लडाकुदेखि उपराष्ट्रपतिसम्म

135
  •  
  •  
  •  

काठमाडौं १५ कात्तिक ।
युद्ध जितेपछि बिद्रोहीहरु सत्तारोहण भएका विश्वमा धेरै उदाहरण छन् । नेपालमा भने सहमति र सम्झौताबाट विद्रोही नेता, उपराष्ट्रपतिदेखि सरकार प्रमुख, मन्त्री बन्न पुगे । मुलुकको दोस्रो ठूलो पद उपराष्ट्रपति हुने पहिलो विद्रोही नेता भने नन्दबहादुर (नन्दकिशोर) पुन बनेका छन् । दश बर्ष पूर्णतया छापामार (सैन्य) जीवन बिताएका पुन ‘पासाङ’ नामले परिचित छन् ।

बिगत केही समययता ‘भूमिगत’ जस्तै भए पनि अब भने उनी राजकीय सम्मानका साथ देखिने छन् । मधेसीपछि मगर समुदायबाट मुलुकको दास्रो पदमा पुग्ने पहिलो ब्यक्ति बनेका छन् । दसैंको मुखमा असोजको अन्तिम साता एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भइसकेपछि एमाओवादी सरकारमा जाने निश्चित भएको थियो । एमाओवादीले मन्त्रीको नाम छनौटको तयारी गर्दै थियो ।

पासाङ एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाट पुगे र दाहालसँग भने, ‘मलाई यसपटक गृह मन्त्रालय चाहिन्छ ।’ कहिलै पद नमाग्ने पासाङले मुख खोलेरै मन्त्रालय मागेपछि दाहाल अक्क न बक्क परे । उनले ‘हुन्छ’ भन्न पनि सकेनन्, ‘हुन्न’ पनि भन्न सकेनन् । पासाङलाई मन्त्री बनाउन संवैधानिक जटिलता थियो । सांसद भएको ब्यक्ति मन्त्री हुन पाउने प्रावधान भएकाले पासाङलाई मन्त्री बनाउन गाह्रो थियो । सरकारले मनोनीत गरेर मन्त्री बनाउने छलफल पनि एमाओवादीले गर्‍यो तर, त्यो प्रक्रिया झण्झटिलो देखियो ।

पासाङलाई पार्टीले उपयुक्त जिम्मेवारी नदिए उनीमा चरम असन्तुष्ट हुने सम्भावना थियो । त्यसकारण एमाओवादी स्थायी समिति बैठकले उनलाई उपराष्टपति उम्मेदवार बनाउने निर्णय गर्‍यो, त्यो निर्णय दाहालले प्रधानमन्त्री ओली र सत्तारुढ दलका नेतालाई सुनाए । त्यसबेला उपराष्ट्रपति उम्मेदवार बनाउने बिषयमा खास बिरोध भएन ।

उपराष्टपति उम्मेदवार दिन दुई दिन अघि पूर्ब लडाकू कमान्डरलाई उपराष्ट्रपति बनाउन नसकिने तर्क एमालेभित्र आयो । पासाङलाई उम्मेदवार नबनाए सहकार्य हुन नसक्ने एमाओवादीले एमालेलाई चेतावनी दियो । अन्तत: उनलाई राष्ट्रपति बनाउने समझदारी बन्यो । ‘राष्ट्र र जनताको हितमा काम गर्नु मेरो कर्तब्य हुनेछ’ उनले भने, ‘बिगतमा मैले जहाँ, जे जस्तो भूमिका खेलेको थिए, त्यो राष्ट्र र जनताको सेवाका लागि गरेको थिए ।

अहिले भूमिका फेरिए पनि मेरो भूमिका त्यही हुनेछ ।’ उपराष्ट्रपतिको सक्रिय भूमिका नहुने भए पनि सहजकर्ता बन्ने ठाउँ भने रहन्छ । वैशाखमा गएको महाभूकम्पले डेराघर चर्किए पनि त्यही छाप्रोमा बस्दै आएका उनी अब भने सरकारी निवास सर्ने छन् । सरकारी सुरक्षाकर्मीको घेरामा हुनेछन् । २०२२ साल कात्तिक ७ गते रोल्पा राङसी, ७ मा जन्मिएका उनले करिब आठ वर्षको उमेरमा पढ्न सुरु गरेका थिए । रोल्पाकै थबाङबाट एसएलसी उत्तीर्ण गरेपछि उनले करिब १० बर्ष पढाए र सँगसँगै बामपन्थी राजनीति पनि सुरु गरे ।

