सभाध्यक्षले बुधबार शीर्ष नेताहरुसँग छलफल गर्ने

146
  •  
  •  
  •  

subas-chandra-nembangकाठमाडौं, ३ चैत (ओएनएस) : संविधानासभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभाको बैठक बोलाउनको लागि प्रमुख दलका शीर्ष नेतहरुसँग छलफल गर्ने भएका छन् ।

मंगलबार प्रमुख दलका प्रमुख सचेतकसँगको छलफलपछि नेम्वाङले शीर्ष नेताहरुसँग छलफल गर्न लागेका हुन् । संविधानसभाको बैठक विगत एक महिनासम्म बस्न नसकेपछि नेम्वाङले शीर्ष नेताहरुसँग वार्ता गर्न लागेका हुन् ।

सत्तापक्ष नेपाली कांग्रेस र नेकपा एमाले संविधानसभाको जारी प्रक्रिया अघि बढाउनु पर्ने तथा एमाओवादी नेतृत्वको विपक्षी मोर्चा सहमति गरेर मात्र प्रक्रिया अघि बढाउने पर्ने अडानमा रहेपछि संविधान निर्माण प्रक्रिया अवरुद्ध छ ।

संविधानको मुख्य विवादित विषय संघीयता, शासकीय स्वरुप, न्याय प्रणाली लगायतको विषयमा दलहरुबीच विवाद बढ्दा संविधान निर्माण प्रक्रिया रोकिएको हो ।

यता सभाध्यक्षसँगको भेटपछि एमाओवादीका प्रमुख सचेतक गिरिराजमणी पोखरेलले संविधानसभाको जारी प्रक्रिया नरोकेसम्म संविधानसभाको बैठकमा उपस्थित नहुने बताएका छन् । प्रश्नावली समिति गठनपछि एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले संविधानसभाको बैठक बहिष्कार गर्दै आएका छन् ।

यता एमाले प्रमुख सचेतक अग्नी खरेलले विपक्षीले संविधानसभालाई बन्धक बनाउन नमिल्ने बताउँदै विपक्षी नआएपछि प्रक्रिया अघि बढाउनु पर्ने बताए ।


  •  
  •  
  •