भारतका प्रधानमन्त्रीले एउटा राम्रो सट खेल्दिनु भयो

250
  •  
  •  
  •  

Gagan-thapa

काठमाडौं, २१ साउन (ओएन्एस)  : भारतीय प्रधानमन्त्रीले नेपालको दुई दिने भ्रमणका क्रममा नेपालीको मन जित्ने प्रयास गरेको चर्चा छ । संसदमा गरेको सम्बोधन र बानेश्वरमा सर्वसाधरणसँग हात मिलाउँदा उनले भावनात्मकरुपमा नेपालीको समर्थन प्राप्त गरे । तर राजनीतिक वृतले मोदीको भ्रमणलाई कसरी लिएको छ त ? यसै सन्दर्भमा कांग्रेस नेता तथा सभासद गगन थापासँग ओएनएनन्युजले गरेको कुराकानीको सम्पादित अशं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण पछि नेपालमा निक्कै उत्साहको कुरा सुनिएको छ तपाईले चाँही यस भ्रमणलाई कसरी लिनु भयो ?

भारतीय प्रधानमन्त्रीको भ्रमणलाई नेपाल प्रवेश गरिसकेपछि उहाँले के के भन्नु भयो र के के गर्नु भयो भन्नेसँगमात्र जोडेर हेर्नु हुँदैन । भारतीय प्रधानमन्त्रीको भ्रमण नेपालमा किन भयो र कुन पृष्ठभुमिमा भएको छ भन्ने कुरा हामीले बुझ्नुुपर्छ ।

मोदी भारतीय प्रधानमन्त्री भइसकेपछि उहाँले एउटा कुरा प्रष्ट बनाउनु भएको छ , ‘दक्षिण एसियामा भारतले आफ्नो सम्बन्धलाई नयाँ ढंगले अगाडि बढाउन चाहन्छ । विश्व रंगमंचमा भारतले आफ्नो प्रभाव स्थापित गर्नैपर्ने छ । त्यो गर्नका लागि भारत एक्लै अगाडि बढ्ने होइन त्यसकालागि दक्षिण एसियालाई एउटा तागतका रुपमा क्षेत्रीय शक्तिको रुपमा विकास गर्नुपर्छ ।’ त्यो मोदीजीको शपथ ग्रहणबाटै ब्यवहारमा देखिन सुरु भयो र भुटानको भ्रमणहुँदै नेपाल र बाँकी पनि हामीले हेर्यौं भने त्यो देखिन्छ । दुई दिन अगाडि मात्र विश्वव्यापार संगठनको एमइओमा हस्ताक्षर गर्ने बेलामा भारतले आफ्नो भिटो प्रयोग गरेर जसरी त्यसलाई रोक्यो त्यसबाट पनि के देखाउँछ भने भारत विश्वरंगमंचमा आफूलाई नयाँ भारतको रुपमा देखाउन चाहन्छ ।

भारतमा सरकार बदलिएको होइन, सत्ता बदलिएको हो । मोदीको भ्रमणलाई त्यो दृष्टिकोणमा हेर्नुपर्छ । त्यसैले भारतका प्रधानमन्त्रीले गरेको नेपाल भ्रमण विगत १५ वर्षदेखि जुन स्तरबाट गुज्रेको थियो त्यसबाट प्रस्थान हुन्छ भन्ने हाम्रो अपेक्षा हो । नेपालसँगको सम्बन्धलाई राजनीतिक तहबाट सुदृढ बनाउने र भन्ने उहाँको स्पष्ट योजना रहेको देखियो । त्यो कुरा संसदको सम्बोधनमा, प्रधानमन्त्रीसँगको भेटमा, १९५० को सन्धिका विषयमा राखेको कुरा होस अर्थात सबै विषयमा त्यो देखियो ।

