आज १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस

388
  •  
  •  
  •  

काठमाडौं, २४ फागुन(ओएनएस) : आज १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस नेपालसहित विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ ।

हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ । यस वर्षको महिला दिवसको नारा ‘लैंगिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार’ दिइएको छ ।

दिवसका अवसरमा नेपालमा पनि विविध कार्यक्रमहरु आयोजना गरिँदैछ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले आज बिहान भृकुटीमण्डपबाट बिहान ७ बजे र्यालीको आयोजना गरेको छ ।

यस्तै बिहान १० बजे मूल समारोह कार्यक्रम राष्ट्रपतिले उद्घाटन गर्ने कार्यक्रम छ ।

सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हड्ताल र विशाल जुलुस प्रदर्शन गरे ।

महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रुपमा ८ मार्चलाई लिने गरिन्छ ।

महिला विरुद्ध हुने असमानता र भेदभावको व्यवहार, जहाँ महिलाबाट भएको श्रमको मूल्य र पुरुषको श्रमको मूल्य बीच भिन्नता अर्थात महिलाको श्रमको ज्याला पुरुषको दाँजोमा न्यून भएको विषयलाई मध्येनजर गरी समान कामका लागि समान ज्याला, समानता, न्याय, सुरक्षा, शान्ति र विकासको लागि महिला सहभागिता प्रारम्भ गरिएको अभियानसंगै महिलाहरुको मानव अधिकार प्रति ऐक्येवद्धता जाहेर गर्ने दिनको स्मरणमा हरेक वर्ष मार्च ८ का दिन विश्वभर महिला दिवस मनाईदै आएको छ ।

सन् १७९२ मा मेरी विल्लिसटन काफ्टद्धारा लिखित अ भेन्डिकेशन अफ द राईट अफ ओमन सम्बन्धी पुस्तकमा उल्लेखित विषयवस्तुले महिलाको अधिकारका लागि र लैङ्गिक समानताका लागि आधारशीला तयार गरेको देखिन्छ । फ्रान्सको राज्य क्रान्तिका ग्रीसकी महिला लाईसिस्टाले यो युद्ध अन्त्यका लागि प्रारम्भ गरेको पहिलो महिला हडतालबाट सुरु भएको महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट प्रारम्भ भएको मानी यस दिन चिन, ब्राजिल, डोमेनिकन गणतन्त्र, संयुक्त राज्य अमेरिकाका केही महिलाहरु मिलेर महिला र पुरुषबीचको आर्थिक, सामाजिक, राजनैतिक तथा सांस्कृतिक असमानता हटाई महिला अधिकार कायम गर्न आवाज उठाएका थिए । सोही दिनको स्मरणमा प्रत्येक वर्ष मार्च ८ तारेखलाई अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालियो ।

यसपछि संयुक्त राष्ट्रसंघबाट महिला विरुद्ध हुने सवै प्रकारका भेदभाव अन्त्य गर्ने सम्बन्धी महासन्धि १९७९ जारी भएको र हालसम्म १८९ राष्ट्र यस महासन्धिको पक्ष राष्ट्र भएका छन् । यसै बीचमा ४ वटा विश्व महिला सम्मेलन भैसकेको र १९९५ मा भएको चौथो विश्व महिला सम्मेलनले लैङ्गिक विभेदका १२ वटा मुख्य सरोकारका क्षेत्रहरु पहिचान गरी सोही आधारमा हाम्रा नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन भैरहेका छन् ।

नेपालको संविधानको धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ । साथै समान अंशीय र वंशीय हकको व्यवस्था गरी लैङ्गिक समानताको सुनिश्चितता गरेको छ ।

दीगो विकासको सूचिको लक्ष्य नं. ५ मा लैङ्गिक समानता र बालिका सशक्तीकरण रहेको र उक्त लक्ष्य कार्यान्वयनका लागि सन् २०३० सम्मको कार्ययोजना बनाई कार्यान्वयन भैरहेको छ ।


  •  
  •  
  •