‘पानीमाथि ओभानो बन्न उपेन्द्रको राजीनामा’

76
  •  
  •  
  •  

photoकाठमाडौं २४ पुस (ओएनएस) :  न्यायपरिषद सदस्य उपेन्द्रकेशरी न्यौपानेले बुधबार पदबाट राजीनामा दिए । यस्तो समय पारेर दिए कि नेपाल बार एसोसिएसनले न्यायपरिषदले न्यायाधीश नियुक्ति प्रक्रिया न्यायाधीश पद र कानुन व्यवसायीको मानमर्दन गर्ने तरिकाले आएको भन्दै असन्तुष्टि जनाएको थियो ।

बारले मंगलबार मात्र प्रधानन्यायाधीश रामकुमारप्रसाद साहलाई लिखित स्मरणपत्र बुझाएको थियो । बारबाटै सिफारिस भई नियुक्त भएका न्यौपाने बारको असन्तुष्टिपछि फिर्ता हुनु स्वाभाविकै हो । बारले उनको व्यावसायिकता र इमानदारितामा प्रश्न उठाइसकेपछि नैतिक रूपमा पनि उनले त्यो पद त्याग्नु जरुरी थियो । बारले प्रश्न उठाएकै भोलिपल्टै राजीनामा दिए ।

अब प्रश्न उठ्छ, के न्यौपानेले नैतिकताको दबाब महसूस गरेर नै राजनीनामा दिएका हुन् त ? उनले यसबीचमा केके गरे ? को हुन् न्यौपाने ?
यसपालि बारको पत्र आउनेबित्तिकै राजीनामा दिने न्यौपानले विगतमा सर्वोच्च अदालतमा आठ न्यायाधीश नियुक्ति प्रकरणमा किन दिएनन् ? नेपालको न्यायिक इतिहासमै सर्वाधिक विवादग्रस्त न्यायपालिका उनकै पालामा भयो ।

उनकै कामबाट भयो । सर्वोच्च अदालतका इजलासबाट कारवाही गर्नू भन्ने आदेशको अपव्याख्या गरी कार्यक्षमताको अभाव ठहरिएका न्यायाधीशलाई चोख्याउने काम भयो । यति मात्र होइन, न्यायपालिकाभित्र रहेका काबिल, क्षमतावान् र स्वच्छ छवि भएका न्यायाधीशहरुलाई छानीछानी पाखा लगाउने काम भयो । त्यतिखेर उनले किन राजीनामा दिएनन् ?

संसदीय समितिका बहुमत सदस्यहरूले न्यायपरिषदको निर्णयको विरुद्धमा मत दिँदा उनको नैतिकता कहाँ गएको थियो ? उनले सिफारिस गरेका न्यायाधीशहरु बल्खु दरबारमा शपथ लिन जाँदा उनको नैतिकता कहाँ गएको थियो ? उनले सिफारिस गरेका न्यायाधीशले बलात्कारीलाई उन्मुक्ति दिँदा नैतिकता कहाँ गएको थियो ? सिंगो बार, नागरिक समाज र न्यायिक जगतले छिःछिः भन्दा उनी कुन नाकले ‘हामी संसदप्रति होइन, सीधै संविधानप्रति उत्तरदायी हुन्छौँ’ भनिरहेका थिए ? त्यतिखेर बारको विरोधले उनलाई किन नैतिक दबाबमा पारेन ? गर्नुसम्म गरेर अहिले पानीमाथिको ओभानो बन्नका लागि उनी भन्दै छन्, बारको बेहोरा अवगत भयो र त्यसैले राजीनामा दिएँ ।

अहिले किन दिए राजीनामा ?

दामोदरप्रसाद शर्मा न्यायपरिषद अध्यक्ष हुँदा उनका लागि अनुकूल वातावरण थियो । उनीजस्तै वकालतमा काम नपाएका, नेताहरूका घरदैला गर्दै कानुन व्यवसायको प्रमाणपत्र पुरानो हुँदै गरेका र वृत्तिविकासको अवसर खोज्दै न्यायपरिषद पुगेका एमाले कार्यकर्ता खेमनारायण ढुंगाना सदस्य थिए । उपेन्द्रकै तालुक पार्टीका कानुनमन्त्री नरहरि आचार्य सदस्य थिए, छन् । पछिल्लो समय न्यायपरिषदको संरचना फेरिएको छ । न्यौपानेको प्रभाव कम हुँदै गएपछि उनलाई छटपटी सुरु भएको थियो ।

हरेक कुरामा ढुंगाना र न्यौपाने अल्पमतमा पर्दै आएका थिए । कानुन मन्त्री आचार्यको नूर यसरी गिरेको छ कि उनले गम्भीर कुरा उठाउँदा पनि अरुले हाँसोमा उडाउने स्थिति बनेको छ । प्रधानन्यायाधीश साह र अर्का वरिष्ठतम न्यायाधीश कल्याण श्रेष्ठको स्वभाव मिल्छ । उनीहरु दुवै आँटिला र निर्णय लिन सक्ने क्षमताका कारण चिनिन्छन् । अक्सर सहीलाई सही र गलतलाई गलत भन्न सक्ने सामथ्र्य राख्छन् । उनीहरुका अगाडि ढुंगाना र न्यौपानेको हैसियत रुझेको मुसोजस्तो हुन थालेको न्यायपरिषद स्रोतको भनाइ छ ।

