सरकारलाई कांग्रेसको प्रश्न, ‘राजदूतलाई फिर्ता बोलाउने कारण के ?’

171
  •  
  •  
  •  

काठमाडौँ, २५ बैशाख(ओएनएस) : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भारतकालागी नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णयबारे सरकारले संसदमा जवाफ दिनुपर्ने माग राखेको छ ।

व्यवस्थापिका संसदको आज बसेको बैठकको सुरूवातमा नै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले राजदूतलाई सरकारले फिर्ता बोलाएकोमा आपत्ति जनाउँदै सरकारले संसदमा जवाफ दिनुपर्ने माग गरेका छन् । संसद बैठकमा सभामुख ओनसरी घर्तीमगरसँग समय लिएर बोल्दै कांग्रेस सांसद डा. प्रकाशशरण महतले राजदूत फिर्ता बोलाउने सरकारको निर्णय गलत भएको बताएका छन् ।

उनले सरकारले राजदूतमाथी लगाएका सम्पूर्ण आरोप गलत भएको भन्दै सरकारले प्रतिशोधको राजनीति गरेको आरोप लगाए । महतले भने, ‘सरकार परिवर्तन गर्ने विषय सार्वभौम संसद्को विषय भएकाले त्यसलाई अन्तर्राष्ट्रियकरण गर्दै राजदूतसँग जोडेर गरिएको प्रचार पूर्णत गलत छ ।’

महतले संविधान र संसदीय नियमावली अनुसार संसदमा रहेका राजनीतिक दलहरुले सरकार बनाउन र बदल्न सक्ने व्यवस्था रहेको अवस्थामा एउटा छिमेकी देशका लागि नियुक्त कुटनीतिक प्रतिनिधिले सरकार बदल्न क्रियाशिल भएको आरोप लगाउनु आपत्ति जनक विषय भएको बताए । उनले सरकारले राष्ट्रपतिको आसन्न भ्रमण एकाएक स्थगित गर्दै राजदूतमाथि दोष थोपारेर फिर्ता बोलाउने कार्यले छिमेकी राष्ट्रसँगको कुटनीतिक सम्बन्धमा नकारात्मक असर पारेको समेत दावी गरेका छन् ।

राजदुत दीपकुमार उपाध्यायलाई सरकार परिवर्तनमा लागेको र राष्ट्रपतिको भारत भ्रमण रोक्ने खेल खेलेको आरोपमा शुक्रबार सरकारले फिर्ता बोलाएको थियो ।

महतले एनसेलको विषयलाई लिएर राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा अफवाह भइरहेको भन्दै सो विषयमा सरकारको धारणा माग गरेका थिए । उनले राज्यको दायित्व पूरा नगरी कर नतिर्ने प्रवृत्तिलाई उत्साहित गरिएको भन्दै सरकारले सदनमा सो विषयमा प्रस्ट जवाफ दिनुपर्ने धारणा राखे ।


  •  
  •  
  •