उपराष्ट्रपतिले महिनामा एक दिन श्रमदान गर्ने

184
  •  
  •  
  •  

काठमाडौं १३ मंसिर ।
उपराष्ट्रपति नन्दबहादुर पुनले आफू महिनामा कम्तीमा एक दिन जनसेवाका लागि श्रम गर्न बाहिर निस्किने बताएका छन् । संवैधानिक रूपमा थोरै भूमिका भए पनि आफूले उपराष्ट्रपतिलाई जनताको सेवाका लागि जुट्ने पदका रूपमा स्थापित गर्ने उनले प्रतिक्रिया दिएका हुन् ।

‘महिनामा कम्तीमा एक दिन जनसेवामा जुट्ने तयारी गरेको छु । म श्रम गर्न बाहिर निस्किन्छु,’ मुलुकका दोस्रो उपराष्ट्रपति पुनले कान्तिपुरसँग भने । पदभार ग्रहण गरेयता उपराष्ट्रपतिका हैसियतमा आफूले गर्ने कामबारे विभिन्न विज्ञ र सचिवालयसँग छलफल गरी गृहकार्य भइरहेको उनले बताए ।

यसअघि ‘पासाङ’ का नाममा माओवादी लडाकुका कमान्डरको पृष्ठभूमि भएका पुनले अब आफू जनताको साझा भएकामा गर्व लागेको धारणा राखे । ‘पहिले म पार्टी कार्यकर्ता थिएँ । त्यहाँ कमान्डरदेखि नेताको भूमिकाका काम गरें,’ बहादुरभवनस्थित कार्यालयमा संक्षिप्त कुराकानीका क्रममा उनले भने, ‘अब सबै पार्टी र जनताको साझा भएको छु । पहिले म पार्टीको काममा तल्लीन थिएँ । अब जनताको काममा केन्द्रित हुन्छु ।’ त्यही क्रममा जनसेवालाई प्राथमिकता दिएको उनले बताए ।

संविधानको मर्म, भावनाभन्दा बाहिर नजाने गरी आफूले काम गर्ने दृढतासमेत उनले राखे । ‘मैले गर्ने काम संविधानको दायराभित्रै बसेर हो,’ पुनले भने । उपराष्ट्रपतिले आफू सडक तथा मन्दिर सरसफाइ, वृद्धवृद्धाको सेवा जस्ता काममा श्रममा निस्किने बताएका हुन् । त्यसमा कर्मचारी, सुरक्षा निकायलाई समेत सहभागी गराउने तयारी उपराष्ट्रपति कार्यालयको छ ।

‘मैले कर्मचारी, सुरक्षा निकायका साथीहरूलाई पनि आग्रह गर्छु,’ उनले भने, ‘यो काममा सबैको सहभागिता जुट्नेछ ।’ संविधानमा राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिले गर्ने काम उपराष्ट्रपतिबाट हुने उल्लेख छ । राष्ट्रपति पदमा बहालै हुँदा या मुलुकभित्रै रहँदा उपराष्ट्रपतिको अरू भूमिका संविधानले लेखेको छैन । त्यही कारण पुनले उक्त संस्थाको प्रतिष्ठा र मर्यादा बढाउन सिर्जनात्मक काम गर्ने योजना बनाएका हुन् ।

पहिलो उपराष्ट्रपति परमानन्द झाले आफ्नो ७ वर्षे कार्यकालमा विभिन्न कार्यक्रम उद्घाटन, विदेशी मुलुकका राष्ट्रिय दिवसमा राजदूतावासमा आयोजना हुने विशेष कार्यक्रममा प्रमुख आतिथ्य ग्रहण गर्ने गरेका थिए । त्यसबाहेक कार्यवाहक राष्ट्रपतिका रूपमा अन्य ठूला निर्णय गर्ने मौका मिलेको थिएन । कतिपय राजनीतिक भाषण गरी झा विवादमा तानिएका थिए ।

पुनले आफूले संविधानको सीमा ख्याल गरी उपराष्ट्रपति पदको मर्यादा र प्रतिष्ठा जोगाउन सधैं सचेत हुने प्रतिबद्धता समेत जनाए । उनले चाँडै नै उपराष्ट्रपति कार्यालयबाट सञ्चालन हुने गरी सहयोग कोष स्थापना गर्ने दोस्रो योजना समेत सुनाए । ‘कोषमा मैले पाउने तलबबाट केही रकम तथा सचिवालयका साथीहरूबाट समेत रकम उठाई जम्मा गर्नेछौं,’ उनले भने । त्यसरी जम्मा हुने रकमबाट गरिब, असहाय एवं अप्ठ्यारोमा परेका व्यक्तिलाई सहयोग गर्ने उनले बताए ।
कान्तिपुरबाट


  •  
  •  
  •