नेकपा बैठक पुनः स्थगित

69
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकताका बाँकी कामलाई टुंगोमा पु¥याउन मंगलबारका लागि तोकिएको केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । पार्टी विभागको नेतृत्व छनौट लगायत पार्टी एकताका बाँकी काम टुंग्याउनका लागि साउन २८ गते लाई बैठक बोलाइएको थियो ।

फाइल तस्बिर

दुबै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल विदेश भ्रमण जानु परेपछि थप गृहकार्य गर्ने भन्दै १५ दिनका लागि बैठक स्थगित गरिएको थियो । सोमबार सिंगापुरमा उपचार गरि ९ दिनपछि फर्किएका अध्यक्ष ओलीले मंगलबार अनौपचारिक छलफल गर्न चाहेपछि सचिवालय बैठक बुधबार तीन बजे बस्ने सचिवालय सदस्यहरुलाई साँझ जानकारी गराइएको छ ।

गत साउन १३ गते विना निष्कर्ष टुंगिएको बैठकमा पार्टीको स्कुल विभाग उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई दिने कि प्रवक्ता नारायणकाजी श्रेष्ठलाई दिने भन्नेमा विवादित बनेको विषयमा ओली प्रवेश गर्न चाहेका थिएनन् । तर उक्त बैठकमा सचिवालयका गृहमन्त्री समेत रहेका सचिवलय सदस्य रामबहादुर थापाले विवाद गरिरहनु भन्दा पार्टीका कुनै पनि विभाग सचिवालय सदस्यले नलिनु उपयुक्त हुने भन्दै अघि सारेको धारणलाई पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरेका थिए ।

तर पार्टी नेतृत्व अर्थात दुई अध्यक्ष ओली र दाहालले नै स्कुल विभागको नेतृत्वमा पोखरेल या श्रेष्ठ मध्ये एकलाई राख्न नसक्दा अन्य एकताका काम पनि ओझेलमा परेको थियो ।

विवाद भएपछि दुई अध्यक्षले आफू मातहतनै स्कुल विभाग राख्ने मनस्थिति बनाएको र त्यो झन विवादित बन्ने निष्कर्षमा पार्टीका कतिपय प्रभावशाली नेताहरु पुगेको छन् ।

पार्टीका ३३ वटा विभागको नेतृत्व चयनको प्रयास ओली र दाहालले असारको अन्तिम साता यता गरेपनि त्यसमा असफल भएका बेला ओली उपचारका लागि सिंगापुर गएका थिए भने दाहाल सपरिवार दुवई गएका थिए ।

पूर्व एमाले र माओवादीबीच एकता भएको झण्डै १३ महिना वितिसक्दा पनि पार्टी एकता प्रक्रियाले पूर्णता पाउन सकेको छैन् ।


  •  
  •  
  •