काठमाडौं ३ पुस (ओएनएस) : नागरिकको आस्थामा एकपटक लात हानिसकेपछि लोकप्रिय व्यक्तिलाई आफ्नो पुरानो छवि पुनःस्थापित गर्न कति गाह्रो हुँदोरैछ भन्ने कुराका ताजा उदाहरण न्याय तथा कानुनमन्त्री नरहरि आचार्य बनेका छन् । जनताको माया नपाउँदा, आमनागरिकको नजरबाट गिर्दा नेताहरु केसम्म गर्दा रहेछन् भन्ने कुराका दृष्टान्त पनि नरहरि नै बनेका छन् । यति मात्र होइन, समाजले रोलमोडल ठानेका व्यक्तिहरुको आदर्श नक्कली सावित भएपछिको हविगत के हुने रहेछ भन्ने पनि नरहरिले देखाइदिएका छन् । देखिँदै छ, उनी अहिले आफ्नो छवि निर्माणका लागि पुजा बोहराका आँसुमा संवेदनाको खेती गरिरहेका छन् । सामाजिक सञ्जालमा उनका आँसुलाई गोहीको उत्कृष्ट नमूनाका रुपमा चित्रित गरिँदै छ ।
विगतमा उनले लेखेर, बोलेर प्रवाह गरेका आदर्शका उद्गारहरुको ठीक विपरीत गएपछि अझ कतिसम्मको क्षति नरहरिले बेहोर्ने हुन्, अहिले नै भन्न गाह्रो छ तर कुन दिशातर्फ उन्मुख छन् भन्नेचाहिँ आजसम्मका उनका व्यवहार र भूमिकाबाट प्रस्ट हुन्छ । त्यसका लागि नरहरिको देखिएको र नदेखिएको पाटोका प्रमुख प्रसंगहरु केलाऔँ ः
नरहरि १
सिंगो नेपाली कांग्रेस राजतन्त्रका पक्षमा सतीसाल बनेर उभिएका बेला नरहरि आचार्यले गणतन्त्रका पक्षमा आफूलाई उभ्याए । संसदीय व्यवस्था भनेको गीतामा लेखिएका सुनका अक्षर हुन् भन्नेहरुका बीचबाट उभिएर नरहरिले मुलुकको सर्वोच्च कार्यकारी अर्थात् प्रधानमन्त्रीलाई हरेक जनताले मत दिन पाउनुपर्छ भन्ने आवाज उठाए । र, जनताले त्यसरी छानेको प्रधानमन्त्रीले पाँच वर्षसम्म ढुक्क शासन गर्न पाउनुपर्छ, राजनीतिक अस्थिरता हुनुहुँदैन, तीनतीन महिनामा सरकार फेर्ने संसदीय विसंगतिको विरोध गरे । कांग्रेसमा गिरिजाप्रसाद कोइरालाको प्राधिकारविरुद्ध पनि उनले साहसपूर्वक आवाज उठाए । त्यतिखेर उनले आमनागरिकमा राम्रो छवि बनाए ।
नरहरि २
दसकौँदेखि सार्वजनिक सम्पत्तिलाई निजी पेवाजसरी उपभोग गरेका, जनतालाई सास्तीबाहेक केही नदिएका, राज्यलाई ठग्न र छल्न माहिर देखिएका काठमाडौँका सम्भ्रान्तहरुले सडक विस्तारको विरोध गरे । त्यसको नेतृत्व गरे नरहरि आचार्यले । उनले त्यतिखेर विपन्नहरु हिँड्ने पैदलमार्गको समुचित व्यवस्थाका लागि एक शब्द खर्चेनन् । पर्यावरणमैत्री र कम आय भएकाले पनि उपयोग गर्न सक्ने साइकलका यात्रीहरुका लागि सुरक्षित मार्ग हुनुपर्ने व्यवस्थाको वकालत पनि गरेनन् । अपांगका गुड्ने कुर्सी, बालबालिका, महिला, ज्येष्ठ नागरिकमैत्री सडक कसरी बनाउने भन्नेमा बहस चलाउन पनि आवश्यक ठानेनन् । केवल उनले विरोध गरे । काठमाडौँको एउटा वर्गको पक्ष लिएर उभिए । जनता र राज्य भर्सेला परोस्, विकास, व्यवस्था, सडक र संस्कार भर्सेला परोस् भन्ने शैली उनले अपनाए । काठमाडौँका जनता न हुन्, तिनै नरहरिका पक्षमा सुकिला भोटहरु खन्याइदिए ।
