काठमाडौं, २२ जेठ (ओएनएस) : नास्ट र नविल बैंक लिमिटेडबीच बिहीबार नविल विज्ञान प्रविधि पुरस्कार स्थापना गर्ने सम्झौता भएको छ । सो पुरस्कार पाँच लाख रुपैयाँ राशिको हुने जनाइएको छ । उक्त सम्झौता पत्रमा नास्टका उपकुपति प्रा.डा. सुरेन्द्रराज काफ्ले र नविल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले हस्ताक्षर गरे ।
नास्टका उपकुलपति सुरेन्द्रराज काफ्लेले विज्ञान प्रविधिको क्षेत्रमा लाग्ने वैज्ञानिक तथा अनुसन्धानकर्तालाई पुरस्कारले थप सम्मान प्रदान गर्ने बताए । नविल बैंकका तर्फबाट कार्यकारी प्रमुख ज्ञवालीले पुरस्कार स्थापनाले विज्ञान प्रविधिको क्षेत्रमा थप जग बसाल्ने बताउदैँ जनचेतना अभिबृद्धि तथा वैज्ञानिकलाई सम्मान पुग्ने विश्वास व्यक्त गरे ।
नेपालका वैज्ञानिकहरुको सृजनात्मक क्षमताको विकास गरी उच्चस्तरीय वैज्ञानिक तथा प्राविधिज्ञको विकासमा मद्दत पुर्याउने उद्देश्यले प्रदान गरिने नविल विज्ञान प्रविधि पुरस्कार कार्यक्रमको कार्यान्वयन नास्ट र नबिल बैंक लिमिटेड, काठमाण्डौबीच सम्झौता भयो । विज्ञान प्रविधिको क्षेत्रमा उत्कृष्ट मौलिक योगदान पुर्याएका व्यक्तिलाई निजका प्रकाशित कृति, अनुसन्धान तथा आविष्कारबाट समाजमा चेतना जगाई देश विकासमा टेवा दिने तथा समसामयिक समस्यालाई सफलता पूर्वक समाधान गर्ने कार्यमा उत्कृष्ट योगदान दिएको कुनै एक विधामा सफल अनुसन्धानकर्ता वा विशेष योगदान दिएका नेपालीलाई पुरस्कारको प्रदान गरिनेछ ।