काठमाडौ, ९ पुस(ओएनएस) : सत्तारूढ कांग्रेस-एमालेका नेताहरूले एमाओवादीलाई संविधान ल्याउने वातावरण तयार गर्न आग्रह गरेका छन् । कांग्रेस-एमालेका नेताहरूले अहिले फरक मत राखेर संविधान ल्याउने र पछि नयाँ जनादेश ल्याएर आवश्यकता अनुसार संविधान संसोधन गर्न एमाओवादीलाई सुझाव दिएका हुन् ।
राजधानीमा नेपाल पत्रकार महासंघले आज आयोजना गरेको कार्यक्रममा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधानमा सबैले खोजेजस्तो संविधान निर्माण गर्न नसकिने बताएका छन् । उनले कुनैपनि संविधानमा सबैका कुराहरुलाई समेट्न नसकिने बताउँदै संविधान परिवर्तन गर्न मिल्ने भएकाले आवश्यकता र माग अनुसार परिवर्तन गर्दै लैजानुपर्ने धारणा राखेका छन् ।
उनले एमाओवादीलाई नयाँ जनादेश ल्याएर आफ्नो कुरा राखेर संविधान संशोधन गर्न सुझाव दिएका छन् । उनले अहिले केही फरक मतमा सहमति गरेरै भएपनि संविधान निर्माणका लागि सहमति जुटाउन वातावरणको सिर्जना गर्न आग्रह गरेका छन् ।
यस्तै, कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पनि संविधानलाई संशोधन गर्न सकिने भन्दै नयाँ जनादेश ल्याएर आफूले चाहेअनुसारको संविधान संशोधन गर्न सुझाव दिएका छन् । उनले माघ ८ मा संविधान ल्याउनका लागि नियमावली र कार्यतालिका संशोधन गर्नुपर्ने बताएका छन् । उनले नियमावली र कार्यतालिका संशोधन नगरी संविधान समयमा आउन नसक्ने भन्दै फास्टट्र्याकबाट जानुपर्ने भनाई राखेका छन् ।
उनले अहिलेकै नियमावली र कार्यतालिकाले माघ ८ मा संविधान नआउने जिकिर समेत गरेका छन् ।