मगर खाम भाषाको प्रभाब बोलीमा व्यक्त गर्ने पासाङ तौलेर आफ्ना कुरा व्यक्त गर्छन् । उपराष्ट्रपति निर्वाचित भएपछि तौलेर बोल्ने बानीले राम्रै काम गर्ने छ । किनकि जति कम बोल्यो, त्यतिनै उनी र उनको पदको गरिमा विवादमा पर्ने छैन । गएको संविधानसभा निर्वाचनमा काठमाडौं ४ बाट पराजित भएपछि उनी नेपालको राजनीतिक दृश्यमा खासै देखिएनन् । जीवीकोपार्जन गर्न बंगुर र माछा पालन गरेका उनले पार्टीमा खासै जिम्मेवारी पाएका थिएनन् ।

युद्धकालमा भने पासाङ युद्धमोर्चाको अग्रपंक्तिमा रहे । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल लडाकुको सुप्रिम कमाण्डर भएको बेला स्थायी समिति सदस्यहरु बर्षमान पुन, पासाङ, जनार्दन शर्मा र चन्द्रप्रकाश खनाल डेपुटी कमाण्डर थिए । पुन र शर्माले २०६५ सालमा डेपुटी कमाण्डर छाडेका थिए । दाहालले सुप्रिम कमाण्डर छाडेपछि पासाङ लडाकु प्रमुख बनेका थिए । उनी लडाकु प्रमुख नभएको भए पुन र शर्माजस्तै उनी पनि मन्त्री भइसक्ने थिए । तर, उनलाई खासै फरक परेन, उनी मुलुकको दास्रो ठूलो बरियताको पद उपराष्टपति भए । नेपालको शान्ति प्रक्रियलाई सघाउन संयुक्त राष्ट्र संघीय राजनीतिक मिसन (अनमिन) नेपाल आए पछि उनले अर्को जिम्मेवारी संयुक्त अनुगमन संयोजन समितिमा बसेर काम गरे ।

शान्ति प्रक्रियाको पाँच वर्षको अवधिमा पार्टीले दिएको जिम्मेवारी आफूले पूरा गरेको उनको बुझाइ छ । ‘मैले पार्टीको नेता र सेना भएर काम गरेँ,’ उनले केही महिना अघि लेखकसँग भनेका थिए, ‘जनमुक्ति सेनाको निर्माण र त्यसले दिएको जिम्मेवारी पुरा गर्न मैले धेरै पसिना बगाएँ । मैले आफ्नो फाइदाका लागि काम गरेको थिएन । अहिले म जुन पदमा पुगेको छु, म त्यसको गरिमामा आँच आउन दिने छैन ।’ उपराष्ट्रपति पदमा बहाल रहँदासमम उनी सक्रिय राजनीतिमा रहने छैनन् । उनको स्वभाव लडाकू हो, अन्तरमुखी छन् । शान्तिपूर्ण राजनीतिको प्रतिस्पर्धामा ओझेलमा परे । नेपाली सेनामा लडाकू समायोजन गर्ने प्रक्रिया चहिरहँदा उनी मेजर जनरल हुने चर्चा चलेको थियो । समायोजनपछि सेना अन्तर्गत बन्ने महानिर्देशनालयको मेजर जनरले बन्ने चर्चा पनि चल्यो ।

