काठमाडौँ, ६ बैशाख(ओएनएस) : नेपाली कांग्रेसले सरकारसँग व्यवस्थापिका–संसद्को बैठक आह्वान गर्न आग्रह गरेको छ ।
व्यवस्थापिका-संसद भवन नयाँ बानेश्वरमा कांग्रेसको राजधानीमा उपस्थित केन्द्रीय सदस्य तथा संसदीय दलको संयुक्त बैठकले संसदको बैठक आव्हानका लागि सरकार उदासिन भएको उल्लेख गर्दै सकेसम्म चाँडो संसदको बैठकको आव्हान गर्न सरकारलाई आग्रह गरेको हो ।
बैठकले संविधान कार्यान्वयनका लागि मार्ग प्रशस्त गर्नका लागि आवश्यक ऐन तथा कानुन संसदमा पेश गर्नुपर्ने र छलफल चलाउनुपर्ने भन्दै यसमा सरकार उदासिन बनेको निष्कर्ष निकालेर सरकारलाई बैठक बोलाउनका लागि आव्हान गर्न माग गरेको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा पनि अत्यधिक मतले विजयी भएपछि बैठक पहिलो पटक बसेको हो । सभापति देउवा आजै भारत भ्रमणमा प्रस्थान गरेकाले दलको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको छ ।
बैठकको सुरुवातमा वरिष्ठ नेता पौडेलले मुलुकको पछिल्लो समसामयिक राजनीतिक अवस्था र संविधान कार्यान्वयनमा दलले निर्वाह गरेको भूमिकाका बारेमा बैठकमा उपस्थित सदस्यहरूलाई जानकारी दिएका थिए ।