सभामुख नेम्बाङसँग बेलायती संसद्का प्रतिनिधिको भेट

84
  •  
  •  
  •  

काठमाडौँ, ३० भदौ (ओएनएस) : सभामुख सुवासचन्द्र नेम्बाङसँग सोमबार उनको सिंहदरबारस्थित कार्यकक्षमा बेलायती संसद्का प्रतिनिधिहरुले शिष्टाचार भेट गरेका छन् । दुई देशका संसद्बीच सुमधुर सम्बन्ध विस्तारका सिलसिलामा भएको सो भेटमा नेपाल–बेलायतबीचको मैत्रीपूर्ण सम्बन्ध विस्तार भएको दुई सय वर्ष पूरा हुन लागेको अवसरमा विभिन्न कार्यक्रम मनाउने बारेमा छलफल भएको बेलायती संसद् जोन स्टन्लेले सञ्चारकर्मीलाई बताए ।

सो भेटमा बेलायती संसद् टोलीले संविधानसभाको दोस्रो निर्वाचनपछि अघि बढेको संविधान निर्माण प्रक्रियाका बारेमा समेत चासो राख्दै संविधान निर्माणमा सक्दो सहयोग गर्ने बताएको थियो ।

बेलायती संसद् प्रतिनिधिको चासोलाई सम्बोधन गर्दै सभामुख नेम्बाङले निर्धारित समयमै संविधान निर्माणका लागि सबै दलहरु जिम्मेवारीपूर्वक पहल गरिरहेकाले संविधान निर्माण कार्य सकारात्मक रुपमा अघि बढेको जानकारी गराएका थिए ।

भेटमा बेलायती संसद् प्रतिनिधिमण्डलमा संसद्हरु जोन स्टन्ले, ज्याकी डोयले, फवियन हमिल्टन, केरी म्याक कर्थी तथा नेपालका लागि बेलायती राजदूत एण्ड्र्यु जेम्स स्पाक्र्स रहेका थिए ।


  •  
  •  
  •