नागरिकता नपाएपछि सरकार विरुद्ध नाराबाजी

338
  •  
  •  
  •  

विराटनगर, २६ चैत(ओएनएस) : सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकलाई तत्काल वंशजका आधारमा नागरिकता नदिन अन्तरिम आदेश जारी गरेसँगै जिल्ला प्रशासन कार्यालयहरुले सो नागरिकता दिन बन्द गरेको छ ।

नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयमा पुगेका युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् । महेन्द्रचोकमा जम्मा भएका युवाहरुले केपी ओली मुर्दाबाद, गृहमन्त्री, राजीनामा दे लगायतका नारा लगाएका हुन् ।

गृह मन्त्रालयले १९ चैतमा जन्मसिद्ध नागरिकको सन्तानलाई बंशजको नागरिकता दिन सबै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेको थियो ।

सोही अनुरुप स्थानीय प्रशासनले नागरिकता दिन शुरु गरेको थियो । तर, सर्वोच्चले आइतबार मात्र अन्तरिम आदेश दिँदै तत्कालका लागि गृहको परिपत्र कार्यान्वयन गर्न रोक लगाएको छ ।
न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले उक्त व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तिरम आदेश दिएको हो ।

उक्त निर्णय यथास्थितिमा राख्न र वैशाख ३ गते छलफलका लागि उपस्थित हुन सर्वोच्च अदालतले अन्तरकालीन आदेश दिएको छ ।
अधिवक्ता बालकृष्ण न्यौपानेले विद्यमान कानूनअनुसार जन्मसिद्धलाई वंशज नागरिकता प्रदान गर्नु कानूनसम्मत नभएको भन्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।


  •  
  •  
  •