अर्को कुरा सन् २००६ को आसपासमा भारतले पनि नेपालमा माइक्रो म्यानेजमेन्टको तहमा हामीले नहेरे नेपालभित्र केही पनि हुँदैन भन्ने मनोविज्ञान बन्दै गएको थियो । त्यो कतिसम्म भयो भने नेपालमा प्रधानमन्त्री को बन्ने, मन्त्री को बन्ने भन्ने कुरामासमेत भारतको भूमिका हामीले खोज्ने र भारत स्वंयले पनि खोज्न थालेको थियो । यो चरणपनि अब टुंगियो कि भन्ने संकेत मोदीको भ्रमणले गरेको छ । नेपालको राजनीतिक परिवर्तनको सन्र्दभमा चाँही एउटा भारतको संस्थापन पक्षको वा प्रधानमन्त्रीको त्यसलाई अनुमोदन गर्दै अगाडि बढ्ने भन्ने कुरा छ, यसले एक तहमा राजनीतिक सम्बन्ध स्थापित गर्ने भइहाल्यो ।

मोदीको सम्बोधनलाई नै आधार मानेर सम्बन्ध स्थापित भएको मान्न सक्निछ त ?

१९५० को सन्धिमा नेपाल र भारतका बीचमा थुप्रै कुरा हामीले हामीले हेर्यौं भने प्रधानमन्त्री सुशील कोइरालाको भ्रमणको बेला भएको समझदारीमा जे कुरा लेखिएको थियो, अहिले सुष्मा स्वराजको भ्रमणमा ती कुराहरु दोहोरिएका छन् । भनाईको मतलव कार्यान्वयनको पक्ष यति फितलो थियो, दुवैपक्षबाट । यो कुरामा पनि निकै परिवर्तन आउला भन्ने लागेको छ । खासगरी मोदी आफैंले जुन ढ्रंगबाट नेपालको विकासको सन्र्दभमा केही विषयहरु राख्नुभयो, त्यसलाई हेर्दा परिवर्तन आउँछ भन्ने लागेको छ ।

भारतबाट नेपालले फाइदा लिन सक्ने भयो त अब ?

बल अब नेपालको कोर्टमा छ । भारतको प्रधानमन्त्रीले एउटा राम्रो सट खेल्दिनु भयो । अब त्यसलाई हामीले के गर्ने त ? त्यो सटबाट ढल्ने हो की अथवा त्यसलाई सम्हालेर राम्रोसँग उतै फर्काउने हो की ? बल हाम्रो कोर्टमा छ । अब नेपालले निकै परिपक्व, सम्हालेर र आफ्नो हित सुनिश्चित हुनेगरी , भारतमा सरकार परिवर्तनसँगै आएको अवसरलाई बुझेर, भारतको यो विश्वसंगमंचमा प्रवेश गर्ने आकाक्षाले यो अवसर नेपाललाई पनि बोकेर ल्याएको छ, त्यो अवसरलाई प्रयोग गर्ने सन्र्दभमा नेपाल अब खरो उत्रनुपर्छ ।

भारतलाई हेर्ने जुन आम नेपालीको दृष्टिकोण थियो, मोदीको संसदको संबोधनले भारतप्रतिको हेराईमा परिवर्तन आउँला ? 

स्वाभाविक रुपमा हो । किनभने हाम्रो जनताको तहसम्म नेपाल भारत सम्बन्ध कस्तो रहने भने नेपालहरुको ठुलो पंक्तिलाई हामीहरु निरन्तर अपमानित भएका छौं भन्ने लागिरहने, र हामीहरु ठगिएका छौं, पेलिएका छौं भन्ने लागिरहने जस्तो थियो । यी सबै कुरालाई हटाउन दृढ निश्चय गरेर भारतीय प्रधानमन्त्री आउनु भएको जस्तो देखियो । यहाँ त्यो सन्देश दिनुमात्र भएन प्रवाहितपनि गर्नुभयो । सन्देश दिएरमात्र पनि हुँदैन, त्यसलाई प्रभाहित पनि गर्नसक्नुपर्छ । र मलाई लाग्छ उहाँले सोचेभन्दा बढी त्यो सन्देश प्रवाहित गर्न उहाँ सफल हुनुभएको छ । त्यो कुरा व्यवस्थापिका संसदको सम्बोधन र अन्य भेटभाटलेसमेत देखाएका छन् । आजको दिनमा के भन्न सकिन्छ भने नेपालको जनसंख्याको ठुलो हिस्सालाई भारतीय प्रधानमन्त्रीको दुई दिने नेपाल भ्रमणले नेपाल भारतसम्बन्धलाई अगाडि बढाउन ठुलो सफलता मिलेको छ ।