नरहरि ३
सरकारमा जानेबित्तिकै नरहरिले गणतन्त्रको उपहार दिए, न्यायपालिकामा सर्वाधिक विवादास्पद व्यक्तिहरुलाई छानीछानी सर्वोच्च अदालतमा न्यायाधीश बनाएर । भ्रष्टाचारका अभियुक्त पूर्वमन्त्री, पूर्वसचिव, पूर्वआईजीपी, पूर्वप्रधानमन्त्रीका सहयोगीहरुलाई एकएकगरी सुनपानी छर्केकाहरुलाई उनले सर्वोच्चमा ल्याएर पुरस्कृत गरे । सर्वोच्चकै विभिन्न इजलासले कारवाही गर्नू भन्ने आदेश समेत लत्याएर उनले न्यायाधीश बनाए । यति मात्र होइन, म न्यायाधीश हुँ भन्दै विभिन्न सहकारीको रकम नतिर्ने, उल्टै धम्काउने, थर्काउने र सर्वसाधारणको निक्षेप र सेयर रकम हजम गर्न खोज्नेलाई समेत सर्वोच्चको प्रधानन्यायाधीश बन्ने ग्यारेन्टीसहितको सिटमा ल्याइदिए । त्यो पनि प्रकाश वस्ती, केशरीराज पण्डित जस्ता काविल न्यायाधीशलाई फालेर । उनले ती न्यायाधीशलाई किन ल्याए, कसरी ल्याए र न्यायालयमा त्यसको प्रभाव के परिरहेको छ भन्ने हेर्न टाढा जानुपदैन । तिनै न्यायाधीशहरुले आफ्नोबाहेक अरुको इजलासमा पार्न नमिल्ने गरी ‘हेर्दाहेर्दै’मा राखेका मुद्दाका प्रकृतिबाट प्रष्ट हुन्छ । स्मरण रहोस्, सुरुमा नरहरिले ती न्यायाधीशको पृष्ठभूमि थाहा नभएको र न्यायपरिषद सचिवालयको प्रस्तावमा समर्थन जनाएको बताएका थिए । तर, पछि तिनै नरहरिले संसदीय सुनुवाई समितिबाट न्यायाधीशका नाम अनुमोदन गर्न भरमग्दुर प्रयास गरेका थिए । र, यो पनि स्पष्ट छ कि नरहरिले चाहेका भए न्यायपरिषदबाटै ती न्यायाधीशहरु सर्वोच्चबाट आउनबाट रोकिन्थे । उनले असहमति जनाउनु भनेको सरकारको असहमति हुन्थ्यो र प्रक्रिया अघि बढ्ने थिएन । तर, ती न्यायाधीशका पक्षमा समर्थन जुटाउन नरहरि आचार्य र न्यायपरिषद सदस्य उपेन्द्रकेशरी न्यौपाने तत्कालीन प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माको ‘कुटी’ पुगेका थिए ।
[box type=”shadow” ]हिजोसम्म देखिएका नरहरि गौण बन्दै छन् र नदेखिएका नरहरिका नयाँनयाँ अवतार एकएक गरी प्रकट हुँदै छन् ।
नरहरि एक मामुली मन्त्री मात्र होइनन् । सुशील कोइराला सरकारका प्रमुख सल्लाहकार र निर्णयकर्ता पनि हुन् ।
समाजले रोलमोडल ठानेका व्यक्तिहरुको आदर्श नक्कली सावित भएपछिको हविगत के हुने रहेछ भन्ने पनि नरहरिले देखाइदिएका छन् ।
उनी अहिले आफ्नो छवि निर्माणका लागि पुजा बोहराका आँसुमा संवेदनाको खेती गरिरहेका छन् ।[/box]
नरहरि ४
सार्वजनिक सञ्चार माध्यममा न्यायाधीश, न्यायालय र न्यायपरिषदका विषयमा आलोचनात्मक सामग्री आउन थालेपछि नरहरिले सञ्चार माध्यमको मुख थुन्न अर्को हतियार देखाए, अदालतको अवहेलनासम्बन्धी विधेयक ल्याएर । यसै त न्यायाधीशका व्यक्तिगत कमीकमजोरी औँल्याउँदा पनि ‘म नै अदालत हुँ’ भन्ने शैलीमा न्यायाधीशहरुले अवहेलनाको तरबार प्रयोग गर्दै आएका छन् । त्यसमाथि नरहरिले प्रस्ताव गरेको व्यवस्थामा स्वतन्त्र सञ्चार माध्यमको मुख नै थुन्न सकिने कडा प्रावधान राखिएका छन्, जुन सभामुख सुवासचन्द्र नेम्वा»ले सार्वजनिक छलफलको लागि आह्वान गरेका छन् ।
