सर्वोच्चको न्यायाधीशमा नियुक्त पाँच जनाले लिए सपथ

491
  •  
  •  
  •  

काठमाडौं, ८ वैशाख(ओएनएस) : सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त पाँच जनाले सपथ लिएका छन् । न्यायाधीश प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डाक्टर मनोजकुमार शर्माले राष्ट्रपति भवन शीतलनिवासमा सपथ लिएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीशहरुलाई शपथ गराएका हुन् । सपथ लगत्तै पाँचै जनाले सर्वोच्चमा पदभार ग्रहण गरेका छन् ।
संघीय संसद्को सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि शुक्रबार राष्ट्रपति भण्डारीले सर्वोच्चमा पाँच न्यायाधीश नियुक्त गरेकी थिइन् ।

उनीहरुमध्ये ढुंगाना र माथेमा उच्च अदालतको मुख्य न्यायाधीश हुन् भने रेग्मी, फुँयाल र शर्मा कानून व्यवसायी हुन् ।

प्रधानन्यायाधीश राणाले सोही समारोहमा नवनियुक्त प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई पद तथा गोपनीयताको शपथ गराएका थिए । उनी नेपाल सरकारका सचिव थिए ।

राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. शान्तराज सुवेदीबाट सोही समारोहमा उक्त आयोगका नवनियुक्त सदस्य विष्णुमाया ओझाले पद तथा गोपनीयताको शपथ लिएका थिए ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकृत र सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।


  •  
  •  
  •