न्यायपरिषद सदस्य सिफारिसबारे बारमा महाभारत

914
  •  
  •  
  •  

काठमाडौं २२ चैत (ओएनएस) :  नेपाल बार एसोसिएसनमा न्यायपरिषद सदस्य सिफारिस जटिल मोडमा पुगेको छ । केही अघिसम्म दुई खेमा देखिएको बारमा हिजो शनिबारदेखि तीन खेमा भएका छन् । यसअघि नेकपा एमाले र नेपाली कांग्रेसनिकट गरी दुई समूहमा विभाजित हुँदा सहमतिको नाम प्रस्ताव हुन सकेको थिएन । शनिबार बसेको बारको केन्द्रीय कार्यसमिति बैठकमा कांग्रेसनिकट वलिकहरू स्पष्टतः विभाजित रुपमा प्रस्तुत भएका छन् ।

हिजोको बैठकमा कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) को विभाजित रुप स्पष्टतः देखिएको एक सदस्यले ओएनएसलाई जानकारी दिए । बारको बैठक आज पनि बसेको छ । आजको बैठकबाट पनि निर्णय हुन सक्ने सम्भावनाप्रति पदाधिकारीहरुले मिश्रित प्रतिक्रिया दिएका छन् ।

बारमा डीएलएको संस्थापनको नेतृत्व महासचिव सुनील पोखरेलले गरिरहेका छन् भने विरोधी खेमाको नेतृत्व कोषाध्यक्ष मोहन इङ्नामले गरेका छन् । १७ सदस्यीय बार कार्यसमितिमा नौजना कांग्रेस पक्षधर छन् । नौमध्ये पाँच महासचिव पोखरेल पक्षधर र चार कोषाध्यक्ष इङ्नाम पक्षधर । एमाले पक्षधर समूहको नेतृत्व भने अध्यक्ष हरिकृष्ण कार्कीले गर्छन् । यस समूहमा ८ जना छन् ।

हिजोको बैठकमा महासचिव पोखरेलले सुरुमै एमालेपक्षधर समूहप्रति आक्रोश पोखेका थिए । उनले भनेका थिए, ‘हामीभित्रको विभाजनमा तपाईंहरू धेरै खेल्न नखोज्नूस् । हाम्रो बहुमत छ । सहमतिको नाम छनोट गर्ने जिम्मा मलाई दिनुहोस् । त्यसलाई तपाईंहरुले समर्थन गरे सर्वसम्मति हुन्छ, नगरे हाम्रो बहुमतको प्रस्ताव स्वतः पारित हुन्छ ।’

एमाले पक्षधरले कुनै समूहलाई नाम टुंगो लगाउने भन्दा पनि बैठकमै सबै नामबारे छलफल गरी नाम टुंगो लगाउनुपर्ने अडान राखेको थियो । अध्यक्ष कार्कीले सर्वज्ञरत्न तुलाधरको नाम प्रस्ताव गरेका थिए । त्यसबारे धेरै छलफल भने भएन ।

स्रोतअनुसार, महासचिव पोखरेलको समूह शेरबहादुर केसी, प्रेमबहादुर खड्का र किशोर अधिकारीमध्येबाट प्रस्ताव गर्ने तयारीमा छ । इङ्नाम समूहमा भने बेनीबहादुर कार्की, कमलनारायण दासलगायत पक्षधर छन् । यस समूहका विनीता कार्की आफ्नै बुवा बेनीबहादुर कार्की र प्रशन्नकृष्ण दास आफ्नै बुवा कमलनारायण दासको पक्षमा छन् । आ–आफ्ना बुवालाई अघि सारेकामा यही समूहका सागर विष्ट भने असन्तुष्ट रहेको स्रोतको भनाइ छ ।
स्रोतअनुसार, बार अध्यक्ष कार्कीले डीएलएको असन्तुष्ट खेमाबाट बेनीबहादुर कार्कीको नाम बैठकमा प्रस्तुत भएमा आफ्नो पक्षले समर्थन गर्ने र डीएलएमा थप विभाजन ल्याउने कोशिसमा छन् ।


  •  
  •  
  •