बारमा आ–आफ्नै डम्फु १७ जनाका २६ उम्मेद्वार

226
  •  
  •  
  •  

काठमाडौं २८ माघ (ओएनएस) :  न्यायपरिषद सदस्य सिफारिस गर्न हिजो बसेको नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमिति बैठक विवाद लम्बिएपछि निर्णयविहीन भयो । विभिन्न पक्षले आ–आफ्ना पक्षका नाम अघि सारेका थिए ।

नेकपा एमालेनिकट पदाधिकारीले सर्वज्ञरत्न तुलाधर, लक्ष्मीबहादुर निराला र रामप्रसाद श्रेष्ठको नाम अघि सारेका थिए । यीमध्ये श्रेष्ठ एमालेनिकट वकिलहरुको संगठन पीपीएलएका अध्यक्ष हुन् । बारमा अध्यक्ष सुनील पोखरेल, उपाध्यक्ष टीकाराम भट्टराई लगायत एमालेनिकट छन् ।

नेपाली कांग्रेसनिकट बार पदाधिकारीले व्यक्तिपिच्छे फरक नाम प्रस्ताव गरेका छन् । हिजोको बैठकमा प्रस्तुत भएका नामहरुमा यज्ञमूर्ति बन्जाडे, रामप्रसाद सिटौला, बाबुराजा जोशी, कमल नारायण दास, महादेव यादव, वसन्तराम भण्डारी र बेनीबहादुर कार्की थिए । व्यक्तिपिच्छे फरकफरक नाम प्रस्ताव भएपछि हिजोको बैठक स्थगित गरिएको थियो । बार कार्यसमितिमा कांग्रेसनिकट ९ जना छन् ।

कांगेसनिटकभित्र पनि दुई गुटगत खेमा छन् । एउटा खेमाको नेतृत्व महासचिव सुनील पोखरेलले गर्छन् भने अर्को खेमाको कोषाध्यक्ष मोहन इङनाम छन् ।

एमालेनिकट एक सदस्यका अनुसार, कांग्रेसी खेमाका पदाधिकारीलाई व्यक्तिपिच्छेका नामकोृ सूचीलाई छोट्याएर आफूहरुलाई पनि मान्य हुने नाम ल्याउन अनुरोध गरिएको छ । आज अपरान्ह डेढ बजे पदाधिकारी बैठक बस्ने र त्यसपछि मात्र पूर्ण कार्यसमिति बैठक बस्ने कार्यक्रम छ ।

कार्कीलाई कार्कीकै सिफारिस ?

harikrishna-karki
स्रोतअनुसार, बार अध्यक्ष हरिकृष्ण कार्की बेनीबहादुर कार्कीलाई अघि सार्न खोजिरहेका छन् । बेनीबहादुर तुलनात्मक रुपमा कम विवादित र दुवै पक्षका लागि मान्य हुन सक्ने बारका एक पदाधिकारीको भनाइ छ । तर, उनी उपत्यकाबाहिर मात्र वकालतको अभ्यास गरेका र वकालतमा खासै नाम नचलेका भनेर पनि आलोचित छन् । त्यसैले सक्रिय वकालत गरिरहेका कानुन व्यवसायीहरुको ‘स्पिरिट’ बुझेर न्यायपरिषदमा भूमिका खेल्न सक्नेमा शंका गर्नेहरुको कमी छैन ।

अर्का एक पदाधिकारीका भनाइमा, अध्यक्ष कार्कीले पछि आफूलाई न्यायाधीश सिफारिस गर्ने गरी बेनीबहादुरलाई अघि बढाउन खोजेका हुन् । बेनीबहादुरकी छोरी विनीता कार्की कांग्रेस कोटाबाट बारको केन्द्रीय कार्यसमिति सदस्य छन् ।

अध्यक्ष कार्कीले भने बेनीबहादुरसँग नाम जोड्नुमा अरु नै कसैको स्वार्थले काम गरेको बताए । ‘जसले मेरो नाम जोडेर कुरा गरे, तिनले मेरो नाममा खेती गरेका हुन्,’ ओएनएससँग कुरा गर्दै कार्कीले भने, ‘२६ जनाको नाम छ । त्यसमा सर्ट लिस्ट गर्न एकदमै गाह्रो छ । मेरो व्यक्तिगत चाहनाले मात्र अर्थ राख्दैन । संस्थामा सबैले मान्य हुने गरी निर्णय हुन्छ ।’

न्यायपरिषद सदस्य उपेन्द्रकेशरी न्यौपानेले राजीनामा दिएपछि न्यायाधीशको नियुक्ति काम हुन सकेको छैन । सर्वोच्च अदालतमा न्यायाधीश अभावका कारण मुद्दाको चाप अत्यधिक बढेको छ ।


  •  
  •  
  •