नेकपाको सचिवालय बैठक सम्पन्न, यस्ता छन् निर्णयहरु

318
  •  
  •  
  •  

काठमाडौँ, २० असार (ओएनएस) : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे पार्टी केन्द्रीय सचिवालयको बैठक सकिएकाे छ । भाेली बिहीबार बस्ने स्थायी समितिको बैठकको कार्यसूची निर्धारण गर्दै बुधबार बसेको सचिवालय बैठक सकिएकाे हाे।

बैठकले स्थायी समिति बैठकको कार्यसूची र प्रस्ताव तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको थियाे।

भर्खरै सम्पन्न प्रधानमन्त्री ओलीको चीन भ्रमण, मुलुकमा विद्यमान राजनीतिक परिस्थितिको विकास, सरकारका काम कारबाही र पार्टीको सांगठनिक एकीकरणको प्रक्रियाका बारेमा दुवै अध्यक्षबाट स्थायी समितिको बैठकलाई जानकारी दिनुहुने कार्यसूची तय भएको प्रवक्ता श्रेष्ठले बताए।

भाेली बस्ने स्थायी समितिको सुझावलाई समेटेर नियमावलीलाई अन्तिमरुप प्रदान गर्ने र त्यसपछि सबै पार्टी कमिटी र जनवर्गीय संगठनको सांगठनिक एकीकरण प्रक्रियालाई तीव्रता प्रदान गरिने प्रवक्ता श्रेष्ठले बताए।

उनका अनुसार सचिवालयकाे बैठकले पार्टीले तयार गरेको नियमावलीबारे छलफल गरी स्थायी समितिबाट सल्लाह र सुझाव लिने निर्णय पनि गरेको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सचिवालयमा रहेका सबै पदाधिकारी सहभागी रहेकाे थियाे। प्रधानमन्त्री ओलीको चीन भ्रमणअघि असार २ मा बैठक बसेदेखि नेकपाका कुनै औपचारिक बैठक यसअघि बसेकाे थिएन्।


  •  
  •  
  •