कठमाडौं, ३० पुस (ओएनएस) : सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमालेले फास्ट ट्रयाकबाट माघ ८ भित्रै संविधानको मस्यौदा ल्याउने निर्णय गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार विहान बसेको संयुक्त बैठकले प्रश्नावली बनाएर अघि बढ्दा ढिलो हुने भन्दै संवैधानिक राजनीतिक संवाद तथा समितिको प्रतिवदेनलाई छलफलपछि मस्यौदा समितिमा पठाएर संविधानको मस्यौदा ल्याउन सकिने निश्कर्ष निकालेका हुन् ।
प्रधानमन्त्री तथा काँग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीसहितको संयुक्त बैठकले संवाद समितिको प्रतिवदेनमा छलफलपछि मस्यौदा समितिमा पठाउने र थप प्रक्रियालाई सहज बनाउन सभाध्यक्ष सुवास नेम्वाङसँग छलफल गर्ने निर्णय गरे ।
काँग्रेसका सहमहामन्त्री पूर्णबाहादुर खड्काका अनुसार माघ ८ मा मस्यौदा ल्याउनको लागि प्रक्रिया छोट्याएर अघि बढ्ने निर्णय भएको जानकारी दिए । खड्काले त्यसको लागि प्रश्नावली नबनाउने र संवाद समितिको प्रतिवदेशमा केहि छलफल गरेर मस्यौदा समितिमा पठाउन सकिने बताए ।
एमाओवादी नेतृत्वको विपक्षी ३० दलीय मोर्चाले प्रक्रियामा गए संविधानसभाको बैठक बहिस्कार गर्ने चेतावनी दिइरहेको बेला सत्तापक्षले प्रक्रियामा गएरै माघ ८ मा मस्यौदा ल्याउने तयारी गरेका हुन् ।
यता सत्तापक्षबिरुद्ध आन्दोलनमा उत्रिएको मोर्चाले माहोन बैद्य र आदिबासि जानजाति राष्ट्रिय आन्दोलन समितिसँग मिलेर आन्दोलन गर्ने निर्णय गरेपछि देशको राजनीति थप जटिल मोडमा पुगेको छ ।
दलहरुबीच राज्य पुनःसंरचना, शासकिय स्वरुप, न्याय प्रणाली लगायतका संविधानको मुख्य विषयमा विवाद छ ।