भ्रष्टाचार र कालोबजारीविरूद्व नयाँ शक्तिको धर्ना

1350
  •  
  •  
  •  

naya shakti nepal dharnaकाठमाडौँ, २८ चैत(ओएनएस) : नयाँ शक्ति नेपालले भ्रष्ट्राचार र कालोबजारीका विरूद्ध तथा भूकम्पपीडितलाई राहत र पूननिर्माणलाई तिव्रता दिन माग गर्दै आज काठमाडौंमा सांकेतिक धर्ना दिएको छ ।

काठमाडौंको भद्रकालीमा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईको नेतृत्वमा बिहान १० देखि १२ बजेसम्म धर्ना दिइएको हो । धर्नामा बसेका नयाँ शक्ति नेपालका नेता एवं अभियान्ताहरुले ‘राष्ट्रिय एकता कायम गरौँ, कालोबजारी अन्त्य गर, भूकम्पपीडतलाई तत्काल राहत दिउ, महिला हिंसा अन्त्य गर, भ्रष्टचारीलाई कारवाही गर, दैनिक उपभोग्य वस्तु सहज पार, मधेश आन्दोलनका जायज माग पूरा गर, पूननिर्माणको काम छिटो गर’ लगायतका नारा लगाएका थिए ।

नयाँ शक्तिले आफ्नो पाँच ‘स’ सम्बन्धी अवधारणालाई प्रष्ट पार्न, भूकम्पपीडितको पीडा सम्बोधन गर्न, विभिन्न तह र तप्कामा भैरहेको भ्रष्टाचार कालोबजारी तथा महँगीका विरुद्ध दवाव दिन विशेष धर्ना कार्यक्रम आयोजना गरेको हो । धर्नामा बसेकाहरुले विभिन्न नारासहितका प्लेकार्ड बोकेका थिए ।

naya shakti nepal dharna1धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले मधेशको समस्या मधेशको मात्र नभई राष्ट्रिय समस्या भएको बताएका छन् । उनले मधेशमा अर्को आन्दोलनको अवस्था आउनुभन्दा अगाडि नै राज्यले अहिलेको समस्या सम्बोधन गर्नुपर्ने बताए ।

उनले सबै समुदाय एकताबद्ध भएर राष्ट्रिय एकताको वातवरण निर्माण गर्नुपर्ने आवश्कयता औल्याएका छन् । उनले कालोबजारी बन्द हुनुपर्ने, कालोबजारी नियन्त्रणका लागि सरकार गम्भीर भएर लाग्नुपर्ने, भूकम्पपीडितलाई तत्काल राहत दिनुपर्ने तथा छिटो पूननिर्माणको काम अगाडि बढाउन माग राखेका थिए ।

तस्विर ः नयाँ शक्तिको फेसबुक पेजबाट


  •  
  •  
  •