सत्तापक्षले ठोस प्रस्ताव ल्याए आन्दोलन फिर्ता लिन्छौं : एमाओवादी

405
  •  
  •  
  •  

काठमाडौं, १५ चैत (ओएनएस) : सभाध्यक्ष सुवास नेम्बाङले सहमति गर्न दिएको अन्तिम मिति आइतबार सकिनै लाग्दा सत्तापक्ष नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल एमाओवादीबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनका कार्यक्रम फिर्ता लिन एमाओवादी अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए । तर प्रचण्डले ठोस प्रस्तावमा वार्ता गर्ने र वार्ता सकारात्मक भए आन्दोलन फिर्ता लिने जवाफ दिएका छन् । प्रचण्डले कांग्रेसलाई प्रस्ताव लिन आग्रह गरेपछि नयाँ प्रस्तावसहित आइतबार साँझ वार्ता गर्ने गरी छलफल सकिएको छ ।

छलफलमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइराला, रामशरण महत, नरहरि आचार्य, महेश आचार्य र एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, डा बाबुराम भट्टराई लगायतका नेता सहभागी थिए । एमाओवादीले वार्तामा बस्ने सकारात्मक सन्देश दिएपछि कांग्रेसले नयाँ प्रस्तावको लागि एमालेसँग दिउँसो छलफल गर्ने भएको छ ।

दलहरुबीच विवाद बढ्दै गएपछि विगत दुई महिना यता संविधान निर्माण प्रक्रिया अबरुद्ध छ । सत्तारुढ कांग्रेस र एमाले संविधानको विवादित विषयमा सहमति हुन नसके प्रक्रियाबाट संविधान निर्माण प्रक्रिया अघि बढाउनु पर्ने अडानमा छन् भने विपक्षी मोर्चा सहमतिबाटै संविधान लेख्नु पर्ने भन्दै आन्दोलनमा छ । दलहरुबीच राज्य पुनर्सरचना शासकीय स्वरुप लगायतका विषयमा विवाद छ ।


  •  
  •  
  •