‘भूमि सुधार बिना किसानका समस्या हल हुदैन ’

199
  •  
  •  
  •  

  काठमाडौं, १ मंसिर (ओएनएस): एकिकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको संविधानमा बैज्ञानिक तथा क्रान्तिकारी भूमि सुधारको संवैधानिक व्यवस्था नभए सम्पूर्ण मजदुर, भूमिहीन र साना किसानको समस्या हल नहुने बताए ।

सोमबार ५४ जिल्लाका भूमिहीन किसानहरुसँग गौशालास्थित वनकाली धर्मशालामा भेट्दै उनले नयाँ संविधानमा क्रान्तिकारी भूमि सुधारको व्यवस्था गर्न पहल गरिने आश्वासन दिए ।

संविधानमै जमिन राज्यको हुने व्यवस्था किटिनुपर्ने र स्वामित्व भने हकभोगको आधारमा जोताहा किसानको हुनुपर्ने उनले बताए ।
श्रेष्ठले भने,  ‘संविधानको मौलिक हकमा शिक्षा, स्वास्थ्य र रोजगारसँगै आवास र खाद्य सुरक्षा पनि सुनिश्चित हुनुपर्छ ।
भूमि सुधार गर्दा हदबन्दी लगाई बाँकी जग्गा अधिग्रहण गर्नुपर्ने र हदबन्दी बढीको जमिन भूमिहीन किसानलाई वितरण गर्नुपर्ने उनको भनाई छ ।

साथै राजनीतिक दलबीच हदबन्दी बढी जग्गाको क्षतिपूर्ति नदिने सहमति भईसकेको जानकारी दिए ।
उनले भूमिसम्बन्धी ऐन, २०२१ को छैठौं संसोधन संसदमा दर्ता भएको र त्यस विषयमा पार्टीमा छलफल गरी वेदर्तावाल मोहीको कुरा छुटेकाले उक्त विधेयक संसद्बाट पारित गर्न नदिने निर्णय भएको जानकारी गराए ।

उनले भने यदि उक्त विधेयक संसद्बाट पारित भएमा ४ लाख ५० हजार भन्दा बढी मोही परिवार जोतिरहेको जमिनबाट वेदखल हुनेहँदा त्यस विषयमा हाम्रो पार्टी लचक हुदैन  । ’

राजधानीमा आइतबारदेखि सुरु भएको संविधान भूमि अधिकार आन्दोलन आगामी मंसिर ४ गतेसम्म हुनेछ । भूमि अधिकार आन्दोलनमा देशका ५४ जिल्लाका १०८ भूमिहीन किसान प्रतिनिधि सहभागी छन् । सोमबार नेकपा एमालेकी सभासद् रञ्जना माझी श्रेष्ठले समेत भूमिहीन किसानको आन्दोलनमा प्रतिवद्धता जनाइन ।


  •  
  •  
  •