दाहालको समिति सक्रिय गराउन नेम्वाङको प्रस्ताव

93
  •  
  •  
  •  

subash nembang ca chief_काठमाडौं २१ माघ । विधानसभा अध्यक्ष सुवास नेम्वाङले राजनीतिक संवादहिनता तोड्न राजनीतिक समितिको बैठक बोलाउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन् । दाहाल नेतृत्वको समितिमा प्रमुख दलका शीर्ष नेताहरु सदस्य छन् ।

संविधानसभाको दोस्रो निर्वाचनपछि उक्त समिति गठन गराउन एमाओवादीले लामो समय संसद अवरुद्ध गरेको थियो । उक्त समितिको क्षेत्राधिकार भित्र राजनीतिक दलहरुबीचको सम्बन्ध सुदृढ गर्ने विषय रहेकाले गतिरोध अन्त्यका लागि दाहालले अग्रसरता लिनुपर्ने नेम्वाङको भनाइ छ ।

प्रस्ताव समितिमार्फत अघि बढेको प्रक्रिया र बिहीबारका लागि डाकिएको संविधानसभा बैठकबारे जानकारी लिन आफ्नो कार्यकक्षमा आएका एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलमार्फत् नेम्वाङले दाहाललाई उक्त सन्देश पठाएका हुन् । प्रतिपक्षी मोर्चाको अवरोधका बीच संविधानसभाको बहुमतबाट प्रस्ताव समिति पारित भएको घोषणा गर्ने नेम्वाङको कदमपछि एमाओवादी शीर्ष नेताहरू सभाध्यक्षको कार्यकक्षमा गएका छैनन् । संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिका अध्यक्षसमेत रहेका एमाओवादी नेता बाबुराम भट्टराई मंगलबार आफ्नो कार्यकक्षमा पुगे पनि छेउमै रहेको समाध्यक्षको च्याम्बरमा गएनन् ।

अवरुद्घ संसद खुलाउने क्रममा दलहरुले शान्ति प्रक्रियाका काम टुंग्याउने र दलहरुबीचको वातावरण सुमधुर बनाउनका लागि सहजीकरण गर्न भन्दै दाहालको नेतृत्वमा राजनीतिक समिति बनाएका थिए । चक्रीय प्रणालीमा दुई महिनाका लागि संयोजक चयन भएका दाहालले डाकेको बैठकमा कांग्रेस-एमालेका शीर्ष नेताहरु सहभागि नभएपछि उक्त समिति निष्त्रिmय छ । दाहालले उक्त समितिको क्षेत्राधिकारमा संविधानका अन्तरबस्तुसम्बन्धी विवाद समाधानको क्ष्ाेत्राधिकार समेट्न खोजे पनि कांग्रेस-एमालेले अस्वीकार गरेका थिए । संविधानका विवादित बिषयमा छलफल गर्ने अधिकार नभए पनि दलहरुबीच भेटघाट र स्थितिलाई अनुकूल बनाउन उपयुक्त थलो हुन सक्ने नेम्वाङको सुझाव छ ।

एमाले प्रमुख सचेतक अग्नि खरेलले भने प्रधानमन्त्रीले सुरु गरेको वार्ता प्रक्रियाबाटै संविधान निर्माणमा सहमति गर्नुपर्ने बताए । ‘काग्रेस एमालेसहितका दलहरुको आग्रहमा प्रधानमन्त्रीले आफै ढोका ढक्ढक्याउदै प्रचण्डजीलाई छलफल गरौ भनिसक्नुभएको छ’ खरेलले भने,’दुई महिनाका लागि तोकिएको उहाँको कार्यकाल सकिइसकेको छ, त्यसैले प्रधानमन्त्रीले थालेको संवादलाई निष्कर्षमा पुर्‍याउनुपर्छ ।’

एमाओवादी प्रमुख सचेतक पोखरेलले गतिरोध तोड्न पहल गर्ने प्रमुख चार नेतामा दाहालसमेत रहेको बताए । प्रधानमन्त्री कोइरालाले देखाउनका लागि मात्र वार्ताको पहल गरेको, एमाले अध्यक्ष केपी ओलीका अभिब्यक्तिले वातावरण विगार्नेमात्र काम गरेको उनको विश्लेषण छ । ‘संवादका लागि राजनीतिक समिति पनि एउटा विकल्प हो,’ उनले भने- ‘जबरजस्ती बहुमतिय प्रक्रिया अघि बढाएर भएको गल्ति सच्याएर संविधानसभा अध्यक्षले पनि संवादको पहल गर्न सक्नुहुन्छ ।’ नयाँ संविधानका अन्तरबस्तुमाथि माघ ५ सम्म भएको छलफल सहमतिको नजिक रहेकाले त्यसैलाई निरन्तरता दिनुपर्ने प्रस्ताव नेम्वाङसंग राखेको उनले बताए ।
कान्तिपुरबाट


  •  
  •  
  •