मनाङको उवा र जुम्लाको फापर काठमाडौमा

233
  •  
  •  
  •  

रक्षा रेग्मी
काठमाडौं १८, असार (ओएनएस) । मनाङको उत्पादित उवा अब काठमाडौंमा उपलब्ध हुने भएको छ । नेपाल खाद्य संस्थानले बिहीबारदेखि उक्त उवाको विक्री सुरु गर्न लागेको छ । उवाको प्रचारप्रसार तथा मनाङका कृषकलाई प्रोत्साहित गर्ने उद्देश्यले यसको विक्री सुरू गर्न लागिएको संस्थानका नायव महाप्रवन्धक नवराज उपाध्यायले बताए ।

संस्थानले यसको बजार मूल्य प्रतिकेजी करिब ८५ रुपैयाँ पर्ने उनले जानकारी दिए । ‘हामीले प्रतिकेजी ८० रुपैयाँमा खरिद गरेका हौं’ उनले भने, ‘यसमा ढुवानी खर्च जोडेर न्यूनतम नाफा राखेर विक्री गर्ने छौं ।’ उवाको बजार पहिचान गरी यसको विक्री बढाउने लक्ष्य राखिएको उनले जानकारी दिए ।

गहँ प्रजातिभित्र पर्ने उवा विशेषगरी सातुको रूपमा प्रयोग गर्न सकिन्छ । यसमा अधिक मात्रामा फाइवर तथा प्रोटिन पाईन्छ । गहुँ जस्तै भए पनि तुलनात्मक रूपमा उवामा अधिकमात्रामा प्रोटिन पाइने उपाध्यायको भनाई छ । मैदामा मिसाएर रोटी, दुनोट तथा पाउरोटी बनाउन उवाको प्रयोग गर्न सकिन्छ ।

त्यसैगरी संस्थानले बिहीबार देखिनै जुम्लामा उत्पादित तिते फापर तथा सिमीको पनि विक्री सुरू गर्ने जानकारी दिएको छ । संस्थानले विक्रीका लागि ७ क्विन्टल तिते फापर र ३ क्विन्टल सिमी ल्याएको छ । संस्थानले फापरको १ सय ५ तथा सिमीको १ सय ५० रुपैयाँ विक्री मूल्य तोकेको जानकारी दिएको छ । खाद्य संस्थानले यी उत्पादनको बजार पहिचान गरी यसको विक्री विस्तार गर्ने योजना रहेको बताएको छ ।

दुर्गम जिल्लाका उत्पादन राजधानिमा ल्याई यहाँको उत्पादन त्यहाँ पुर्याउने संस्थानले बताएको छ । दुर्गमको उत्पादन संस्थानले खरिद गर्दा कृषहरू विचौलियाको मारमा नपर्ने तथा थप उत्पादनका लागि प्रोत्साहित गर्ने उपाध्याय बताउँछन् । सरकारले संस्थानमार्फत विभिन्न जिल्लाका खाद्य सामग्री भित्राउन चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्षका लागि ४० लाख रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको बताइएको छ ।


  •  
  •  
  •