संसदबाट हराएका यी खेलाडी, जसलाई संसद्ले गर्दैछ ‘मिस’

201
  •  
  •  
  •  

काठमाडौं, २७ फागुन : अहिलेको संसदमा पुराना दुई अनुभवी राजनीतिज्ञ छैनन्। नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई संसदमा ‘मिस’ गरिएको छ।

बिजुक्छे पाँचपटक सांसद भए, सरकारमा कहिल्यै सहभागी भएनन्। केसी सामान्य जीवनशैली र सत्तापक्षमाथिको खरो प्रस्तुतिका कारण अघिल्ला संसदमा चर्चामा रहन्थे।

यसअघिको केपी ओलीनेतृत्वको सरकारमा उनी उपप्रधानमन्त्री बनेका थिए। यस्तै २०७० सालको संविधानसभा चुनावमा प्रत्यक्षतर्फ एक सिट नजिते पनि समानुपातिकबाट २५ सिट जितेको राप्रपा (तत्कालीन राप्रपानेपाल) का अध्यक्ष कमल थापा पनि संसदबाहिरै छन्।

पार्टीले एक सिट जिते पनि उनी भने संसद् प्रवेश गर्न सकेनन्। संविधानसभाका दुवै निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट नजिते पनि राजनीतिक अंकगणितको राम्रो लिनेमा पर्छन्, मालेका महासचिव सीपी मैनाली उनीपनि यसपटकको संसदमा प्रवेश पाएनन्। जसको दल सकियो तर पद जोगियो एक–दुई सिट हुँदा पनि अघिल्ला संसद्मा केही चल्तीका सांसदको तत्कालीन पार्टी अस्तित्वविहीन बने पनि आफ्नो पद जोगाएका छन्। ठूला पार्टीमा प्रवेश गरेर उनीहरू अहिले पनि सांसद बनेका छन्।

अखण्ड नेपाल पार्टी गठन गरेर दोस्रो संविधानसभामा समानुपातिक सांसद बनेका कुमार खड्का पुष्पकमल दाहालनेतृत्वको सरकारमा महिला, बालबालिकामन्त्रीसमेत बने। यसपटकको निर्वाचनमा ‘थ्रेसहोल्ड’ लागू भएपछि निर्वाचनअघि नै उनी कांग्रेस छिरे र आमन्त्रित केन्द्रीय सदस्य बने। अहिले प्रदेश ४ को सांसद पनि छन्। संसदीय दलको नेतामा दाबेदारी गरिरहेका छन् ।

सद्भावना आनन्दीदेवीका तर्फबाट पहिलो संविधानसभामा समानुपातिक सांसद सरिता गिरी बाबुराम भट्टराई नेतृत्वको सरकारमा श्रममन्त्री बनिन्, तर बर्खास्तीमा परिन् । आनन्दीदेवीपछि श्यामसुन्दर गुप्तासँगै पार्टीमा सक्रिय रहिन्। गुप्तासँग पनि विवाद भएपछि उनले नेपाल सद्भावना पार्टी गठन गरिन्। दोस्रो संविधानसभामा चुनाव पनि लडिन्, तर जितिनन् । ०७१ फागुनमा अनिल झाको संघीय सद्भावना पार्टीसँग एकता गरेर सह–अध्यक्ष भइन्।

त्यसपछि अनिल झाले कानुन विपरीत काम गरेको भन्दै अदालतसम्म पुगिन्। तर, मुद्दा नुटुंगिदै उनी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा पुगिन्। खस आर्य कोटाको पहिलो नम्बरमा समानुपातिकतर्फ सिफारिस भएकी उनी अहिले प्रतिनिधिसभामा सांसद् छिन्।  –अन्नपूर्ण पोस्टमा खबर छ।


  •  
  •  
  •