प्रमुख दलले चाहे माघ ८ मै संविधान :  सभाध्यक्ष नेम्वाङ

192
  •  
  •  
  •  

काठमाडौँ, ११ पुस (ओएनएस) :  संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले प्रमुख राजनीतिक दलले चाहेको खण्डमा तोकिएको मितिमै संविधान आउने बताएका छन् । नेम्वाङले दलहरुले विवादित विषयमा केहि लचिलो हुने हो भने आगामी माघ ८ गते द्रुतमार्गबाटै संविधान जारी गर्न सकिने बताएका हुन् ।

संविधानका विवादित विषयमा सहमति कायम गर्न दलहरुले नसकेको भन्दा पनि नचाहेको जस्तो देखिएको आफूले पाएको उनको भनाईछ ।

लोकतन्त्र र शान्तिका लागि पेसागत सञ्जाल (पापड)ले शुक्रबार बुझाएको आठबुँदे ज्ञापनपत्र बुझ्दै उहाँले विवादित विषयमा दुई घन्टामा सहमति गर्न सकिन्छ भनेर विश्वास दिलाएका राजनीतिक दलले किन सहमति जुटाउन नसकेका हुन् र केले रोकेको हो आफूले समेत थाहा पाउन नसकेको स्पष्ट पारे ।

सभाध्यक्ष नेम्वाङले भने “जनताका सामु गरेको प्रतिबद्धता र मुलुकको आवश्यकतालाई ख्याल गरेर विवादित विषयमा तत्काल सहमति जुटाउनु आवश्यक छ । अब पनि ढिला गर्ने समय दलहरुलाई छैन । तत्काल सहमति आवश्यक छ ।”

दलहरुले दुई घन्टामा सहमति गर्छौं भनेको लामो समय भइसक्यो, तर सो दुई घन्टा कहिले आउँछ भनेर जनताले व्यग्र प्रतीक्षा गरिरहेको उल्लेख गर्दै उनले कुन आधारमा कसरी सहमति गर्ने हो सोको जानकारी दिनसमेत आग्रह गरे ।

पापडका संयोजक अञ्जनीकुमार झाले आगामी माघ ८ गते संविधान जारी गर्ने वातावरण बनाउन माग गर्दै आठबुँदे ज्ञापनपत्र बुझाएका थिए ।

शान्ति र संविधानका लागि दबाब दिने उद्देश्यले पापडले विभिन्न राजनीतिक दलका अध्यक्षलाई चरणबद्ध रुपमा ध्यानाकर्षण गराउँदै आएका छन् ।


  •  
  •  
  •