भारतीय प्रधानमन्त्रीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने बताएपछि अब नेपाली नेताहरुले आफ्नो स्वविवेक प्रयोग गरेर निर्णय गर्नसक्ने आधार कत्तिको बन्ला ?

उहाँले भनेका कुरालाई हामीले व्यवहारमा लागु भएको हेर्न बाँकी छ । त्यो भोलीका दिनमा थाहा हुने कुरा भयो । तर, धेरै चाँही हामीमा पनि भर पर्छ । हामीले फेरि भारतको भुमिका खोज्दै गयौं भने त त्यो कुरा दोहोरिन्छ फेरि । अर्को कुरा, भारतीय प्रधानमन्त्रीले एकदमै जोड दिनुभएको कुरा के हो भने नेपालको शान्त्रि प्रक्रिया र संविधान निर्माणको चरणमा आएर काम गर्दै छ । त्यो विश्वकै र एउटा अत्यन्त गौरव गर्ने खालको अनुपम उदाहरण बन्न सक्छ । जसरी हामी युद्धको मार्गबाट बुद्धको मार्गमा भन्ने । त्यो कुरा सानदार ढंगले त्यो कुरा राख्नु भयो । नेपालको शन्ति प्रक्रिया पुरा भएको अवस्थामा विश्वमा सशस्त्र युद्ध गरिहेका समुहलाई पनि ठुलो पाठ हुुनसक्छ भन्ने उहाँको बुझाई रहेका छ ।

हाम्रा पाहुनाले हामीलाई त्यो भनिदिँदा हामी निकै प्रफुल्लित भयौं त्यो ठिक छ । मलाई के लाग्छ भने त्योसँगै लुकेको अर्को कुरा के छ भने हामी आफ्नोतर्फबाट आत्मा निन्दागर्ने चरणबाट कहिले बाहिर निस्कने हो ? अरुले हाम्रो बारेमा राम्रो भन्दिए हामी खुशी भयौं, तर, हामीले हाम्रो बारेमा एउटा कुरापनि राम्रो भन्न छोड्यौं । यो पाटोलाई पनि हामीले हेर्नुपर्छ ।

मोदीले संसदमा गरेको सम्बोधनको चौतर्फी स्वागत भएको छ । सम्बोधनमा उहाँले नेपालमा लोकतान्त्रिक संविधान बनोस भन्ने भारतको चाहना गरहेको पनि बताउनु भयो । त्यो चाहना भित्र आफ्न केही कुरा समावेश गराउने दबाब पनि थियो ?

मलाई त त्यो भनेको कुरा ठिक हो भन्ने लाग्छ । हाम्रो अहिलेको संविधानले नै नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र हो भन्छ । त्यसमा नयाँ कुरा के भयो र ? त्यो नेपालको संविधान र राजनीतिक परिवर्तनलाई मान्छु भनेको हो नी । त्यो भन्दा बढी अरु कुरा भनेको भए प्रश्न उठाउने ठाँउ रहन्थ्यो होला । त्यो पनि नभनेको भए बरु नेपालभित्र एक किसिमको स्थिति छ नी , विजेपीको सत्ता रोहणपछि नेपालको धर्मनिरपेक्षतालागयतका विषयमा नयाँ रवैया हुन्छ भन्ने अनुमान लगाइएको थियो । अब त्यस किसिमको प्रश्न गर्ने ठाउँ रहेन् ।

भ्रमणको व्यवस्थापनको जिम्मा पहिला खुफिया एजेन्सीले गर्ने गथ्र्यो । तर, यसपटक त्यस्तो देखिएन । अब नेपालमा खुफिया एजेन्सीको प्रभाव कम हुने हो ?

