भक्तपुर, १२ चैत(ओएनएस) : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले ओली सरकारको विकल्प खोज्ने बेला आएको बताएका छन् ।
भक्तपुरमा रफत सञ्चार क्लबले गरेको साक्षात्कारमा नेता पौडेलले वर्तमान सरकार असफल भएको भन्दै सरकार परिवर्तन गर्नुपर्ने समय आएको बताएका हुन् । उनले नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भएको आगामी सरकारको नेतृत्व पनि कांग्रेसले नै लिने धारणा व्यक्त गरेका छन् ।
उनले राजनीतिक दलहरूले नेपालीको हितका लागि काम गर्न नसकेको भन्दै दलहरूको यस्तै कार्यले गर्दा छिमेकीले समेत आफ्नो अनुकुल प्रयोग गराइरहेको बताएका छन् । विदेश नीतिअनुसार नेपालका राजनीतिक दलहरूको परिचालन भए कसैले पनि नेपालको अहित सोच्न नसक्ने उनको भनाई थियो ।
सबै राजनीतिक दल एक भएर लागे देश विकासको वातावरण तयार गर्न सकिने उनको भनाई थियो । उनले युवा शक्ति विदेशिन बाध्य हुँदासम्म देशमा विकासको लहर आउन नसक्ने बताए ।
नेपाली कांग्रेसको महाधिवेशनपछि संसदीय दलको नेताको चयनका लागि प्रक्रिया अघि बढेको भन्दै संसदीय दलको नेता सर्वसम्वतबाट चयन नभई निवार्चनबाटै चयन हुने अवस्था सृजना भएको उनले बताए ।
नेपाली कांग्रेसको महाधिबेशनले बैचारिक पक्षलाई भन्दा पनि कसलाई सभापति र पदाधिकारीमा निर्वाचित गर्ने भन्नेमा केन्द्रित बनेको बताए ।