राष्ट्रिय एकता दिवस नमनाए मुलुकको अस्तित्व संकटमा

179
  •  
  •  
  •  

EKATA DIBASHकाठमाडौं, ३ पुस : पृथ्वीनारायण शाह स्मृति प्रतिष्ठानले पृथ्वीनारयण शाहले नेपाल एकिकरण गरेको दिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा पूर्नस्थापना गर्नुपर्ने माग गरेको छ ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै प्रतिष्ठानले नेपाल एकिकरण गरेको दिनलाई राष्ट्रिय एकता दिवसको रूपमा नमनाए देशको राष्ट्रिय अस्तित्व नै संकटमा पर्ने जनाएको छ ।

प्रतिष्ठानका संयोजक भरत बस्नेतको सभापतित्वमा आयोजित अन्तरक्रियामा राप्रपा नेपालका महामन्त्री चन्द्र बहादुर गुरुङले नेपाललाई एकताको सूत्रमा बाँध्न पृथ्वीनारायण शाहले महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै उनको सम्मानमा राष्ट्रिय एकता दिवस मनाउन सम्पूर्ण राष्ट्रवादी शक्तिहरू एकजुट हुनुपर्ने बताए ।

गुरुङले राष्ट्रलाई एकजुट पार्ने व्यक्तिका मूर्तिहरु ढाल्ने कार्यले राष्ट्रको अस्तित्व नै समाप्त हुने चेतावनी दिँदै गुरुङ्ले नेपाल सरकारले राष्ट्रिय एकता दिवस मनाउन हिचकिच्चाहट गर्न नहुने बताए ।

उनले फरक प्रसंगमा प्रमुख राजनीतिक दलहरुले माघ ८ गते संविधान जारी गर्छौं भनेर जनतालाई झुक्याउने काम गरेको भन्दै अझैपनि संविधानसभाबाट संविधानजारी नहुने भएकाले जनमत संग्रहमा जानुको विकल्प नभएको स्पष्ट पारे ।

इतिहासविद्, सिमाविद् एवम् प्राज्ञिक व्यक्तिहरूले पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरेको दिन पुस २७ गतेलाई राष्ट्रिय दिवसको रुपमा पूर्नस्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।

पूर्वशिक्षामन्त्रि डा. मोदनाथ प्रश्रितले नेपालका राजनीतिक दलहरूले क्षणिक स्वार्थका लागि राष्ट्र नै छिन्नभिन्न पार्ने काम गरेको उल्लेख गर्दै अब एकजुट भएर सबै दलले पृथ्वीनारायण शाहले एकिकरण गरेको दिनलाई पूर्नस्थापना गर्नुपर्ने बताए ।

प्रश्रितले नेपाल गणतन्त्र राष्ट्र घोषणा भएपछि राष्ट्रिय एकता दिवस नमाउनु अत्यन्तै दुःखदायी भएको उल्लेख गर्दै त्यसो गर्नु भनेको राष्ट्र एकिकरणका लागि महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिलाई अपमान गर्ने काम भएको गुनासो पोखे । उनले भने, ‘नेपालमा त पश्चिमाहरुको लहैलहैमा लागेर धर्मनिरपेक्षता घोषणा गरियो, यो नेपाल र नेपालीहरुको पहिचानको लागि दूर्भाग्यपूर्ण कुरा हो ।’ उनले राष्ट्रिय एकता र अखण्डताको लागि सबै मिलेर अघि बढ्नुपर्ने सुझाव दिए ।

सिमाविद् बुद्धिनारायण श्रेष्ठले नेपालको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको संरक्षण गर्न पृथ्वीनारायण शाहको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै राष्ट्रिय एकता दिवस मनाउनु पर्नेमा जोड दिए ।

श्रेष्ठले शाहले तत्कालिन समयमा पनि नेपालको भौगोलिक सूरक्षामा अत्यन्तै संवेदनशील रहेको तर्क गर्दै भने, ‘अंग्रेजलाई उत्तर बढ्न नदिनु, दक्षिणको बादशाह चतुर छ, उत्तरको मुलुकसँगको सम्बन्ध मजबुद बनाउनुपर्छ, विदेशी महाजनलाई रसुवागढीबाट अगाडि बढ्न नदिनु भनेका छन् त आजका महाजनहरु नेपालमा पीटिए र पीडिए गर्ने भैसके, के यसले हाम्रो राष्ट्रिय हित गर्छ, अब सोच्ने बेलाआएको छ ।’

