सहमतिका लागि सभाध्यक्षले दिए थप चार दिन

165
  •  
  •  
  •  

Subash-Nemwang1काठमाडौं, ११ चैत (ओएनएस) : संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले प्रमुख दलहरुलाई सहमति गर्न थप चार दिन समय दिएका छन् ।

यसअघि दिएको समय बुधबार सकिनै लाग्दा प्रमुख दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभाध्यक्षले सहमतिको लागि फेरि समय दिएका हुन् ।

बुधबार सिंहदरबारमा भएको आठ दलका प्रमुख सचेतकहरुसँगको छलफलपछि नेम्बाङले दलहरुलाई सहमतिको लागि समय दिएको एमाओवादीका प्रमुख सचेतक गिरिराजमणी पोखरेलले जानकारी दिए ।

‘सभाध्यक्ष दलहरु सहमतिमै अघि बढुन् भन्ने चहानुहुन्छ, उहाँले आगामी १५ गते ५ बजेसम्मको लागि सहमति गर्न समय दिनुभएको छ । ’ पोखरेलले भने, ‘अध्यक्ष प्रचण्ड चीनबाट फर्किएपछि छलफल गर्दै सहमति गर्न सभाध्यक्षले समय दिनुभएको हो । ’

छलफलमा कांग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, तमलोपा, राप्रपा र मधेसी जनअधिकार फोमरका प्रमुख सचेतकलाई सभामुख नेम्बाङले बैठकमा डाकेका थिए । नेम्बाङले प्रमुख सचेतकहरुसँगको छलफलपछि बनाएको धारणाबारे राष्ट्रपति यादवलाई ब्रिफ गरिसकेपछि मिति तोक्ने विषयका लागि दलीय छलफल गर्न लागेको स्रोतले बताएको छ ।

गत माघ पाँच गते संविधानका विवादीत विषयमा प्रश्नावली बनाउन प्रस्ताव समिति गठन गर्ने विषयको विवादका कारण प्रभावित हुन थालेको बैठक माघ ११ पछि लगातार १८ दिन स्थगित भएको थियो । माघ २९ मा बैठक बसेर प्रश्नावली प्रस्ताव समितिको प्रतिवेदन बुझेर स्थगित भएको संविधानसभाको बैठक एक महिना १२ दिन बितिसक्दा समेत अझै अनिश्चित छ ।


  •  
  •  
  •