राष्ट्रपति पौडेलले नेम्वाङको परिवारलाई पठाए समवेदना सन्देश

71
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभाका अध्यक्ष, सुवास नेम्वाङको निधनले मुलुकले लोकतान्त्रिक गणतन्त्रलाई हृदयदेखि नै आत्मसात गरेको एउटा असल नेता गुमाएको बताएका छन्।

आइतबार राष्ट्रपति पौडेलले नेम्वाङका परिवारजनलाई समवेदना सन्देश पठाउँदै नेपालको राजनीतिक र कानुनी क्षेत्रमा उत्तिकै दख्खल राख्नुहुने नेम्वाङ खासगरी राष्ट्रिय राजनीतिका सङ्कटपूर्ण घडीहरूमा समन्वयकारी भूमिका निर्वाह गर्न हरदम् तयार हुने नेता भएको उल्लेख गरेका छन्।

समवेदना सन्देशमा लेखिएको छ, ‘जुनसुकै पद र भूमिकामा रहँदा पनि समन्वयकारी, स्वच्छ र इमानदार छविका नेम्वाङले खासगरी सभामुख र संविधानसभाको अध्यक्षका रुपमा नेपाली जनताले लामो समयदेखि प्रतिक्षा गरेको संविधानसभाबाटै संविधान बनाउने र नेपालको संविधान जारी गर्ने बेलामा निर्वाह गर्नुभएको भूमिका नेपाल र नेपाली जनताले कहिल्यै विर्सने छैनन्, नेपाली राजनीतिका कैयन उतारचढावका क्षणमा मैले नेम्वाङलाई शालीन र समन्वयकारी नेताकारुपमा मात्र होइन अन्य नेताहरूलाई सही र सत्मार्गमा डोर्‍याउन सक्ने एउटा असल नेताको छविको रुपमा पाएको थिएँ।’

राष्ट्रपति पौडेलले लोकतन्त्र स्थापनाका संघर्षहरू, संविधान निर्माण र संसदीय क्षेत्रमा सँगसँगै काम गर्ने सन्दर्भमा नेम्वाङसंग भएका सहकार्यहरू आफ्नो स्मृतिमा ताजै रहने बताएका छन्।

नेम्वाङको आत्माको चीरशान्तिको कामनासहित हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै राष्ट्रपति पौडेलले शोक सन्तप्त परिवारजन, गणतन्त्र पक्षधर, नेकपा एमाले पार्टी र शुभेच्छुकहरूमासमवेदना प्रकट गरेका छन्।


  •  
  •  
  •