बिछोडको पीडा नसकी खप्‍न….

78
  •  
  •  
  •  

 

सन् १९७० को दशकको कुरा। दार्जिलिङको घुमपहाडमा साँझपख हिँडिरहेकी थिएँ। कसैले मलाई भन्यो, ‘काठमाडौंबाट तिमीलाई भेट्न नारायणगोपाल आएका छन्, जाऊ है?’ त्यसबेलासम्म मैले उनका केही गीत सुनेकी थिएँ। मलाई भेट्न किन आए होलान् भन्ने लाग्यो। मैले भनिदिएँ, ‘अहिले त भ्याउँदिनँ, भोलि जाउँला।’

भोलिपल्ट दार्जिलिङमा रहेको हिमालय कलामन्दिर पुगें। यही कलामन्दिरबाट मैले आफ्नो सांगीतिक गतिविधि अघि बढाएकी थिएँ। गोपाल योञ्जन हो कि कर्म योञ्जन, कसैले मलाई नारायणगोपाल चिनाइदिनुभयो। उहाँले मलाई देख्नेबित्तिकै भन्नुभयो, ‘दिलमाया, तपाईंसँग म गीत गाउँछु।’ अकस्मात् यस्तो प्रस्ताव आउँदा अप्ठ्यारो लाग्यो। मैले ‘होस् हौ’ भनें। कर्म, गोपाललगायत अरूले सम्झाए, ‘तिमीसँग गीत गाउन भनेर त्यति टाढादेखि आउनुभएको, त्यसो भन्नु हुँदैन।’
मलाई अप्ठ्यारो लागिरहेको थियो तर सबैले सम्झाइबुझाइ गरेपछि गाउन तयार भएँ। अनि कलकत्तामा गएर गीत रेकर्ड गरियो, ‘बिछोडको पीडा नसकी खप्न…।’ यो गीत असाध्यै चर्चित भयो। अहिले पनि वर्षको एकपटक दसैंमै भए पनि यो गीत रेडियोमा धेरै घन्किन्छ। यो गीत सुन्दा नारायणगोपाललाई झलझली सम्झन्छु।
नारायणगोपालजस्तो प्रसिद्ध गायक मसँग गाउन किन त्यहाँसम्म पुग्नुभयो, अचम्म लागेको थियो। संगीत क्षेत्रमा मैले नसोचेका सफलता हासिल गरेको थाहा पाएर उहाँ मलाई भेट्न पुग्नुभएको होला।
मलाई संगीतमै लागेर प्रसिद्धि कमाउँछु भन्ने थिएन। संगीत मेरा लागि सोखको विषय थियो। पछिसम्म पनि सोखकै रूपमा रह्यो। व्यावसायिक रूपमा म शिक्षिका थिएँ, अहिले अवकाश पाएँ। दार्जिलिङमा रेडियोमा बजेका हिन्दी गीत थपक्कै टिपेर गाउँथें।
यो सुनेर स्कुलकी गुरुआमा प्रभावित हुनुभएछ। मलाई कतै कम्पिटिसनमा लगेर गाउन लगाउने हुनुभयो। सुरु मा मानिनँ, त्यसमाथि नेपाली गीत आउँदैनथ्यो। ठाउँचाहिँ अहिले सम्झना भएन तर कम्पिटिसनमा गाएँ, अरू पनि गाउँदै थिए।
मैले मेरी गुरुआमाको आज्ञापालन गरिसकेकी थिएँ। मलाई त्यहाँ बस्न मन लागेन। गुरुआमालाई भनें, ‘मेरो काम सकियो, अब घर जान्छु है?’ उहाँले भन्नुभयो, ‘धत्, रिजल्ट नसुनी जानु हुँदैन।’ रिजल्ट हुँदा मेरो नाम पहिलो भनेर घोषणा भयो।