तर उनले आफू सेनामा जाने विचार नआएको जनाउँछन् । ‘म जाँदा सेनाभित्र अप्ठ्यारो पर्ने मलाई महसुस भएको थियो,’ उनले गत बर्ष भनेका थिए । हाल पार्टी स्थायी समिति सदस्य समते रहेका पासाङ १० बर्षे सशस्त्र युद्धको बेला १७ ठूला कारबाहीका योजनाकार, कमाण्डर हुन्् । २०५२ साल फागुन एक गते रोल्पाको होलेरीबाट प्रत्यक्ष युद्धमा सहभागी उनको युद्धको अन्तिम मोर्चा थियो म्याग्दीको बेनी । उनी पराजित भएको लडाईको मोर्चा रुकुमको खारा थियो । युद्धकालमा पासाङबारे धेरै किस्सा बनेका थिए । उनले नेतृत्व गरेको लडाकू टोलीले देशका ठाउँठाउँमा आक्रमण गर्न थालेपछि पासाङ आफैमा युद्धको नाम थियो । यतिसम्म कि सुरक्षाकर्मीलाई तर्साउन स्थानीय लडाकूले समेत पासाङ नाम राख्ने लहरै चलेको थियो । सुरक्षा ब्यारेकहरुमा पासाङको नेतृत्वमा आक्रमण हुने त्रास भइरहन्थ्यो ।

पासाङले नेतृत्वमा १७ मोर्चामा लडाईं जितेको उनको ‘इतिहासका रक्तिम पाइला’ नामक पुस्तकमा उल्लेख गरेका छन् । माओवादीले २०५२ सालम युद्ध सुरु गर्नुअघि पासाङलाई तालिम लिन पठाएको थियो । उनले तालिम लिएको स्थानबारे बताउन नचाहे पनि ‘भाइचारा’ पार्टी (अन्य माओवादी) बाट आफूले छापामार तरिका सिकेका थिए । २०४८ साल रोल्पाका जनमोर्चामा कार्यरत भएको बेला उनलाई तत्कालीन सरकारले उनीमाथि थुप्रै मुद्दा लगाएको उनले जानकारी दिए । त्यसबेला आफ्नो टाउकाको मूल्य तोकेको जनाए । ‘ममाथि दर्जनौ झुट्ठा मुद्दा लगाएको थियो, त्यसबेलानै मेरो टाउकाको मूल्य ३५ हजार तोकिएको थियो’ उनको भनाइ थियो । माओवादी युद्ध सुरु हुनअघि २०५१ सालमा रोल्पाको राङ्सीमा प्रहरीले गोली लागेको थियो ।

युद्धका ठूला मोर्चामा भने उनलाई सुरक्षित रहे । उनका दुबै छोरा पूर्ब लडाकू हुन् । कान्छो छोरा दीपेश विद्यार्थी राजनीतिमा सक्रिय छन् भने अर्का छोरा जितेन्द्र लडाकूबाट अवकाश लिएका हुन्् । २०४५ सालदेखि विद्यार्थी हुँदादेखि राजनीतिमा लागेका पासाङ राजनीतिमा लाग्नुको कारण माओवादी स्थायी समिति सदस्य कृष्णबहादुर महरा हुन् । महराले लिबाङ पढाउने क्रममा प्रभावित भई राजनीतिमा लागेका थिए । एमाओवादीले उपराष्ट्रपति उम्मेदवार बनाउने तय गरेपछि स्थायी समिति सदस्य गोपाल किराँतीले दाबी गरेका थिए ।

‘पासाङ उम्मेदवार नभएको भए म छोड्ने थिएन, उहाँ योग्य ब्यक्ति हुनुहुन्छ,’ भोजपुरमा रहेका गोपाल किरातीले भने, ‘यसमा म खुसी छु ।’ पूर्वलडाकु प्रमुख उपप्रमुख निर्वाचित भइरहेको बेला सयौं लडाकूहरु खाडीका मुलुकमा पसिना बगाइरहेका छन् भने ठूलो संख्यामा राजनीतिबाट पलायन भइसकेका छन् । करिब एक हजार पाँच सय नेपाली सेनामा समायोजन भएका छन् । राजनीतिमा नलागेको भए पासाङ के हुन्थे ? ‘सायद शिक्षक भइरहन्थे’ उनले मुस्काउँदै भने ।

कान्तिपुरबाट


  •  
  •  
  •