नन्दप्रसादको दाहसंस्कारमा बेवास्ता

206
  •  
  •  
  •  

काठमाडौं ३० कात्तिक ।

छोरा कृष्णप्रसादको हत्यारालाई कानुनी कारबाहीको माग गर्दै अनशन बसिरहेका बेला ज्यान गुमाएका गोर्खा फुजेलका नन्दप्रसाद अधिकारीको शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा दुई महिनादेखि अलपत्र परेको छ।

सरकारले यसअघि नन्दप्रसादको दाहसंस्कार गर्ने, उनको र पत्नी गंगामायाको सम्पूर्ण उपचारखर्च बेहोर्ने, गंगामायालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउने, कृष्णप्रसादका हत्यारालाई तत्काल कारबाही गर्नेलगायत प्रतिबद्धता जनाउँदै पत्नी गंगामायाको अनशन तोडाएको थियो।
कानुनमन्त्री नरहरि आचार्यले गत कात्तिक १ गते प्रधानमन्त्रीको विशेष निर्देशन भन्दै अस्पतालमा गएर गंगामायाको अनशन तोडाएका थिए। तर वीर अस्पतालमा अनशन बसेको तीन सय ३२ औं दिन गत असोज ६ गते ज्यान गुमाएका नन्दप्रसादको शवको अहिलेसम्म पोस्टमार्टम गरिएको छैन। अस्पतालले सरकारको आदेश नआएकाले नन्दप्रसादको शवको पोस्टमार्टम नगरेको जनाएको छ।
‘उहाँलाई राष्ट्रिय स्तरको व्यक्ति भनिएको छ’, अस्पतालका पोस्टमार्टम विभागमा सुरक्षार्थ खटिएका प्रहरी नायब निरीक्षक कालीप्रसाद लामिछानेले भने, ‘सरकारको आदेश नआएसम्म उहाँको शव हामीले केही गर्न मिल्दैन।’ उनले नन्दप्रसादको परिवारबाट पनि शव बुझ्न कोही नआएको बताए।
कानुनमन्त्री आचार्यले नन्दप्रसादको परिवारको सहयोग नपाएकाले उनको पोस्टमार्टम र दाहसंस्कारमा ढिलाइ भएको बताए। ‘हामीले नन्दप्रसादको शव पोस्टमार्टम र दाहसंस्कारका लागि उनको परिवारको प्रतीक्षा गरिरहेका छौं’, आचार्यले शनिबार अन्नपूर्णसँग भने, ‘सरकारका तर्फबाट ढिला भएको होइन।’
अनशन बसेको तीन सय ३२ औं दिन गत असोज ६ गते ज्यान गुमाएका नन्दप्रसादको शवको अहिलेसम्म पोस्टमार्टम गरिएको छैन। 

त्यसो भए पोस्टमार्टम र दाहसंस्कारका लागि सरकारले कहिलेसम्म नन्दप्रसादको परिवारलाई कुर्छ त? भन्ने प्रश्नमा उनले भने, उनीहरू आएनन् भने हामी छिट्टै त्यो काम सम्मानपूर्वक सम्पन्न गर्नेछौं।’

मन्त्री आचार्यले कृष्णप्रसादको हत्यामा आरोप लागेका नेपालभित्र रहेका व्यक्तिलाई सरकारले अदालतमा उभ्याइसकेको र बेलायतमा रहेका भनिएका आरोपितलाई पक्राउ गर्न त्यहाँको सरकारलाई साता दिनअघि पत्र पठाएको जानकारी दिए।
गंगामाया पूर्ण स्वस्थ
यसैबीच गंगामाया पूर्ण रूपले स्वस्थ भएकाले उनको बसोबास र हेरविचारको जिम्मा सरकारले लिए कुनै पनि बेला उनको डिस्चार्ज गर्न तयार रहेको वीर अस्पतालले जनाएको छ। अस्पतालको सघन उपाचर कक्षमा राखिएकी गंगामाया स्वस्थ बन्दै गएकाले उपचार र हेरचाह आवश्यक नभएको अस्पतालका निर्देशक डा. स्वयंप्रकाश पण्डितले बताए।
गंगामायालाई कब्जियत र पेट दुख्ने पुरानो समस्याबाहेक कुनै पनि नयाँ समस्या नदेखिएको पण्डितको भनाइ छ।
‘गंगामायालाई कहिलेकहीं कब्जियत देखा पर्छ हैन भने अनशन तोडरे खान थालेपछि उहाँ पूर्ण स्वस्थ हुनुभएको छ’, पण्डितले भने, सरकारले उनको बसोबास र हेरविचारको जिम्मा लिए हामी डिस्चार्ज गर्न तयार छौं।’
पण्डितका अनुसार गंगामायाले भात नखाए पनि भेजिटेरियन सुप, अन्य झोल पदार्थ र हर्लिक्स खाने गरेकी छन्। गंगामाया केही समय हिँडडुल गर्न र घाममा बस्न थालेको हेरचाहमा खटिएकी एक महिला प्रहरीले बताइन्।
गंगामायाले भने आफ्नो न्यायको लडाइँमा प्राणरक्षाका लागि झोल पदार्थ खाए पनि अनशन नतोडेको दाबी गरिन्। ‘मेरो अनशन सकिएको छैन’, उनले भनिन्, ‘लड्नका लागि बाँच्नुपर्छ भन्ने लाग्यो त्यही भएर यसो गरेकी हुँ।’ उनले सरकारले छोराको हत्यारालाई कारबाही गर्छ भन्ने विश्वास नलागेको बताइन्। ‘माग राख्दाराख्दै उहाँ (नन्दप्रसाद) जानुभयो’, उनले भनिन्, ‘अब म एक्लै छु, तैपनि लडिरहनेछु।’  अन्नपूर्णपोष्टबाट 

 


  •  
  •  
  •