अर्कोतर्फ न्यौपानेको कार्यकाल आगामी जेठमा सकिँदै छ । गर्नुसम्म गरिसकेपछि, खानुसम्म खाइसकेपछि जागिरका अन्तिम दिनमा आफूले भनेजस्तो नहुने भएपछि न्यौपानेले चलाखीपूर्वक राजीनामा दिएका छन् । यो राजीनामाले बारको समर्थन र सहानुभूति पनि पाइने, पानीमाथिको आभानो पनि भइने उनको आकलन हुन सक्छ ।

न्यौपाने आफै पनि सर्वोच्च अदालतमा न्यायाधीश बन्न लालायित व्यक्ति हुन् । दामोदरप्रसाद शर्मा छँदै उनले त्यसको लागि वातावरण बनाउन लागिपरेका थिए । तर, त्यो सम्भव नभएपछि उनी सर्वोच्चमा न्यायाधीश नियुक्ति रोक्ने र प्रक्रियालाई बिथोल्ने उपायतिर लागेका थिए । शर्मा प्रधानन्यायाधीश छउन्जेल उनी यस उपायमा सफल पनि भए ।

साह आएपछि जसरी पनि न्यायाधीश नियुक्त गर्नतिर लागे । सर्वोच्चमा बढ्दो मुद्दाको चापका कारण साह छिटोभन्दा छिटो न्यायाधीश नियुक्तिको प्रक्रिया टुंग्याउने पक्षमा छन् । तर, न्यौपाने यो प्रक्रिया बिथल्न र लम्ब्याउन नै उद्यत रहेको स्रोतको दाबी छ । त्यसैले उनले यसबीचमा दोहोरो भूमिका पनि खेले ।

न्यायपरिषद बैठकमा बसेर उनले बारलाई चिढ्याउने प्रकृतिको निर्णय गराए । बाहिर गएर उनले यो त सर्वोच्चबाटै खारेज भइसकेको प्रक्रिया ब्यूँताउने काम भयो, के हेर्दै छ बार भन्ने शैलीमा हल्ला गर्न थाले । यसबारे साह मात्र होइन, बार पदाधिकारी पनि राम्रैसँग जानकार छन् । केहीअघि न्यौपानेले आफूनिकट पत्रकारहरूसँग पनि न्यायपरिषदविरुद्ध बारलाई उचाल्न न्यायाधीश उम्मेदवारको रोस्टरका लागि माग गरिएको विवरण पुरानै प्रकृतिको दरखास्त र मापदण्ड ब्युँतिएको बताएका थिए । उनकै भनाइमा लागेर बार महासचिव सुनील पोखरेलले समेत प्रधानन्यायाधीशले आफूलाई समय नदिएको भन्दै मिडियाबाजिमा लागेको सर्वोच्चको बुझाइ थियो ।

न्यौपानेले जानीजानी सर्वोच्चसँग बारको सम्बन्ध बिगार्न खोजेको सुइँको पाएपछि बार पदाधिकारी र प्रधानन्यायाधीश साहबीच सद्भावना वार्ता सम्पन्न भएको छ । साहले पनि बारलाई विश्वासमा लिन वरिष्ठतम न्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा कानुन संकायका डिन र बार अध्यक्ष रहने सहजीकरण संयन्त्रलाई क्रियाशील बनाउने वचन दिएका छन् । यो प्रकरणको सुरक्षित अवतवरण गर्न बार र न्यायिक नेतृत्व सक्षम भएपछि अब चाँडै न्यायपरिषद सदस्य नियुक्त भई न्यायाधीश सिफारिस प्रक्रिया अघि बढ्ने विश्वास लिइएको छ ।

को हुन् उपेन्द्र

खुमबहादुर खड्का र गोविन्दराज जोशी शक्तिमा छँदा खेलकूद परिषद, समाज कल्याण परिषद र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका विभिन्न परियोजनामा राजनीतिक नियुक्ति खाँदै आएका उपेन्द्र वकालतको क्षेत्रमा खासै नाम चलेका वकिल होइनन् । खड्का र जोशीका भ्रष्टाचार सम्बन्धी मुद्दामा भने उनले वकालत मात्र गरेनन्, मुद्दाका अरु व्यवस्थापन र सहजीकरण पनि गरे ।

खड्का, जोशी लगायत ठूल्ठूला भ्रष्टाचारका आरोपीहरुलाई सफाइ दिने र अरु न्यायिक सुविधा प्रदान गर्ने न्यायाधीशलाई सर्वोच्च अदालतमा छानीछानी प्रधानन्यायाधीश बन्ने रोलक्रममा राख्न सफल भए । अब उनी आफूलाई सर्वोच्चमा जाने अनुकूल वातावरणको खोजीमा छन् ।

उनलाई न्यायपरिषदमा सिफारिस गर्ने पनि कांग्रेसका खुमबहादुर पक्षकै वकिल प्रेमबहादुर खड्का थिए ।

न्यायाधीश नियुक्ति : पहिलो गाँसमै ढुङ्गा


  •  
  •  
  •