काठमाडौ, १५ मंसिर(ओएनएस) नेकपा एमालेले राष्ट्रिय सरकार गठनका लागि औपचारिक प्रस्ताव गरेको छ । आज मधेषी मोर्चासँग बसेको बैटकमा एमालेले पहिलो पटक औपचारिक रूपमा राष्ट्रिय सहमतिको सरकार गठनको औपचारिक प्रस्ताव राखेको हो ।
बैठकपछि एमाले वरिष्ठ नेता झलनाथ खनालले मोर्चासँग माघ ८ गते अगाडि नै राष्ट्रिय सहमतिको सरकारको गठन गर्ने औपचारिक प्रस्ताव राखिएको जानकारी दिएका छन् । उनले माघ ८ अगाडि नै राष्ट्रिय सरकार गठन भए संविधानका विवादित विषयहरूमा पनि सहमति गर्न सहज हुने पत्रकारहरुसँगको कुराकानीमा बताएका छन् ।
एमालेको उक्त प्रस्तावमा मधेषी मोर्चा पनि सकारात्मक देखिएको छ । मधेषी मोर्चाले पनि सहमतिको राष्ट्रिय सरकार चाहेको बताउँदै यसका लागि थप छलफल अगाडि बढाउनुपर्ने बताएको छ । यसले दलहरूबीच विश्वासको वातावरण सिर्जना हुने मोर्चाको भनाई छ ।
दुई दलबीच आगामी १९ गते पुनः बैठक बस्ने सहमतिसहित बैठक सम्पन्न भएको बैठकमा सहभागी मोर्चाका एक नेताले बताए ।