
कठमाडौं ३० पुस (ओएनएस) : संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान जारी गर्ने प्रक्रियाका लागि परामर्श सुरु गरेका छन् । दलका नेताहरुसँग छलफलमा रहेका नेम्वाङले कानुनविद्देखि राष्ट्रपतिसम्म परामर्श सुरु गरेका छन् । बिहान राष्ट्रपति डा रामबरण यादवसँग भेटी संविधान निर्माण प्रक्रिया र दलहरुबीचको विवादका विषयमा छलफल भएको छ ।
माघ ८ गते संविधान ल्याउन असम्भव भएको निस्कर्ष सहित अगाडी बढ्ने बाटोबारे सुझाव मागेका छन् । राष्ट्रपति यादवलाई एकपटक दलहरुलाई मिलाउने पहल लिन पनि नेम्वाङले सुझाएका छन ।
नेम्वाङले माघ १ गतेदेखि नै संविधानसभाको बैठकबाट प्रक्रिया अघि बढाउने तयारी गरेका छन् । पछिल्लो समय नेम्वाङ आफैं पनि प्रक्रियामा लगेर निर्धारित समयसीमाभित्र संविधानको मस्यौदा जारी गराउने पक्षमा उभिएका छन । अघिल्लो संविधानसभामा शीर्षनेताहरूको बाटो हेर्दै कुनै निर्णय गर्न नसकेको आरोप उनीमाथि छ ।
नेम्वाङ विरोध र विवाद झेलेर पनि भोलि प्रश्नावली समिति बनाउने प्रस्ताव संविधानसभामा पेस गर्ने तयारीमा छन । ‘संविधान जारी गर्नका लागि एक पटक जोखिम मोल्न तयार छु’ नेम्वाङको भनाई उदृत गर्दै संविधानसभा सचिवालयका एक अधिकारीले भने ‘त्यसै अनुसार तयारी गर्नुहोला ।’
एकीकृत माओवादीले अवरोध नगरे प्रश्नावली समिति बनाएर विवादित विषयमा प्रश्न तयार पार्ने जिम्मा दिइनेछ । तर विपक्षी मोर्चाले प्रक्रियामा जाने तयारी गर्ने संविधानसभा बैठक नै अवरुद्ध गर्ने तयारी गरेको छ ।