प्रकृतिसँगको सहकार्यमा नरेन्द्रबहादुर

273
  •  
  •  
  •  

narendra bahadur artकाठमाडौं, ८ असोज (ओएनएस)  : राजधानीको आर्ट काउन्सिल, बबरमहलमा पुग्नुभयो भने तपाईँ केही अनौठा दृश्य देख्नुहुनेछ । बच्चा जन्माउँदै गरेकी आमा, सम्भोगमा लिप्त जोडी, समाधिमा जल्दै गरेको पार्थिव शरीर आदि आदि । यी दृश्यका आविष्कारक हुन्, नरेन्द्रबहादुर श्रेष्ठ ।

चार दशक अघिदेखि काठेकलामा सक्रिय नाम हो, नरेन्द्रबहादुर श्रेष्ठ । उनले धार्मिक सांस्कृतिक मिथक, प्रकृति पर्यावरण, राजनीति, इतिहास र वैश्विक मामिलासम्मलाई काठमा कुँदेका छन् । मानवीय संवेदनाहरुलाई आकारमा ढालेका छन् । भूगोलदेखि खगोलसम्मका विषय उनले समेटेका छन् । जलचरदेखि स्थलचरका व्यवहार उनका कृतिमा अंकित छन् ।

एउटा कृतिमा सिंगो कथा अटाएका छन् । हजारौँ शब्दमा व्यक्त गर्न नसकिने कथा र व्यथाहरु उनका कृतिले बोल्छन् । केही कृतिमा उनले पौराणिक कथाहरुको पुनःपाठ प्रस्तुत गरेका छन् ।

Narendra Bahadur Shrestha Art 8
उनले महँगो र अत्याधुनिक विदेशी प्रविधि र उपकरण प्रयोग गरेका छैनन् । आफ्नै रैथाने प्रविधि विकास गरेका छन् । उनी घरेलु उपयोगका सामगीहरुबाटै रंगहरुको रचना गर्छन् । र, आफ्ना कलाकृतिको दीर्घायु र सम्भारका निम्ति पनि यस्तै घरेलु विधि अपनाउँछन् ।

उनी स्वयं भने यसलाई प्रकृतिसँगको सहकार्य ठान्छन् । उनी भन्छन्, ‘यसमा आधा प्रकृतिको योगदान छ । प्रकृतिले दिएको आकृतिलाई नबिगारीकन कलात्मक स्वरुप प्रदान गर्नु मेरो धर्म हो भन्ने म ठान्दछु ।’
उनको कला रचनाको यो शैली एवम् कौशल अद्वितीय छ । झ्याल, ढोका र फर्निचरहरुमा प्रयोग गरिने ‘काष्ठकला’भन्दा यो भिन्न छ, उनको काठेकला । काठेकला उनैले आविष्कार गरेको मौलिक नाम पनि हो । बाँस, बेत र निगालाबाट बनाइने हस्तकलाभन्दा फरक छ यो ।

Narendra Bahadur Shrestha Art 5
उनको मौलिकता भन्नु नै मान्छेले त्यागेका, बेवास्ता गरेका अझ भनौँ हेपिएका र उपेक्षा गरिएका काठका ठुटा, टुटाहरुलाई कलात्मक रुप दिनु हो । प्रकृतिबाट छेऊ लागेका, अनेकौँ हण्डर, ठक्कर खाएर नदीको बगरमा उत्तानो परेका काठदाउराहरु उनका कच्चा पदार्थ हुन् ।

Narendra Bahadur Shrestha Art 3उनी आफ्नो कलाकारिताको सेवा गर्ने नाममा जिउँदा रुख काट्दैनन् । प्रकृतिको विनाश गरेर आफ्नो नाम चम्किलो बनाउनु छैन उनलाई । एउटा कृतिका सयौँ प्रतिलिपि निकालेर मौद्रिक रुपमा मालामाल बन्नु छैन उनलाई । उनी जे बनाउँछन्, एक प्रति बनाउँछन् । जे कुँद्छन्, एकै ठाउँमा कुँद्छन् । त्यही नै उनको पहिलो र अन्तिम कृति बन्न पुग्छ । कुनै पनि कृतिको अर्को प्रतिकृति नभेटिनु उनको अर्को विशेषता हो ।

उनी ललितकलाका शिक्षार्थी होइनन् । उनको कलाचेतको केही अंश कवितामा भेट्न सकिन्छ । पेसा व्यवसायले भने निकै भिन्न विधामा छन् उनी । सामाजिक सेवादेखि विभिन्न सुधारात्मक अभियानहरुमा उनको क्रियाशीलता फुर्सदविहीन छ । सबैभन्दा बढी उनी बाँचेका छन्, परोपकारी कर्महरुमा । यो उनको जीवनको ललित पक्ष हो ।

सायद यही कारण उनको अन्तर्दृष्टिबाट यस्ता कलाकृतिहरु निर्माण हुन्छन् । अझ भनौँ उनको अन्तःचेतनाको कुनै कुनामा यस्तो रचनाकारको वास छ, जसले उनलाई ऐनमौकामा निर्देश गर्छ र उनको छिनोरुपी कुची चल्छ, चलिरहन्छ । यसको कुनै सीमा छैन ।

कलाकार श्रेष्ठका काठेकलाको प्रदर्शनी नेपाल कला परिषद्, बबरमहलमा चलिरहेको छ । ३ असोजमा सुरु भएको प्रदर्शनी ११ असोजसम्म चल्नेछ ।

Narendra Bahadur Shrestha Art 2


  •  
  •  
  •