शाह नभएको भए यतिबेला नेपालीहरू बंगालीबाबु, विहारी दादा हुने थिए भन्दै श्रेष्ठले पृथ्वीजयन्ती मनाउनु भनेको उनको भनाईलाई व्यवहारमा ढाल्नु हो र नेपाल राष्ट्रलाई विकासको बाटोमा हिँडाउनु भएको स्पष्ट पारे ।

ईतिहासविद् डा. रमेश ढुँगलेले यतिबेला अवस्था अत्यन्त अनुकुल भएको तर्क गर्दै विगतमा नेपाली काँग्रेस र नेकपा एमालेले गरेको गल्ती सच्याउने उपयुक्तअवसर भएकाले हिम्मतका साथ राष्ट्र निर्माताको सम्मानका लागि पनि पृथ्वीजयन्ती मनाउनुपर्ने बताए ।

ढुंगेलले राष्ट्रलाई राष्ट्रिय पर्व बिहिन बनाउन नहुने भन्दै सरकारले उक्त एकिकरणको दिनलाई फेरी पनि राष्ट्रिय पर्वको रूपमा घोषणा गर्न माग गरेका छन् । उनले भने, ‘ राष्ट्रिय दिवस हुन सकेन भने लज्जास्पद हुन्छ, त्यसैले राष्ट्र निर्माताका सम्झनामा आँट गर्नको लागि हामी राजनीतिक दलहरूलाई समेत अपिल गर्दछौं ।’ उनले यस विषयमा एमाओवादी पनि सकारात्मक रहेको उल्लेख गर्दै भने, ‘फाट्टफुट्ट एमाओवादीका नेताहरुले यस विषयमा धारणा राखेका छन्, उनीहरूले संस्थागत रूपमा वक्तव्यमात्रै जारी नगरेका हुन् ।’

अर्का ईतिहासविद् डा. सुरेन्द्र केसीले नेपालको अस्तित्व जोगाउन सबैभन्दा बढि योगदान शाहले गरेको चर्चा गर्दै भने,‘ईस्ट इण्डिया कम्पनीले भारतलाई सिध्याउँदै नेपाललाई पनि त्यही रुपमा बिस्तार गर्ने योजनामा थियो तर त्यसलाई शाहले असफल तुल्याईदिए, जतिबेला कार्लमाक्र्स पनि जन्मिएका थिएनन् ।’

केसीले अहिलेका राजनीतिक दलहरुले धर्मको प्रयोग गरेर राष्ट्रिय एकता खलबल्याएको तर त्यतिबेला पृथ्वीनारायण शाहले धर्मलाई राष्ट्र एकताको माध्यम बनाएको बताए । उनले भने,‘शाहको जन्मजयन्ती नमनाउनेहरू अराजक एवम उदण्ड हुन् ।’

विपी चिन्तन प्रतिष्ठानका अध्यक्ष हरिबोल भट्टराईले शाहले नेपालको एकीकरणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै नेपाललाई बनाएर नेपालीहरुको स्वभिमान जोगाउने व्यक्तिको जन्मजयन्ती मनाउनुपर्छ भनेर बहस गर्नुपर्ने दिन आउनु दुर्भाग्य भएको गुनासो पोखे ।

भट्टराईले भने, ‘हामी पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा पुर्नस्थापना गर्न बाध्य बनाउनेछौं ।’

त्यस्तै, विश्वहिन्दु महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुनप्रसाद बास्तोलाले धर्मनिरपेक्षताको नाममा नेपाललाई पश्चिमाहरूले प्रयोगशाला बनाउने काम गरेकोमा आपत्ति जनाउँदै यस्तै रुपमा अघि बढ्ने हो भने नेपाल क्रिमिया बन्न समय नलाग्ने समेत चेतावनी दिए । उनले सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेलगायतका दलहरूले अघि सारेको सातप्रदेशको अवधारणामा रातो घेरा देखिएको आशंका व्यक्त गरे । उनले पनि शाहको जन्मजयन्ती मनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताए ।


  •  
  •  
  •