नरहरि ५
बलात्कार र महिला हिंसाका घटना अत्यधिक र क्रूर ढंगले बढ्न थालेपछि फासीसम्मका सजायको माग सार्वजनिक तप्काबाट भइहेको छ । तर, नरहरि विद्यमान व्यवस्थाबाट पनि सजायको मात्रा घटाउन लागिपरेका छन् । फौजदारी कसुरसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा उनले सामूहिक बलात्कारको दण्ड दुई वर्षले घटाउन प्रस्ताव गरेका छन् । नरहरि भन्न सक्छन्, यो मन्त्रालयले तर्जुमा गरेको हो, मैले त संसदसम्म पु¥याएको मात्र हो । तर, उनको यसमा नैतिक जिम्मेवारी मात्र होइन । मन्त्रालय स्रोतअनुसार, तर्जुमापछि पुरानो व्यवस्था र नयाँ व्यवस्थाको निटीगिटी सहित तुलात्मक अध्ययनको तीन महले हेरेर उनले सो व्यवस्था राख्न मञ्जुरी दिएका हुन् ।
नरहरि ६
सरकारमा देखिएको नरहरिको अर्को अवतार थप डरलाग्दो छ । बौद्धिक र लोकतान्त्रिक गणतन्त्रका अभियन्ताका रुपमा देखिएको उनको व्यक्तित्व सरकारमा पुगेपछि पूरै १८० डिग्रीको फरकमा देखिन्छ । लोकतन्त्र, विधिको शासन, शक्ति पृथकीकरण र सुरक्षा निकायमा नागरिक नियन्त्रणका व्यवस्थाप्रति पटक्कै असंवेदनशील र सरोकारहीन ढंगले उनी काम गरिरहेको देखिन्छ । हालै सार्क शिखर सम्मेलनताका उनी समेतको सरकारले नेपाली सेनालाई बर्दीसहित सडकमा उतार्ने काम ग¥यो । त्यो नेपालको संवैधानिक व्यवस्था र लोकतान्त्रिक अभ्यास, मूल्य, मान्यताको विरुद्ध थियो । सेनालाई बर्दीसहित सडकमा उतार्नु नै थियो भने सुरक्षा परिषदको सिफारिसमा संसदको अनुमति लिनुपथ्र्यो । संसदीय सर्वोच्चताको व्याख्यामा ठूल्ठूला दार्शनिक बहस छेड्ने तिनै नरहरि आज किन यतिबिघ्न आत्मकेन्द्रित र आफ्नै आदर्शका विरुद्ध गइरहेका छन् ? जिज्ञासाको विषय बनेको छ ।
नरहरि ७
नरहरि एक मामुली मन्त्री मात्र होइनन् । सुशील कोइराला सरकारका प्रमुख सल्लाहकार र निर्णयकर्ता पनि हुन् । नरहरि आचार्य र महेश आचार्यलाई कोइराला सरकारका प्रमुख दुई आचार्य पण्डिका रुपमा चिनिन्छन् । सरकारका हरेक निर्णय र कदममा मुख्यतः नरहरि प्रभावी बन्ने गरेकोमा कोइराला कोटरीभित्रै चर्को बहस छ । त्यसैले यो सरकारले गरेका राम्रा–नराम्रा कामको जसअपजसका प्रमुख भागीदार नरहरि नै हुन् । सार्वजनिक खरिद ऐनलाई चकटीमुनि पारेर सार्क–सौन्दर्यका नाममा काठमाडौँका सडकमा पैसालाई पानीसरह बगाइएको कुरा आज अख्तियारको छानबिनको विषय बनेको छ । यो सरकारका प्रमुख मन्त्री मात्र होइन, विधिको शासनको कुरा गर्नु कानुन मन्त्रीको झन् ठूलो दायित्व थियो । तर, उनी यसमा चुप लागेर कसको स्वार्थमा काम गरेका हुन् ?
