कैलाली, १३ भदौ : कैलालीको सदरमुकाम धनगढीमा व्यापार गर्दै आएका एकजना भारतीय नागरिकविरुद्ध नक्कली नागरिकता बनाएको उजुरी परेपछि स्थानीय प्रशासनले छानबिन सुरु गरेको छ । भारतीय नागरिक राजेन्द्र गुप्ताले २०४१ सालमा जिल्ला प्रशासन कार्यालय कैलालीबाट जन्मको आधारमा नागरिकता बनाएको उजुरी परेपछि छानबिन सुरु गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले जानकारी दिए ।
गुप्ताविरुद्ध परेको उजुरीका आधारमा प्रारम्भिक छानबिन गर्दा जिल्ला प्रशासनमा कुनै प्रमाण फेला नपरेको र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाइएको प्रमुख जिल्ला अधिकारी लेखकले बताए । गुप्ताविरुद्ध उजुरी परेपछि सक्कली प्रमाणसहित सम्पर्कमा आउन पटकपटक निर्देशन दिए पनि कुनै चासो नदिएकाले गत ८ गते उनलाई पक्राउ गरिएको थियो । तर राजनीतिक दल र केही स्थानीय पत्रकारहरुले उनलाई छोड्न दबाब दिएपछि सोही दिन धरौटीमा रिहा गरिएको थियो ।