नन्दप्रसादको शव सात महिनादेखि अस्पतालमै

138
  •  
  •  
  •  

काठमाडौं २६ चैत । उनी १० वर्ष न्यायका लागि कुदे । झन्डै एक वर्ष आमरण अनशनमा बसे । तर, न्याय पाएनन्, उल्टै प्राण गयो । पत्नी गंगामायासहित आमरण अनशनमा बसेका गोरखा फुजेलका नन्दप्रसाद अधिकारी बितेको पनि ७ महिना नाघिसक्यो ।

तर, उनको सदगत हुन सकिरहेको छैन । गएको असोज ६ गते बितेका उनको पार्थिव शरीरलाई सरकारले शिक्षण अस्पताल महाराजगन्जको शवगृहमा त्यसै दिनदेखि राखेको थियो । अहिले पनि त्यो त्यहीँ नै छ ।

सरकारले सदगतका लागि पटकपटक आग्रह गरे पनि परिवारजनले नमानेकाले यो अवस्था आएको हो । पतिको निधनपछि वीर अस्पतालको विशिष्ट कक्षमा सारिएकी गंगामाया नन्दप्रसादको शव जलाउने पक्षमा छैनन् । भन्छिन्, ‘न्यायको मुख देख्न नपाई उहाँको ज्यान गयो, अब त्यसलाई जलाएर के अर्थ ?’

पतिलाई राज्यले श्रद्धाञ्जलि दिने एउटै उपाय भनेको उनको माग पूरा गरेर देखाइदिनु नै भएको उनको निष्कर्ष छ । ‘उहाँको प्राण जे नपाएका कारण गएको थियो, त्यो सरकारले दिन्छ भने सदगद गर्ने हो,’ उनी भन्छिन्, ‘होइन भने नजानु ज्यान गइसकेपछि त्यसलाई जहाँ राखे पनि भयो ।’

पतिको शरीर गलेर हाडखोर मात्रै बाँकी रहे पनि दोषीमाथि कारबाही नभएसम्म त्यसलाई नउठाउने उनी बताउँछिन् ।

न्याय नपाएसम्म आफू पनि वीर अस्पतालबाट जिउँदै ननिक्लने अठोटका साथ दिनहरू काटिरहेकी छन् । विशिष्ट कक्षमा दुर्बल, एक्ली र दुःखी उनलाई बडा आग्रह गरेर सरकारले केही महिनाअघि अनशन तोडाएको थियो ।

अचेल उनी दिनहुँ ‘अलिकति दूध र केही पीठोको झोल’ खाने गर्छिन् । उनको स्वास्थ्य भने उति राम्रो छैन ।

‘छाती दुख्छ,’ भन्छिन्, ‘खुट्टा टेक्न हुँदैन, जिउ दुख्छ र पोल्छ पनि ।’ अपहरणमा परी ०६१ जेठ २४ मा हत्या गरिएका आफ्ना १७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाही हुनुपर्ने माग गर्दै १० वर्षदेखि संघर्षरत गंगामाया माग पूरा नभएसम्म पतिको शव जलाउन नदिने पक्षमा छिन् ।

गंगामायाले सहमति जनाए उनका लागि जीवनपर्यन्त बसोबास र खानपानको सुविधा उपलब्ध गराउने निर्णय मन्त्रिपरिषदले कात्तिक १० गते नै गरिसकेको छ । जसअनुसार उनको नाममा १ करोड रुपैयाँ बैंकमा राखिदिने र त्यसको ब्याजले गंगामाया र उनको सहयोगीका लागि आवश्यक खर्च प्रबन्ध गरिदिने सरकारको योजना लागू हुन मात्र गंगामायाको स्वीकृतिको खाँचो छ ।

तर, उनी भने यो कुरै सुन्न चाहन्नन् । उनका जेठा छोरा नुरप्रसाद पनि सरकारको यो प्रस्तावसँग पूरै असहमत छन् । ‘हामीलाई चाहिएको न्याय हो,’ नुरप्रसाद भन्छन्, ‘त्यो नपाएसम्म बुबाको शव उठाउन्नँ ।’नन्दप्रसादको देहान्त भएपछि एक्लै परेकी आमालाई नुरप्रसाद भेट्न पनि गएका छैनन् । न उनी बाबुको मुख हेर्न नै पुगे । एक्लै कताकता भौंतारिएर दिन बिताइरहेका उनी सरकारले दोषीमाथि कारबाही नगरेकामा निकै क्रुद्ध र निराश छन् ।

कान्तिपुर दैनिकबाट


  •  
  •  
  •