संविधानसभा बैठकको एजेण्डा तय गर्न सभाध्यक्ष छलफलमा

126
  •  
  •  
  •  

काठमाडौं, २५ चैत (ओएनएस) :   सभाध्यक्ष सुवास नेम्बाङले आगामी ३० गते बोलाइएको संविधानसभाको बैठकको एजेण्डा तय गर्न छलफल थालेका छन् ।  नेम्बाङले बुधबार प्रमुख दलका प्रमुख सचेतकहरुसँग छलफल गरेको छन् ।

सिंहदरबारमा भएको छलफलमा नेपाली कांग्रेस, एमाले, एमाओवादी, फोरम नेपाल, फोरम लोकतान्त्रिक, राप्रपा नेपाल र राप्रपाका सचेतकहरु उपस्थित थियो ।

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि सहमतिको प्रयास कसरी गर्ने र आगमी संविधानसभा बैठकको एजेण्डा के हुने भन्ने विषयमा छलफल केन्द्रित फोरम लोकतान्त्रिकका प्रमुख सचेतक रामजनम चौधरीले जनाकारी दिए । ‘आन्दोलन फिर्ता भएको अवस्थामा संविधानको विवादित विषयमा कसरी सहमति गर्न सकिन्छ भन्ने विषयमा सभामुखसँग छलफल भएको हो ’ चौधरीले भने ।

चौधरीका अनुसार सभाध्यक्षले ३० गतेको बैठकको एजेण्डा अझै तय नगरेको जानकारी दिएका थिए । दलहरुले ३० गतेअघि वार्ता गरेर सहमति निकाले संविधानसभाको एजेण्डा तय गर्न सजिलो हुने सभाध्यक्षले बताएका थिए ।

बैठकमा कांग्रेस एमालेका सचेतकहरुले पनि सकारात्मक कुरा गरेको चौधरीले बताए । सबै विषयको विवाद मिलेपनि संघीयतामा कांग्रेस एमाले लचिलो भए ३० गते अघि नै सहमति हुने चौधरीले बताए ।

उनले भने, ‘अन्य विषयमा विवाद मिलिसकेको छ, संघीयतामा कांग्रेस एमालेले चाहेमा सहमति हुन्छ, तर त्यसको लागि प्रधानमन्त्रीले ठोस प्रस्ताव ल्याउनपर्याे ।’

यसअघि एमाओवादी महासचिव कृष्णबहादुर महारा नेतृत्वको टोलीले बुधबार विहान प्रधानमन्त्री सुशील कोइरालासँग छलफल गरेको थिए । सो क्रममा प्रधानमन्त्रीलाई नेतृत्व लिएर वार्ता थाल्न महाराले आग्रह समेत गरेका थिए ।


  •  
  •  
  •