कानुनमन्त्री एकपछि अर्को विवादमा तानिदै, नियत र भूमिका बारे प्रश्न

194
  •  
  •  
  •  

भूवन क्षेत्री

काठमाडौं ६ असार (ओएनएस) : अदालतको अपहेलना सम्बन्धि विधेयकमा राखिएको प्रावधानसँगै कानुनमन्त्री नरहरी आचार्यको नियत र भूमिका बारे प्रश्न उठेको छ । न्यायाधीश नियुक्तिको प्रकरणपछि उनी दोस्रो पटक विवादमा तानिएका छन् । आचार्य सुशील कोइराला सरकारका सबैभन्दा विवादास्पद मन्त्री बनेका छन् । सरकार गठनको छोटो समयमा विवादमा तानिने काुननमन्त्रीमा पनि उनी अग्रपक्तिमा देखिएको कानुन मन्त्रालयका एक अधिकारीले बताए । न्यायाधीश नियुक्ति प्रहरणमा पनि उनी ठूलो विवादमा तानिएका थिए । वौद्धिक र लोकतान्त्रिक नेताका रुपमा स्थापित आचार्यको पछिल्लो भूमिकाबारे कांग्रेसभित्रै प्रश्न उठ्न थालेको छ ।

विचार र अभिव्यक्तिको स्वतन्त्रता र प्रेस स्वतन्त्रताविपरीत हुनेगरी सदनमा पेस गरिएको अदालतको अपहेलनासम्बन्धी विधेयकको कानुन व्यवसायी र पत्रकारहरूले विरोध गरिसकेका छन् । स्रोतका अनुसार मन्त्री आचार्य प्रेसलाई केही कस्नुपर्ने निस्कर्षमा पुगेकाले त्यसकै परिणाममा विधेयक आएको हो । ‘उहाँ (कानुनमन्त्री) प्रेसलाई अदालतका विषयमा टाढा राख्नुपर्छ भन्ने मनसाय व्यक्त गरिरहनु भएको थियो’ उनी निकटका एक नेताले भने, ‘त्यसकै परिणाम स्वरुप यो विधेयक आएको हुनसक्छ । ’

संसदमा पेश भएको उक्त विधेयकको दफा ४ (ख) मा ‘अदालतमा विचाराधिन मुद्दाको काम, कारबाही वा निर्णयमा अनुचित प्रभाव पार्ने, अदालतप्रतिको जनआस्थामा आँच पु¥याउने, न्यायिक काम कारबाहीप्रति सर्वसाधारणमा भ्रम उत्पन्न गराउने वा यस्तै प्रकृतिका झुटा विवरण प्रकाशित गर्ने तथा विचार अभिव्यक्त गर्ने गरेमा अदालतको अपहेलना गरेको मानिने छ ’ भनिएको छ ।

यसैगरी दफा ४(घ)मा अदालत वा न्यायाधीशबाट भएको निर्णय आदेश वा अन्य कुनै कार्यलाई लक्षित गरी कुुनै भ्रमपूर्ण वा अपमानजनक आरोप वा लाञ्छना लगाउने कार्य गरेमा अदालतको अपहेलना गरेको मानिने उल्लेख छ । कानुनमन्त्रीले गरेका निर्णय प्रधानमन्त्री सुशील कोइरालाको पनि निर्णय हुने भएकाले सरकारकै नियतमा शंका गर्नुपर्ने बेला भएको नेपाल बारका उपाध्यक्ष टीकाराम भट्टराईले बताए ।

कानुनमन्त्रीले गरेको निर्णय अरु मन्त्रीले गरेको जस्तो होइन, भट्टराईले भने, यसमा प्रधानमन्त्रीको पनि समर्थन छ भन्ने स्वभाविक रुपमा बुझ्नुपर्छ । न्यायाधीशरुले आफ्ना निर्णय ढुङ्गाको लिखोट जस्तो होस् भन्ने चाहेपनि कानुनमन्त्री प्रभावमा पर्नु गम्भिर विषय भएको विश्लेषण भइरहेको छ ।

म हेर्छु ः कानुनमन्त्री
कानुनमन्त्री नरहरी आचार्यले विधेयकका विषयमा आउने टिप्पणीका आधारमा आफुले धारणा बनाउनु जरुरी नभएको बताएका छन् । उनले अभिव्यक्ति स्वतन्त्रता रोक्ने नियत आफ्नो नभएको तर केही कुरामा अदालतको मर्यादा बुझ्नुपर्नेमा आफु रहेको बताए । ओएनएसन्यूजसँग कुराकानी गर्दै मन्त्री आचार्यले भने, ‘आज दिनभरी आउने प्रतिक्रिया म पढ्छु र सुन्छु त्यस आधारमा विधेयकमा भएका प्रावधानका विषयमा थप हेर्छु केही । केही कुरा गलत भए सच्याउन सकिएला । ’

 


  •  
  •  
  •