नरहरि ८
नरहरि नै न्यायमन्त्री छँदा देशभरका न्यायाधीशहरु भेला भएर संविधानसभा र संसदको सार्वभौमसत्ता, कानुन व्यवसायीहरुको व्यावसायिक हक अनि विद्यमान संवैधानिक प्रावधानलाई खुलेआम चुनौती दिए । उनीहरुले भने, ‘संविधानसभाले संवैधानिक अदालत राख्न पाउँदैन । संसदले संसदीय सुनुवाई गर्न पाउँदैन । वकिलहरुले न्यायाधीशको दाबा गर्न मिल्दैन । र, जे गर्छौँ हामी नै गर्छौँ । न्याय सम्पादन, न्यायाधीश नियुक्ति र न्यायाधीशमाथि अनुसन्धान र कारवाही सबै हामी नै गर्छौँ । यति मात्र होइ, न्यायाधीशबाट निवृत्त भइसकेपछि राजनीतिक नियुक्तिका हकदार प िहामी नै हुन्छौँ ।’ तर, न्यायाधीश आचार संहिता, न्यायाधीश पदको गरिमा र मूल्यमा आएको योभन्दा ठूलो ह्रासको दृष्टान्त अरु के हुन सक्छ ? मुलुकका न्यायमन्त्री सुनेको नसुने जस्तै गरेर बस्ने हो ?
नरहरि ९
एक दैनिक पत्रिकामा नरहरिलाई सम्बोधन गरी बलात्कारपीडित किशोरीले आफ्नो चित्कार पत्रमार्फत व्यक्त गरेको पाइयो । नरहरिले तुरुन्त पत्र लेखे । पत्रिकाले अग्रपृष्ठमै त्यसलाई छाप्यो । तर, उनले न्यायाधीशलाई कारवाहीका लागि प्रधानन्यायाधीश एवम् न्यायपरिषद अध्यक्षलाई पत्र लेखेको कुरा निसंकोच रुपमा सार्वजनिक गरे । हिजो विवादास्पद न्यायाधीशहरुलाई सर्वोच्चमा नियुक्त गर्दा आफूले अवरोध गर्न नसक्नुको कारणमा कार्यकारीबाट न्यायपालिकामा हस्तक्षेप गर्न नखोजेको अर्थमा व्याख्या गरे । आज उनी कुन सिद्धान्तमा रहेर न्यायपालिकालाई चिठी लेख्दै छन् ? भित्र न्यायपरिषद सदस्यको हैसियतले विधिसम्मत भूमिका खेल्न नसक्ने अनि सार्वजनिक खपतका लागि बाहिर जथाभावी बोल्दै र लेख्दै हिँड्नु आज नरहरिको असली स्वभावको प्रकटीकरण हो या नक्कली आदर्शको आवरणमा खराब नियतको ढाकछोप गर्ने सस्तो प्रयास हो ?
नरहरि १०
हिजो बाबुराम भट्टराई प्रधानमन्त्री छँदा जुन खालका टीकाटिप्पणी सुनिन्थे, आज ठीक त्यस्तै कुराहरु नरहरि पत्नी शारदा शर्माका सार्वजनिक भइरहेका छन् । उनको सुन्दर अनुहार, लेखकीय व्यक्तित्व, मूलधारका अखबारहरुकी नियमित स्तम्भकार र केही सञ्चारगृहसँगको उनको सुमधुर सम्बन्धका कारण हत्पत्ति उनका बारेमा आलोचनात्मक सामग्री आउँदैनन् । तर, आज वैकल्पिक धारका मिडिया र सामाजिक सञ्जालहरुमा न्यायाधीश नियुक्तिमा उनको भूमिका र केही न्यायाधीशसँगको विशेष सम्बन्धदेखि उनका अरु विवादास्पद गतिविधिको पर्दाफास एकपछि अर्को गरी भइरहेको छ । ती कुरा नरहरिले सुनेको नसुन्यै गर्नु अर्को आश्चर्य छ । यी समग्र प्रकरणको निष्कर्षमा भन्न सकिन्छ, हिजोसम्म देखिएका नरहरि गौण बन्दै छन् र र नदेखिएका नरहरिका नयाँनयाँ अवतार एकएक गरी प्रकट हुँदै छन् ।