‘युवा संघमा हुकुम प्रमांगी र पाँडे पजनी’

168
  •  
  •  
  •  

naresh kumar shahiआज केही साथीहरु अल्फा बिटा कम्प्लेक्समा भेला भइरहेका छन् । नाम दिइएको छ, केन्द्रीय कमिटी बैठक । तर, हामी उल्लेख्य संख्याका निर्वाचित पदाधिकारी, केन्द्रीय कमिटी सदस्य, शुभेच्छुक, समर्थकहरू बानेश्वरको अर्याल होटलमा छौँ ।

यसरी बेग्लाबेग्लै भेला नहुने भनेर कसम खाएर महाधिवेशनबाट आएका थियौँ । निकै प्रयास गरेका पनि हौँ, सँगै बस्न । एकमतले निर्णय गर्न । एकसाथ पार्टीको पक्षमा क्रियाशील बन्न । तर, सांगठनिक जीवनमा पद्धतिसंगत ढंगले चल्न खोज्ने र मनमौजी ढंगले संगठनलाई चलाउन खोज्नेबीचको द्वन्द्व सधैँ भइरहने रहेछ । अल्पमत र बहुमतको हिसाब गर्दा कहिले कता होला, कहिले कता । त्यो बेग्लै कुरा छ ।

अन्य कुराहरु यथावत् रहेको अवस्थामा हाम्रो केन्द्रीय कमिटी बैठक आगामी चैत ६ गते बस्नुपर्ने थियो । चैत ६ भन्दा ढिलो बस्नुभन्दा अगाडि नै बस्नु झनै उत्तम मान्न सकिन्थ्यो । हाम्रो संगठन कति क्रियाशील छ, कति ऊर्जावान् छ भन्ने पनि देखिँदो हो, सायद । तर, आजका घडीमा हाम्रो क्रियाशीलता र ऊर्जाशीलता ठीक उल्टो दिशामा गइरहेको छ । हाम्रो संगठनलाई गतिहीन, द्वन्द्वग्रस्त र जालझेलको अखडा बनाउन लागिएको छ

माघ २१ मा हाम्रो स्थायी कमिटीको बैठक बस्यो । स्थायी कमिटी भनेको पदाधिकारीहरूको समूह हो । यो नित्तान्त प्रशासनिक इकाइ हो । यसलाई हामीले कामकाजी हो, कार्यकारी होइन भन्ने गरेका छौँ । तर, नेतृत्वमा शक्तिको उन्माद पलाएपछि कसको के लाग्छ ? पदाधिकारीहरू नै सबथोकको निर्णायक हुन् भन्नेमा पुग्यो ।

हाम्रा जुझारु अध्यक्ष महेश बस्नेतले त्यही बैठकमा राजीनामा दिनुभयो । अध्यक्ष पद खाली भयो । अध्यक्षले दिनुभएको राजीनामाकै आधारमा टेकेर उपाध्यक्ष झपट रावलजीले पनि राजीनामा गर्नुभयो । यी दुवै निर्णय त्यागका नमूना थिए । यसरी उदात्त भावनाका साथ खाइपाइ आएको पद, शक्ति र सुविधा त्याग्ने प्रचलन आजसम्म कुनै संगठनमा बस्न सकेको पाइएको थिएन । त्यसको सुरुवात हाम्रो संगठनबाट भयो भन्ने हामीलाई लागेको थियो । संगठनलाई राम्रै योगदान गरेर यो उचाइसम्म पुर्याएका कमरेडहरूलाई विदाइ गर्नुपर्दा मनमा एकप्रकारको पीडाबोध त हुँदो हो । तर, हाम्रो संगठनले एउटा उदाहरण पेस गर्न गइरहेको थियो । अब हामी कुनै पनि मञ्चमा गएर भन्न सक्ने भएका थियौँ, हामीबाट सिक ।

तर, यथार्थ त्यो भइदिएन । कमरेडहरूले ठान्नुभयो, मैले त्यागेको पद अरुलाई होइन, मेरै मनले खाएका व्यक्तिले मात्र पाउनुपर्छ । मैले जेजे भन्यो त्यही कुरा यो संगठनमा चलिरहनुपर्छ । विधि, विधान र पद्धतिका कुरा भर्सेला परोस् ।