सन् १९६२ मा घुम्न काठमाडौं आएँ। पूर्वमन्त्री काजीमान कन्दङ्वाको घरमा बसेकी थिएँ। त्यहाँ नेपालका संगीतकर्मीहरूको आवत्जावत रहेछ। कसैले मलाई देखाएर यी नानी त राम्रो गाउँछिन् भनेर सुनाएको रहेछ।
मलाई शिवशंकर, पुष्प नेपाली, तारादेवीहरूसँग भेट गराइयो। शिवशंकरले भन्नुभयो, ‘रेडियो नेपालले गायन प्रतिस्पर्धा गर्दैछ, तिमीले गाउनुपर्छ।’ सुरुमा त मैले भनें, ‘अबुई म त गाउँदिनँ।’ धेरै सम्झाइबुझाइ गरेपछि गाउन तयार भएँ।
गाइसकेर घर फर्किन लाग्दै थिएँ, शिवशंकरले रोक्नुभयो, ‘रिजल्ट सुनेरमात्र जाऊ।’ त्यो दिन पनि मैले स्वर्णपदक पाएँ। दार्जिलिङ फर्किएर हिमालय कलामन्दिरमा मानवीर, नवीन बर्देवालगायत संगीतकर्मीको नजिकमा रहेर अभ्यास गर्न थालें। त्यहाँ गोपाल र कर्म पनि थिए।
त्यसबेलासम्म नारायणगोपालसँग चिनापर्ची र भेटघाट भएको थिएन। केही वर्षपछि उहाँ दार्जिलिङ आएर अकस्मात् गीत गाउने प्रस्ताव राखेपछि भेट भएको हो। उहाँसँग मैले दुईवटामात्र युगल गीत गाएँ। एउटा बिछोडको पीडा भइहाल्यो, अर्को गीत हो, ‘तिमी देख्दा रहर मलाई लागेर आउँछ।’ त्यसपछि उहाँसँग अर्को गीत गाउने अवसर जुटेन। पछिसम्म भेटघाट भने भइरह्यो। उहाँ मलाई ‘दोस्त’ भनेर बोलाउनुहुन्थ्यो। दार्जिलिङ आएको बेला ‘के छ दोस्त?’ भन्दै घरमा आइपुग्नुहुन्थ्यो।
हिमालय कलामन्दिरले आयोजना गर्ने धेरै कार्यक्रममा उहाँलाई बोलाएँ। सँगै यात्रा ग:यौं। हँसमुख स्वभावको उहाँ गोपाल, कर्मलगायत संगीतकर्मीसँग ठट्टा गर्न रुचाउनुहुन्थ्यो। हामीलाई पनि हँसाउनुहुन्थ्यो। एक दिन उहाँले हामी केही साथीलाई घुम्न जाने प्रस्ताव राख्नुभयो।
घुम्ने क्रममा हामीलाई एकछिन पर्खनु है भनेर उहाँ कतै जानुभयो। केहीबेरमै फर्किएपछि उहाँलाई हामीले कता जानुभएको भनेर सोध्यौं। उहाँले ‘एकछिन काम थियो’ भन्‍नुभयो। पछि थाहा भयो, हामीलाई पर्खाएर उहाँ आफ्नी प्रेमिका पेमलालाई भेट्न जानुभएको रहेछ। कर्म र गोपालले भने फ्यान भेट्न गएको बताएका थिए।
उहाँको जीवनको उत्तराद्र्धतिर भने धेरै भेटघाट भएन तर हाम्रो सम्बन्ध कहिल्यै बिग्रेन। उहाँसँगको सम्बन्धबारे धेरैले धेरै चर्चा गरे तर मेरो दृष्टिमा नारायणगोपाल असाध्यै मिलनसार हुनुहुन्थ्यो। उहाँका धेरै गीत म अहिले पनि दोहोर्‍याइतेहेर्‍याई सुन्छु।
(अन्‍नपू्र्ण/ कीर्तन अधिकारी ) 

 


  •  
  •  
  •  

Comments are closed.