‘नियमावली विपरित निमित्त प्रध्यानाध्यापक नियुक्त गरियो’

99
  •  
  •  
  •  

काठमाडौं, ११ वैशाख(ओएनएस) : काठमाडौं वानेश्वरमा रहेको रत्नराज्य माविको सञ्चालक समितिले शिक्षा नियमावली विपरित निमित्त प्रध्यानाध्यापक नियुक्त गरेको आरोप लागेको छ ।

विद्यालयमा कार्यरत मावि प्रथम श्रेणीका शिक्षक कृपाश्वर खड्कालाई वाइपास गर्दै समितिले विद्यालयमा कार्यरतमध्ये चौँथो वरियातामा रहेका जीवनप्रकाश रेग्मीलाई निमित्त प्रधानध्यापक बनाएको आरोप लागेको हो ।

असन्तुष्ट पक्षले बुधबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै प्रधानध्यापक गिता खरेल उमेरहदका कारण सेवा निवृत्त भएपछि समितिले नियमावलीविपरित निमित्त प्रअ नियुक्त गरेको बताएका छन् ।

निमित्त प्रअका दाबेदार कृपाश्वर खड्काले नियमअनुसार काठमाडौं  महानगरपालिकाले आफुलाई निमित्त प्रअको चिठी दिइसकेको र सोही चिठीअनुसार महानगरको १० नम्बर वडालेसमेत कार्यान्वयन गराउन खोज्दा जीवनप्रकाश रेग्मीले पक्षधर समितिले मनलाग्दी गरेको आरोप लगाए । महानगर र वडाले शिक्षा नियमअनुसार नै खड्कालाई निमित्त प्रअ बनाएको १० नम्बरका वडाध्यक्ष रामकुमार केसीले बताए । उनले झुटा विवरण लेखेर किर्ते काम गर्दै प्रअ नियुक्त गरिएको बताए ।

महानगरकी शिक्षा अधिकारी निर्मला केसीले खड्कालाई निमित्त प्रअ बन्नका लागि आवश्यक सबै मापदण्ड र नियम पुगेको पाइएको भन्दै १० नम्बर वडालाई पत्र पठाएकी थिइन् ।

स्थानीय निकायले गरेको नियमअनुसारको कामसमेत समितिले लागु हुन नदिएको अध्यक्ष केसीले बताए ।
बलमिच्याई गरेर समितिले अर्को व्यक्तिलाई निमित्त प्रअ बनाउनु दुःखद भएको उनको भनाइ छ ।

वडाध्यक्ष केसीले महानगरको शिक्षा ऐन केही फरक भएकाले अब कानुनविद्सँग थप छलफल गरेर अगाडि बढ्नुपर्ने बताए ।
समितिको बैठकमा २ वटा निर्णयका लागि प्रस्ताव तयार पारेर हस्ताक्षर गर्न लगाएको तर पछि ५ वटा निर्णय गरिएको केसीले बताए ।

रेग्मीलाई निमित्त प्रअ बनाउने निर्णयमा आफूले हस्ताक्षर नगरेको केसीले दावी गरे । शिक्षा नियमावलीको परिच्छेद १७ को नियम ९३ उपनियम १२ मा प्रधानध्यापकको पद खाली भएमा वरिष्ठतम् स्थायी शिक्षकलाई तत्कालका लागि निमित्त प्रअ नियुक्त गर्ने व्यवस्था छ ।

यसैबीच पाँच खाल नगरपालिकाका मेयर महेश खरेलले आफू विरुद्ध अफवाह फैल्याइएको भन्दै आपत्ती जनाएका छन् ।
आफू पनि वानेश्वरको स्थानीय बासिन्दा भएको नाताले पदस्थापनमा गएको तर कसैमाथि आफूले अभद्र व्यवहार नगरेको उनले स्पष्ट पारे ।

यसअघि खरेलको नेतृत्वमा विद्यालय पुगेको एक समुहले प्रअ नियुक्ति विवाद झन उग्र बनाएको आरोप पनि लगाइएको थियो । सोही विद्यालयका पूर्व अध्यक्ष भरत ढकालले ऐन नियम मिचेत प्रअ नियुक्ति गरिएको बताए ।


  •  
  •  
  •