हाम्रो विधानले भन्छ, एउटा महाधिवेशनदेखि अर्को महाधिवेशनको बीचमा सर्वोच्च निकाय केन्द्रीय कमिटी कार्यकारी र नेतृत्वदायी हुनेछ । संगठनको जीवनमा एउटा दूरगामी छाप छाड्ने महत्वपूर्ण निर्णय हुँदै । त्यो निर्णयको साक्षी सिंगो निर्वाचित कमिटी हुन किन नपाउने ? नयाँ आउने अनुहार महाधिवेशन र निर्वाचित अरु केन्द्रीय सदस्यहरूले किन पहिल्यै थाहा नपाउने ? जोजो व्यक्ति, जहाँजहाँबाट टिपेर ल्याए पनि कम्तीमा ती निर्वाचित केन्द्रीय सदस्यहरूले शपथअगाडि चिनजानको मौका त पाउनुपर्यो नि । बस्, यसैमा महाभारतजस्तो हुन पुग्यो । आज सबै रमिता हेरिरहेका छन् । हामी आफैमा रस्साकस्सी गरिरहेका छौँ ।

निरु पाल केन्द्रीय अध्यक्ष हुनै नहुने होइन । उहाँ लायक हुनुहुन्छ । गोविन्द थापा, सरोजदिलु विश्वकर्मा, माधव बाँस्तोला, प्रभात कटुवाल माथि जानै नहुने होइन । उहाँहरुको पनि योगदान उल्लेख्य छ । व्यक्तिगत रुपमा सबै योग्य र क्षमतावान हुनुहुन्छ ।

तर, उहाँहरु लायक हुनुहुन्छ भन्दैमा त्यो ठाउँमा पुग्नका लागि कुनै प्रक्रिया हुँदैन ? त्यसमा संगठनका मूल्य, मान्यता, समावेशात्मकता, विविधता र न्यायका कुरा हुँदैनन् ? हाम्रो प्रश्न यत्ति मात्र हो ।

हामी त महेश बस्नेतजीलाई प्रधानमन्त्रीकै लागि योग्य ठान्छौँ होला । तर, के उहाँ आजै प्रधानमन्त्री बन्न सक्नुहुन्छ ? के सुशील कोइरालाले गगन थापा मन परे भन्दैमा आजै प्रधानमन्त्री बनाउन सक्नुहुन्छ ?

महेशजीले आफै राजीनामा दिनुभयो । आफ्नै तजबिजमा बोलाइएका र विधानले पनि नचिन्ने संरचनाबाट आफ्नो राजीनामा स्वीकृत गराउनुभयो । उहाँले नै फटाफट नाम उच्चारण गर्नुभयो, अब अध्यक्ष निरुजी । निरुको ठाउँमा गोविन्द थापा । झपट रावलको ठाउँमा सरोज दिलु विश्वकर्मा । सरोजजीको सट्टामा वचन सिंह । गोविन्दजीको सट्टामा माधव बाँस्तोला । माधवजीको ठाउँमा प्रभात कटुवाल ।

हामीलाई लागेको थियो, अध्यक्षले राजीनामा दिएपछि भन्नुहुनेछ, ‘म अध्यक्षबाट बिदा हुन्छु । अब तपाईंहरु स्वतन्त्र र विवेकसंगत ढंगले निर्णय लिनूस् । योग्य व्यक्तिलाई जिम्मा दिनूस् । विधान हेर्नूस् । साथीहरुका आकांक्षा ख्याल गर्नूस् । समावेशात्मकताका सिद्धान्त पनि विचार गर्नूस् । उचित निर्णय लिनूस् । मेरो शुभकामना छ ।’

तर, उहाँले पाँडे पजनी शैलीमा तँ आइज, तँ नआइज शैली अपनाउनुभयो । यतिसम्म कि केन्द्रीय कमिटीको बैठक डाक्न समेत उहाँ तयार हुनुभएन । यो कुनै पनि संगठनमा सह्य र सुहाउँदो हुने कुरै भएन ।

