सत्तारुढ अडानमै : वार्ताको लागि प्रक्रिया रोकिन्न

456
  •  
  •  
  •  

NC-UMLकाठमडौं, २३ माघ (ओएनएस) : एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले संविधान निर्माण प्रक्रिया रोकेमात्र वार्ता गर्ने अडान लिइरहेको बेला सत्तारुढ दलले प्रक्रिया र वार्ता सँगसँगै अघि बढाउने पुरानै रटान लिएका छन् ।

विपक्षी मोर्चाले राखेका मागका विषयमा साझा धारणा बनाउन प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार विहान बसेको नेपाली काँग्रेस र एमाललेको संयुक्त बैठकले विपक्षीलाई वार्तामा बस्न आह्वान गर्ने निर्णय गरेको छ । साथै सत्तारुढ दलहरु वार्ता गर्नको लागि जारी संविधान निर्माण प्रक्रिया रोक्न नहुने निश्कर्षमा पुगेका छन् ।

‘वार्तालाई प्राथमिकताका साथ अघि बढाउन विपक्षीलाई अनुरोध गर्ने निर्णय भएको छ, त्यसको लागि लचकता अपाउन हामी तयार छौं । ’ बैठकपछि काँग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले भने,‘ विवादको समाधान गर्ने स्थान संविधानसभा भएकोले प्रक्रिया अघि बढाएर पनि सहमति गर्न सकिन्छ भन्ने हामी एकमत छौ । ’
विपक्षीले संविधभानसभामा प्रक्रिया अघि बढाएपछि घोषणा गरेको आन्दोलनको विषयमा बैठकमा छलफल भएको थियो । आन्दोलनबाट सहमति नहुने भएकोले वार्ताबाट नै सामाधान निकाल्नको लागि पहल गर्ने विषयमा समेत छलफल भएको बडुले जानकारी दिए ।

संविधानसभामा प्रश्नावली निर्माण समिति गठनपछि रुष्ट बनेको एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले उक्त निर्णय फिर्ता नभएसम्म वार्ता नगर्ने बताउँदै आएको छ । देशव्यापी आन्दोलन घोषणा गरेको विपक्षीले संविधानसभाका समेत बहिष्कार गर्दा संविधान निर्माण प्रक्रिया अन्योलग्रस्त छ ।


  •  
  •  
  •