काठमाडौं ९ माघ (ओएनएस) : नेपाली काँग्रेस र नेकपा एमालले सहितका सत्तारुढ दलले संविधानसभामा अवरोध जारी रहेसम्म विपक्षी दलसँग वार्ता नगर्ने निर्णय गरेका छन् ।
सत्तारुढ दलको शुक्रबार बसेको बैठकले संविधानसभामा प्रस्ताव गरिएको प्रश्नावली समिति गठनको प्रस्ताव प्रक्रिया अघि नबढेसम्म विपक्षीसँग वार्ता गर्न आवश्यक नभएको निश्कर्ष निकालेका हुन् ।
संविधानसभा भवन नयाँबानेश्वरमा बसेको बैठकले प्रश्नावली समिति गठनको प्रस्तावलाई अघि बढाएमात्र संविधान निर्माण प्रक्रिया अघि बढ्ने ठहर गर्दै सभाध्यक्ष सुवास नेम्वाङलाई प्रक्रिया अघि बढाउन आग्रह गर्ने निर्णय गरेको हो ।
यसअघि एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले सहमति नभएसम्म संविधानसभा अवरोध जारी राख्ने निर्णय गरेका थिए । तर सत्तापक्षले अवरोध गरेसम्म वार्ता नगर्ने निर्णय गरेपछि राजनीति थप अन्यौलतर्फ धकेलिएको छ ।
विपक्षीले वार्ता गर्नको सराकारत्मक संकेत दिइरहेको बेला सत्तापक्षले विपक्षीलाई संविधानसभामा थकाउने रणनीति लिएको छ ।
सोमबार राति यता संविधानसभाको बैठक अवरुद्ध हुँदै आएको छ । दलहरुले संविधान जारी गर्न तोकेको अन्तिम मिति माघ ८ कट्दा समेत संविधानको गतिरोध हट्न सकेको छैन ।
सत्तापक्षले संविधान निर्माणका विवादित विषयलाई प्रश्नावली समिति गठन गरेर प्रक्रिया अघि बढाउनु पर्ने बताउँदै आएका छन् ।
त्यसै अनुरुप सभाध्यक्ष नेम्वाङले उक्त प्रस्ताव लाउन काँग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठलाई अनुमति दिएपछि विपक्षीको नाराबाजीका कारण संविधानसभा अवरुद्ध हुँदै आएको छ ।