सरोज दिलु विश्वकर्मा दलितको आरक्षित सिटबाट केन्द्रीय सचिव हुनुभयो । त्यो ठाउँमा अर्को दलित सदस्य नै ल्याउनुपर्छ भन्दा उहाँहरुलाई अप्रिय लाग्न थालेको छ । विधानले भनेको छ, ‘राजीनामा दिएको, कारवाहीमा परेको, मृत्यु भएको वा मगज बिग्रेको गरी चारवटा अवस्थामा अध्यक्षको पद खाली भएको मानिने छ । त्यो पद केन्द्रीय कमिटीले छलफल गरी पूर्ति गर्नेछ ।’ तर, हाम्रा अध्यक्षले आफू राजीनामा दिने, आफैले स्वीकृत गर्ने र राजीनामा दिइसकेको कमिटीका निर्णयहरु पनि आफै गर्ने गर्न थाल्नुभयो । त्यो पनि विधानका प्रावधानहरुलाई एकएक गरी कुल्चँदै ।

पदाधिकारी आउनलाई एक कार्यकाल केन्द्रीय सदस्य हुनुपर्ने हो । त्यो पनि उहाँका हकमा मान्नु नपर्ने भयो । हुकुम प्रमांगी शैलीमा उहाँ चल्न खोज्नुभयो । राष्ट्रिय सम्मेलनका प्रतिनिधिको भावनाविपरीत संगठनमा मनलागी गर्न खोज्नुभयो ।

हामी त्यसको विपक्षमा छौँ । पार्टी अध्यक्ष, स्थायी कमिटी, अनुशासन विभागमा कारवाहीका लागि निवेदन दिएका छौँ । निर्णय नसच्याएसम्म हामी सँगै बस्न नसक्ने भएका छौँ । पद, सत्ता, शक्ति र बहुमतको दम्भ हुन सक्छ उहाँहरुमा । हामीसँग ती कुनै पनि औजारहरु छैनन् । हामी बाहुबलमा पनि विश्वास गर्दैनौँ । हामीसँग छ त केवल नैतिक बल छ । विधान, पद्धति र मूल्यहरू छन् । राष्ट्रिय सम्मेलनका प्रतिनिधिहरूको भावना छ । बस् ।

अहिले जे गर्न खोजिँदै छ, त्यो गर्नु नै छ भने विधान संशोधन गरौँ । राजीनामा दिएका अध्यक्षले जे गर्न चाहन्छन्, त्यो गर्न सक्ने प्रावधान विधानमा राखौँ । पदाधिकारी बन्नलाई केन्द्रीय सदस्य नभएको व्यक्तिलाई पनि ल्याउन सक्ने बनाऔँ । बैंक र निजी कम्पनीहरुले कार्यकारी अधिकृत र कन्सल्ट्यान्ट नियुक्त गरेजस्तो गर्न पाउने व्यवस्था गरौँ । दलितका लागि आरक्षित गरिएको ठाउँमा जोकोही आउन पाउने र उस्तै परे अध्यक्षले जस्तासुकै प्रावधान निलम्बन गर्न सक्ने व्यवस्था गरौँ । बहुमतको दम्भ छ भने यी प्रावधान राखेर विधान संशोधन गर्न प्रस्ताव गर्नुहोस् । राष्ट्रिय महाधिवेशन, युवा परिषद र विधान सम्मेलनले मात्र विधान संशोधन गर्न सक्छ । यी तीनवटै निकायमध्ये जुनसुकै बोलाए हुन्छ । ती निकायले मान्छन् भने ठीकै छ । अन्यथा हाम्रो विरोध रहिरहन्छ । किनकि, हाम्रै पालामा संगठनको जीवनमा जुन स्तरको घातक नजिर बस्दैछ, त्यसमा हामीले टुलुटुलु हेरेर वा सही थापेर बस्न सक्दैनौँ ।

(युवा संघ केन्द्रीय सचिव शाहीका यी व्यक्तिगत विचार हुन् । तपाईंहरू पनि यो बहसमा सामेल हुन सक्नुहुनेछ– सम्पादक)


  •  
  •  
  •