिहुल गाउँपालिकाको प्रमुखमा जितेन्द्रकुमार यादव र उपप्रमुखमा अनितादेवी साहको नाम सार्वजनिक गरेको काँग्रेसले जनाएको छ ।

यससंगै सप्तरीमा नेकपा एमाले, संघीय समाजवादी फोरम नेपाल र नेपाली काँग्रेस गरी तीनवटा दलले उम्मेदवारको नाम टुंगो लगाएका छन् । राजपा, लोकतान्त्रिक फोरम, माओबादी केन्द्रले उम्मेदवारको टुंगो लगाउन अझै बाँकी छ ।


  •  
  •  
  •