काठमाडौँ, २४ फागुन(ओएनएस) : कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवालाई पार्टी सभापति बन्नका लागि ११ मतले चुकेका छन् । सभापति जित्नका लागि आवश्यक बहुमत अर्थात् ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि सोमबार पुनः मतदान हुने भएको छ ।
नेता देउवाले १५ सय ६४ मत प्राप्त गरेका थिए । उनलाई सभापति बन्नका लागि १५ सय ७५ मत आवश्यक थियो । सभापतिका अर्का उम्मेदवार रामचन्द्र पौडेलले ११ सय ६० मत ल्याएर दोस्रो भएका छन् भने निवर्तमान महामन्त्री सिटौलाले मात्र ३ सय २४ मत प्राप्त गरेका छन् । यस्तै, १ सय मत बदर भएको छ ।
आइतबार भएको मतदानमा ३ हजार १ सय ४८ मत खसेको थियो ।
दोस्रो चरणको चुनावमा बढी मत ल्याउने दुई उम्मेद्वार देउवा र पौडेलबीच प्रतिस्पर्धा हुनेछ । तेस्रो स्थानमा रहेका सिटौला प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।
मनोनित भएका ३० जनाले मतदान गर्न पाएका थिएनन् । नेपाली कांग्रेसको निर्वाचन समितिले विधान बाझिएको भन्दै सभापतिबाट मनोनित ३० जना महाधिवेशन प्रतिनिधिलाई तत्काल मतदान गर्न नदिने निर्णय गरेपछि उनीहरूले मतदान गर्न नपाएका हुन् ।