अस्ती भर्खर जर्मन चान्सलरको टेलिफोन रेकर्ड अमेरिकाले गर्यो भन्ने समाचार पढियो । इजरायलमा अमेरिकी विदेशमन्त्रीको फोन रेकर्ड भयो भन्ने पनि पढियो । भनेको यो खुफियाको भुमिका यो संसारमा हुँदैन भन्ने कुरा तपाईले मान्नै सक्नुहुन्न । खुफियाले देख्नेगरी राजनीति गरे भने के गर्ने ? अमेरिकाम जोन केरी आउनुको सट्टा अमेरिकाको खुफिया एजेन्सीको प्रमुख नै आएर वार्ता गर्न थाले भने के गर्ने ? त्यसकारण उनीहरुको राजनीतिक सम्बन्ध पनि हुन्छ खुफियाले आफ्नो काम पनि गरिहेको हुन्छ । त्यस कारण हामी बडो भावनामा बग्नु पनि हुँदैन् । खुफियाले आफ्नो खुफियाको काम गर्छ । त्यसले राजनीतिक निर्णय गराउन सक्दैन । हामीले खोजेको त्यही त हो नी ।

तर, नेपालमा राजनीतिक निर्णय नै गराए नी ?

नेपालमा त गराएमात्र होइन । उनीहरुको निर्णय हामीलाई ग्राह्य हुन थाल्यो । त्यो कुराबाट बाहिर निस्कने कुरामा एउटा आधार बन्यो जस्तो लाग्छ । त्यसैले मैले भनेको बल अब नेपालको कोर्टमा छ । हामीले के गर्छौ कसरी अगाडि बढ्छौं भन्ने कुरा हामीमा भर पर्छ ।

अब नेपाल र भारतबीचमा राजनीतिक तहमा कस्तो खालको सम्बन्ध होला ?

दक्षिण एसियामा नै नयाँ किसिमको सम्बन्ध राख्ने अभियानमा अहिले भारतीय प्रधानमन्त्री हुनुहुन्छ । त्यसैले राजनीतिक तहमा राजनीतिक तह भन्नाले भारतको प्रधानमन्त्री नेपाल भ्रमणमा आएपछि नयाँ अध्याय त सुरु भयो नि । हिजो कांग्रेसका नेताहरुसँग व्यक्तिगत हिमचिम उठबस थियो होला, तर अहिले त नयाँ मानिस आउनु भएको छ । त्यसैले राजनीतिक तहको सम्बन्ध भनेको सरकारसँगको सम्बन्ध हो । हिजोपनि बन्देज त थिएन । तर, अब झन सजिलो भएको छ । त्यो सजिलो पार्ने काम भारतीय प्रधानमन्त्रीले गर्नु भएको छ ।

भारतले नेपाल र मधेसलाई अलग्गै दृष्टिकोणले हेर्छ भन्ने आरोप लाग्ने गरेको थियो । तर, भारतीय प्रधानमन्त्रीको सम्बोधनले त्यसलाई निराधार बनाएको हो ?

मधेसका राजनीतिक दलभन्दा फरक दृष्टिकोण राख्नेले हाम्रो पक्षमा भारतीय प्रधानमन्त्री भनेर बुझ्यौं भने त्यो पनि गल्ती हुन्छ । हिजो हामीले आफ्ना सुविधाका लागि भारतीय पक्षसँग केही कुरा गथ्र्यौ होला । सबैले गरिरहेकै हो । हामीले आफ्नो सजिलोका लागि मधेसका दललाई सम्झाई दिनु पर्यो भनेर हामीले भन्यौं होला । कहिले उनीहरुले भने होलान् । यो आधारचाँही अब बन्द हुन्छ होला । नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको संधिवान बन्ने कुरालाई सम्मान गरिसकेपछि यस भित्रका साना कुरा चाँही नेपाल आफैंले मिलाउँदै जाने हो ।


  •  
  •  
  •